images

२०८३ आश्विन १ गते

images
images
images

लुकान कप २०२६ को पुरुष र महिला दुवैतर्फ एनसीएमटी कलेज विजेता

लुकान कप २०२६ को पुरुष र महिला दुवैतर्फ एनसीएमटी कलेज विजेता

images
images
शुक्रवार, भाद्र २६ २०८३
शुक्रवार, भाद्र २६ २०८३
  • काठमाडौँ, २६ भदौ । लिंकन युनिभर्सिटी कलेज एसोसिएट्स अफ नेपाल (लुकान) को आयोजनामा तथा एनसीएमटी कलेजको होस्टिङमा सम्पन्न लुकान कप २०२६ फुटसल प्रतियोगिताको पुरुष र महिला दुवैतर्फ एनसीएमटी कलेज विजेता बनेको छ।

    images
    images

    दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिता सेप्टेम्बर १० र ११ गते एनसीएमटी कलेजको फुटसल मैदानमा सम्पन्न भएको हो। प्रतियोगितामा पुरुषतर्फ ८ टोली र महिलातर्फ ३ टोलीको सहभागिता रहेको थियो।

    पुरुषतर्फ सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरी समूह चरणका खेल सञ्चालन गरिएको थियो। सेप्टेम्बर १० गते पुरुषतर्फका सम्पूर्ण समूह चरणका खेल सम्पन्न भएका थिए। समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्ने चार टोली सेमिफाइनलमा प्रवेश गरेका थिए।

    images
    images

    सेप्टेम्बर ११ गते महिलातर्फ सहभागी तीन टोलीबीच लिग प्रणालीमा प्रतिस्पर्धा गराउने तयारी गरिएको थियो। प्रत्येक टोलीले अन्य टोलीसँग प्रतिस्पर्धा गर्ने र प्राप्त अंकका आधारमा विजेता निर्धारण गर्ने व्यवस्था थियो। यद्यपि अन्य कलेजका टोलीहरू प्रतियोगितामा सहभागी हुन नआएपछि एनसीएमटी कलेजलाई महिलातर्फको विजेता घोषणा गरिएको थियो। महिलातर्फ उपविजेता घोषणा गरिएको छैन।

    पुरुषतर्फको पहिलो सेमिफाइनलमा एनसीएमटी कलेज (ए) र केएफए कलेज ९ए० बीच प्रतिस्पर्धा भएको थियो। निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमार्फत विजेताको टुङ्गो लगाइएको थियो। पेनाल्टी सुटआउटमा एनसीएमटी कलेज ९ए० विजयी हुँदै फाइनलमा प्रवेश गरेको हो।

    दोस्रो सेमिफाइनलमा केएफए कलेज (बी) ले फिनिक्स कलेज (ए) लाई ३–१ गोलले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्‍यो।

    त्यस्तै, तेस्रो स्थानका लागि भएको खेलमा केएफए कलेज (ए) ले फिनिक्स कलेज (ए) लाई ३–० गोलले पराजित गर्दै तेस्रो स्थान हासिल गर्‍यो।

    प्रतियोगिताको पुरुषतर्फको फाइनलमा एनसीएमटी कलेज (ए) र केएफए कलेज (बी) बीच प्रतिस्पर्धा भएको थियो। रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेलमा एनसीएमटी कलेज (ए) ले केएफए कलेज (बी) लाई ३–१ गोलले पराजित गर्दै लुकान कप २०२६ को पुरुषतर्फको उपाधि जित्यो । केएफए कलेज (बी) उपविजेता बन्यो।

    पुरुषतर्फ कुल रु. ६० हजार पुरस्कार राशि रहेको थियो। विजेता एनसीएमटी कलेज (ए) ले ट्रफी, मेडल र प्रमाणपत्रसहित रु. ३० हजार, उपविजेता केएफए कलेज (बी) ले रु. २० हजार तथा तेस्रो स्थान हासिल गरेको केएफए कलेज (ए) ले रु. १० हजार पुरस्कार प्राप्त गरे।

    महिलातर्फ कुल रु. ३० हजार पुरस्कार राशि रहेको थियो। विजेता एनसीएमटी कलेजले ट्रफी, मेडल र प्रमाणपत्रसहित रु. २० हजार पुरस्कार प्राप्त गर्‍यो। प्रतियोगितामा दोस्रो पुरस्कारका लागि रु. १० हजार रकम निर्धारण गरिएको भए पनि अन्य टोली सहभागी नभएकाले उपविजेता घोषणा गरिएको थिएन।

    व्यक्तिगत विधातर्फ सर्वाधिक गोलकर्ता को अवार्ड केएफए कलेज (ए) का सौरभ चौलागाईंले प्राप्त गरे। त्यस्तै, उत्कृष्ट गोलकिपरको अवार्ड एनसीएमटी कलेज (ए) का कृष्ण सापकोटा तथा उत्कृष्ट खेलाडीको अवार्ड एनसीएमटी कलेज (ए) का आयुष पाण्डेले हात पारे।

    लुकान को आयोजनामा तथा एनसीएमटी कलेजको होस्टिङमा सम्पन्न प्रतियोगिताले विभिन्न कलेजका विद्यार्थीलाई खेलकुदमार्फत एकै ठाउँमा जोड्दै टिमवर्क, अनुशासन, प्रतिस्पर्धात्मक भावना तथा खेल भावना विकासमा योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

    आफ्नै मैदानमा पुरुषतर्फको उपाधि जित्दै एनसीएमटी कलेज(ए) ले लुकान कप २०२६ लाई थप यादगार बनाएको छ।

    प्रतियोगिताको सफल आयोजनाका लागि सहभागी टोली, खेलाडी, रेफ्री, स्वयंसेवक, एनसीएमटी कलेज व्यवस्थापन तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने व्यक्ति तथा संस्थाप्रति आयोजक लुकान ले धन्यवाद व्यक्त गरेको छ। प्रतियोगिताको सुरक्षा तथा शान्तिपूर्ण वातावरण कायम गर्न सहयोग गरेकोमा नेपाल प्रहरीप्रति पनि आयोजकले विशेष आभार व्यक्त गरेको छ।

    त्यस्तै, स्वास्थ्य तथा आपत्कालीन सेवाका लागि सहयोग गर्ने एमएन अस्पताल, मेडिकल टिम, एम्बुलेन्स सेवा तथा उपस्थित चिकित्सकहरू प्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ। प्रतियोगिताको होस्टिङ तथा व्यवस्थापनमा सहयोग गरेकोमा एनसीएमटी कलेजले पनि लुकान लाई धन्यवाद दिँदै आगामी दिनमा समेत यस्ता प्रतियोगिता आयोजना गर्ने अवसर र सहकार्य निरन्तर रहने अपेक्षा व्यक्त गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend