भैरहवा, २६ भदौ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको विशेष टोलीले भैरहवास्थित कालिङ्गा क्यासिनोमा छापा मारेर नेपाली नागरिकसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।
विमानस्थल नजिक रहेको उक्त क्यासिनोमा नेपाली नागरिक प्रवेश गरी जुवा खेलिरहेको सूचनाका आधारमा लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्रबहादुर खत्रीको विशेष टोलीले बिहीबार चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा जुवा खेलिरहेको अवस्थामा पाँचजना नेपाली नागरिक र क्यासिनोका पिट म्यानेजरलाई नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका–७ का ४८ वर्षीय नारायण घर्ती, कास्कीको पोखरा महानगरपालिका–१५ का ४७ वर्षीय रोशन केसी, पोखरा महानगरपालिका–१७ बिरौटाका ३९ वर्षीय सुदीप आचार्य, रुपन्देहीको बुटवल उपमहानगरपालिका–६ का ४६ वर्षीय रामु श्रेष्ठ र बुटवल उपमहानगरपालिका–३ का ३६ वर्षीय चन्द्रप्रसाद श्रेष्ठ रहेका छन् ।
त्यस्तै, क्यासिनोका भारतका २५ वर्षीय पिट म्यानेजर पारस भाटियालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएका सबैलाई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय भैरहवा पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।
यसअघि गत वैशाखमा पनि लुम्बिनी प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले यही क्यासिनोमा छापा मारेको थियो । त्यस क्रममा जुवा खेलिरहेको आरोपमा १५ जना नेपाली नागरिक तथा जुवा खेलाउन संलग्न रहेको आरोपमा क्यासिनोका चार कर्मचारीसहित १९ जनालाई पक्राउ गरिएको थियो ।
क्यासिनोमा नेपाली नागरिक प्रवेश गरी जुवा खेल्ने गरेको विषयमा रुपन्देही प्रहरीले प्रभावकारी कारबाही गर्न नसकेको भन्दै प्रदेश प्रहरीको विशेष टोलीले पटक–पटक अनुगमन तथा कारबाही गर्दै आएको छ ।




.gif)





