काठमाडौं । क्यान्सर नाम सुन्नेबित्तिकै हाम्रो सात्तो जान्छ । क्यान्सर भइसकेपछि यसको उपचारमा पैसा, घरघडेरी त सकिन्छ नै, कतिपय अवस्थामा बिरामीको ज्यानै जाने पनि हुन्छ । समयमै यसको लक्षणमा विचार पुर्याइयो भने यसको असरलाई कम गर्न सकिन्छ । क्यान्सरको जोखिम र खानपानबीच महत्वपूर्ण सम्बन्ध हुने विभिन्न अध्ययनले देखाएका छन् ।विशेषगरी प्रशोधित मासुको अत्यधिक सेवनले केही प्रकारका क्यान्सरको जोखिम बढाउन सक्ने भन्दै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पनि सचेत गराउँदै आएको छ । संगठनका अनुसार प्रशोधित मासुमा हालिने चिजकै कारण यो क्यान्सरको कारण बन्छ । आफ्नो भोजनमा यस्ता मासुलाई धेरै सामेल गर्नु भनेको क्यान्सरलाई निम्तो दिनु हो । त्यसैले तपाईं पनि मासु धेरै खानुहुन्छ भने यो लेख तपाईंका लागि हो ।
किन खानुहुँदैन प्रशोधित मासु ?
यस्ता मासुको सेवनले क्यान्सरको खतरा बढ्न सक्छ । खास गरेर प्रशोधित मासुको सेवनले कोलोरेक्टल अर्थात् ठूलो आन्द्रा तथा मलाशयको क्यान्सर हुने सम्भावना बढ्छ । स्वाद बढाउन र लामो समयसम्म भण्डार गरेर राख्नका लागि यस्ता मासुमा नुन हाल्ने, धुवाँमा सुकाउने, फर्मेन्ट गर्ने वालामो समयसम्म सुरक्षित राख्न अन्य प्रक्रिया अपनाउने गरिन्छ ।ससेज, हट डग, ह्याम, जर्की तथा यस्तै प्रकारका मासु यसअन्तर्गत पर्छन् । उपलब्ध तथ्यांकअनुसार दैनिक ५० ग्राम प्रशोधित मासु सेवन गर्दा कोलोरेक्टल क्यान्सरको जोखिम करिब १८ प्रतिशतले बढ्न सक्ने अनुमान गरिएको छ । तर यसको अर्थ दैनिक ५० ग्राम प्रशोधित मासु खाने प्रत्येक व्यक्तिलाई क्यान्सर हुन्छ भन्ने चाहिँ होइन । जोखिम व्यक्तिको खानपान, जीवनशैली तथा अन्य विभिन्न कारणमा निर्भर हुन्छ । सामान्यतः प्रशोधित मासुको सेवनको मात्रा बढ्दै जाँदा जोखिम पनि बढ्न सक्छ ।
त्यसो भए पूरै बन्द गर्नुपर्छ त मासु खान ?
डब्ल्यूएचओले पूर्ण रूपमा मासु त्याग्नैपर्छ भनेर भनेको छैन । मुख्य चिन्ता प्रशोधित मासुको मात्रा र नियमित सेवनसँग सम्बन्धित हो । यसको सेवन कम गर्दा क्यान्सरको जोखिम घटाउन सहयोग पुग्न सक्छ । त्यसैले मासु खाने व्यक्तिले प्रशोधित मासुको मात्रा घटाउने, सन्तुलित आहार खाने र फलफूल, तरकारी तथा अन्य पोषणयुक्त खाद्य पदार्थलाई आफ्नो खानपानमा समावेश गर्नु उपयुक्त हुन्छ ।
मासु पकाउने तरिकाले पनि पार्छ फरक
मासुको प्रकारसँगै त्यसलाई पकाउने तरिकाले पनि स्वास्थ्यमा असर पार्न सक्छ । अत्यधिक तापक्रममा मासु पकाउँदा वा सिधै आगोमा पोलेर पकाउँदा केही हानिकारक रासायनिक पदार्थ बन्न सक्छन् ।विशेषगरी धेरै तापक्रममा मासु पकाउँदा पोलिसाइक्लिक एरोमेटिक हाइड्रोकार्बन (पीएएचएस) र हेटेरोसाइक्लिक एमाइन (एचसीए)जस्ता यौगिक बन्न सक्छन् ।यस्ता पदार्थको उच्च वा लामो समयसम्मको सम्पर्कले स्वास्थ्य जोखिम बढाउन सक्ने भएकाले मासु पकाउँदा अत्यधिक तापक्रम र डढ्ने अवस्थाबाट जोगिन सुझाव दिइन्छ । मासुलाई कम तापक्रममा राम्रोसँग पकाउने, कम तेल प्रयोग गर्ने तथा अत्यधिक पोलेको वा डढेको भाग नखानेजस्ता सावधानी अपनाउन सकिन्छ ।




.gif)





