images

२०८३ आश्विन २ गते

images
images
images
  • विश्व
  • चिसो क्षेत्रमा पनि टाइटानोसरको प्रजनन, भेटिए...

चिसो क्षेत्रमा पनि टाइटानोसरको प्रजनन, भेटिए २५५ जीवाश्म अण्डाका टुक्रा

चिसो क्षेत्रमा पनि टाइटानोसरको प्रजनन, भेटिए २५५ जीवाश्म अण्डाका टुक्रा

images
images
बुधवार, भाद्र २४ २०८३
बुधवार, भाद्र २४ २०८३
  • ब्युनर्स आयर्स । अहिलेसम्म पृथ्वीमा बाँचेका सबैभन्दा विशाल डायनासोरमध्ये एक हो टाइटानोसर । यसले पृथ्वीको दक्षिणी ध्रुवतर्फका चिसा क्षेत्रमा समेत अण्डा पारेर प्रजनन गर्ने गरेको नयाँ वैज्ञानिक अध्ययनले देखाएको छ ।वैज्ञानिकहरूले दक्षिणी अर्जेन्टिनाको चोरिल्लो फर्मेसन क्षेत्रमा टाइटानोसरका २५५ वटा जीवाश्मकृत अण्डाका बोक्राका टुक्रा फेला पारेका हुन् । यो खोजले यी विशाल डायनासोरहरू न्यानो र भूमध्यरेखानजिकका क्षेत्रमा मात्र प्रजनन गर्थे भन्ने पुरानो धारणामाथि प्रश्न उठाएको छ ।टाइटानोसर लामो घाँटी भएका, वनस्पति खाने र तुलनात्मक रूपमा सानो मस्तिष्क भएका विशाल साउरोपोड डायनासोरको समूह हो । वैज्ञानिकहरूका अनुसार यिनीहरू सम्भवतः ठुलो समूहमा हिँड्थे र लामो दूरीसम्म बसाइँसराइसमेत गर्थे । एउटै क्षेत्रमा हजारौँ वर्षसम्म पटक–पटक आएर गुँड बनाउने गरेको हुन सक्ने अनुमान पनि गरिएको छ । यसअघि टाइटानोसरका हड्डीहरू दक्षिणी अर्जेन्टिना र अन्टार्कटिकादेखि उत्तरी गोलार्धको मंगोलिया र टेक्साससम्म भेटिइसकेका थिए ।

    images
    images

    तर, उनीहरू यति उच्च अक्षांशमा पुगेर वास्तवमै अण्डा पार्थे कि पर्दैनन् भन्ने विषयमा भने स्पष्ट प्रमाण थिएन । क्यानडाको युनिभर्सिटी अफ क्यालगरीकी जीवाश्मविद् डार्ला जेलेनित्स्कीका अनुसार नयाँ खोजले टाइटानोसरले उच्च अक्षांशमा पनि प्रजनन गर्ने गरेको प्रमाण दिएको छ । डायनासोरका अण्डा विकसित हुन पर्याप्त ताप आवश्यक हुन्छ । भूमध्यरेखाबाट टाढा जाँदा तापक्रम कम हुने र सूर्यको प्रकाश पनि तुलनात्मक रूपमा कम उपलब्ध हुने भएकाले त्यस्ता क्षेत्रमा अण्डा हुर्काउनु चुनौतीपूर्ण हुन्थ्यो ।तर, टाइटानोसरले यसको समाधानका लागि रोचक रणनीति अपनाएको वैज्ञानिकहरूको अनुमान छ । अध्ययनअनुसार यी विशाल डायनासोरले सम्भवतः माटो, बालुवा र वनस्पतिबाट बनेका थुप्रा आकारका गुँडमा अण्डा पार्थे । त्यहाँ कुहिँदै गरेको वनस्पतिबाट उत्पन्न हुने तापले अण्डालाई आवश्यक न्यानोपन प्रदान गर्ने सम्भावना रहेको वैज्ञानिकहरूको भनाइ छ ।

    यसलाई आधुनिक समयमा केही जीवहरूले अपनाउने प्राकृतिक इन्क्युबेसन प्रक्रियासँग तुलना गर्न सकिन्छ । कुहिँदै गरेको वनस्पतिबाट उत्पन्न तापले बाहिरी वातावरण चिसो भए पनि गुँडभित्र अण्डाका लागि तुलनात्मक रूपमा उपयुक्त तापक्रम कायम गर्न सहयोग पुर्‍याउन सक्थ्यो । वैज्ञानिकहरूका अनुसार टाइटानोसरले आफ्ना अण्डालाई अन्य केही साना डायनासोर वा आजका चराले जस्तै शरीरले छोपेर तताउने सम्भावना निकै कम छ ।विशाल शरीरका भएका टाइटानोसरहरू अण्डामाथि बसेको भए गुँड नै क्षतिग्रस्त हुन सक्थ्यो, अन्डा फुट्न सक्थ्यो । अध्ययनकी वरिष्ठ अनुसन्धानकर्ता जेलेनित्स्कीले टाइटानोसरले अण्डा ओथार्न बसेको अवस्थामा गुँड नै ठुलो ‘अण्डाको परिकार’ जस्तै बन्न सक्ने हास्यात्मक उदाहरण दिएकी छन् । त्यसैले यी डायनासोरले अण्डा पारिसकेपछि गुँड छाड्ने गरेको हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ । आधुनिक धेरै सरीसृपजस्तै उनीहरूले पनि आफ्ना सन्तानलाई प्रत्यक्ष हेरचाह नगर्ने सम्भावना रहेको अध्ययनले संकेत गर्छ ।

    images
    images

    भेटिएका अण्डाका बोक्रा निकै छिद्रयुक्त रहेको वैज्ञानिकहरूले बताएका छन् । यस्तो संरचनाले अण्डाबाट पानी सजिलै बाहिर निस्कन सक्ने भएकाले अण्डा खुला वातावरणमा छोडिएको भए सुक्ने र भ्रूणको विकास रोकिने जोखिम हुन्थ्यो । त्यसैले अण्डालाई माटो, बालुवा वा वनस्पतिले ढाकेर राख्नु जरुरी हुन सक्थ्यो । यसरी गुँडभित्र पर्याप्त चिस्यान कायम रहन्थ्यो र अण्डा सुक्नबाट जोगिन्थ्यो । यस खोजले टाइटानोसरले आफ्नो विशाल शरीर र उच्च अक्षांशको चिसो वातावरणबीच कसरी अनुकूलन गरेको थियो भन्नेबारे नयाँ जानकारी दिएको छ । टाइटानोसर ६ करोड ८० लाख वर्ष पहिले पाइन्थे । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend