काठमाडौं । भोटेकोशी बाढीका कारण विस्थापित महिला तथा बालबालिकालाई नेपाल महिला संघले राहत वितरणमा प्राथमिकता दिएको छ। संघले अस्थायी आश्रयस्थलमै पुगेर प्रभावित परिवारलाई अत्यावश्यक सामग्री वितरण गर्ने अभियान सञ्चालन गरेको हो।
महिला संघले नुवाकोट, धादिङ र काठमाडौंका विभिन्न आश्रयस्थलमा पुगेर बाढी तथा पहिरो प्रभावित महिला तथा बालबालिकाका लागि आधारभूत आवश्यकताका सामग्री वितरण गरेको जनाएको छ।
प्राकृतिक विपत्तिमा परेका महिला तथा बालबालिकाको स्वास्थ्य, सुरक्षा र आत्मसम्मानको संरक्षणलाई प्राथमिकतामा राखिएको नेपाल महिला संघकी अध्यक्ष मीनाकुमारी खरेलले बताईन।
बाढीका कारण रसुवाबाट विस्थापित भई काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ गुम्बा र गोशोक गुम्बामा अस्थायी आश्रय लिएर बसेका करिब २०० महिला तथा बालबालिकालाई संघले राहत सामग्री उपलब्ध गराएको छ।
अध्यक्ष खरेल र राहत संकलन तथा वितरण संयोजक सोना परियारको नेतृत्वमा भएको राहत वितरण कार्यक्रममा रसुवाका प्रतिनिधिसभा सदस्य मोहन आचार्य, नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू प्रतिमा गौतम र कुसुम थापा तथा पूर्वसांसद सपना राजभण्डारी लगायतको सहभागिता रहेको थियो।
संघले प्रभावित परिवारलाई चिसोबाट जोगिन भित्री न्यानो कपडा, बाहिरी पोशाक तथा अन्य लत्ताकपडाका साथै व्यक्तिगत स्वास्थ्य र सरसफाइका सामग्री वितरण गरेको छ। त्यसैगरी, महिलाका लागि महिनावारी स्वच्छता सामग्री (स्यानिटरी प्याड), मञ्जन, ब्रस तथा शौचालय सरसफाइका सामग्रीसमेत उपलब्ध गराइएको नेपाल महिला संघकी केन्द्रीय सदस्य शोभादेवी भण्डारीले जानकारी दिईन।
महिला संघको केन्द्रीय टोली यसअघि बाढी तथा पहिरोबाट बढी प्रभावित नुवाकोट र धादिङका विभिन्न बस्तीमा समेत पुगेको थियो। अध्यक्ष मीनाकुमारी खरेलसहित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले प्रभावित क्षेत्रमै पुगेर पीडित परिवारलाई राहत सामग्री वितरण गरेको भण्डारीले बताईन।
विपद्को कठिन परिस्थितिमा स्थानीय प्रशासन तथा अन्य संयन्त्रको पहुँच पुग्न ढिलाइ भइरहेका स्थानमा महिला संघले गरेको सहयोगले पीडित परिवारलाई तत्काल राहत पुगेको प्रभावित महिलाहरूले बताएका छन्।
महिला अधिकार र सशक्तीकरणसँगै मानवीय सेवामा अग्रपंक्तिमा रहने प्रतिबद्धता व्यक्त गर्दै नेपाल महिला संघले आगामी दिनमा पनि विपद्पीडित नागरिकको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग गर्ने जनाएको छ।




.gif)





