images

२०८३ आश्विन १ गते

images
images
images
  • शिक्षा
  • मधेसको कार्यक्रमबाट बाहिरिएको विषयमा शिक्षामन्त्री पोखरेलको...

मधेसको कार्यक्रमबाट बाहिरिएको विषयमा शिक्षामन्त्री पोखरेलको स्पष्टीकरण

मधेसको कार्यक्रमबाट बाहिरिएको विषयमा शिक्षामन्त्री पोखरेलको स्पष्टीकरण

images
images
शनिवार, भाद्र २७ २०८३
शनिवार, भाद्र २७ २०८३
  • काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेस प्रदेशमा आयोजित अन्तरक्रिया कार्यक्रमबाट आफूहरू बाहिरिनुको कारणबारे स्पष्टीकरण दिएका छन्। मन्त्री पोखरेलका अनुसार अन्तरक्रियाका क्रममा दुई जना व्यक्ति आएर हल्ला गरेपछि विद्यार्थी, शिक्षक र अभिभावकसहितका सहभागीको सहभागिता प्रभावित हुने अवस्था बनेकाले आफूहरू कार्यक्रमस्थलबाट बाहिरिएका हुन्।

    images
    images

    सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले नेपालको विद्यालय शिक्षालाई थप व्यवहारिक, सीपमूलक र समयसापेक्ष बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि मधेस प्रदेशका विभिन्न जिल्लामा पुगेर विद्यार्थी, शिक्षक र अभिभावकका सुझाव संकलन गरिरहेको बताएका छन्।

    उनका अनुसार सिरहा र सप्तरीमा आयोजित अन्तरक्रियामा १०० भन्दा बढी सरोकारवालाको सहभागिता थियो। आगामी शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याउने तयारी गरिएको ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ लगायतका अवधारणाबारे पनि सहभागीहरूसँग प्रत्यक्ष संवाद गरिएको उनले उल्लेख गरेका छन्।

    images
    images

    तर, अन्तरक्रियाका क्रममा दुई जना व्यक्तिले आएर हल्ला गरेपछि अन्य सहभागीको सहभागिता प्रभावित हुने अवस्था सिर्जना भएको र त्यसपछि आफूहरू कार्यक्रमस्थलबाट बाहिरिएको पोखरेलको भनाइ छ।

    कार्यक्रमबाट मन्त्री बाहिरिएको छोटो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विभिन्न टिप्पणी भइरहेका बेला पोखरेलले भने उक्त भिडियोले घटनाको पूर्ण सन्दर्भ नसमेटेको दाबी गरेका छन्।

    उनले घटनाको एक मिनेटभन्दा पनि छोटो भिडियो क्लिप काटेर सामाजिक सञ्जालमा सम्पूर्ण घटनाको सन्दर्भ बङ्ग्याउने प्रयास भएको दाबी गरेका छन्।

    ‘लोकतान्त्रिक पद्धतिमा असहमति जनाउने अधिकार सबैलाई हुन्छ,’ पोखरेलले भनेका छन्, ‘तर पूरा सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु वा नियोजित भ्रमको पछि लाग्नु उचित हुँदैन।’

    पोखरेलका अनुसार घटनापछि पनि शिक्षा सुधारका लागि स्थलगत संवादलाई निरन्तरता दिइएको छ। टोलीले सिरहास्थित बहिरा बालबालिका अध्ययन गर्ने विद्यालय तथा मदरसा शिक्षालयमा पुगेर विद्यार्थीहरूसँग संवाद गरेको र एकै दिन करिब ८ देखि १० वटा विद्यालयमा पुगेर सुझाव संकलन गरेको उनले बताएका छन्।

    उनले आफूहरू भोलि सप्तरी हुँदै मोरङतर्फ जाने जानकारीसमेत दिएका छन्।

    मधेस प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको बढ्दो प्रभाव तथा शिक्षा क्षेत्रमा भइरहेका कामप्रति असन्तुष्ट पक्षबाट भ्रम फैलाउने प्रयास भएको संकेतसमेत पोखरेलले गरेका छन्।

    ‘हामी यहाँ राजनीतिक स्टन्ट वा हल्ला गर्न होइन, ग्राउन्डमै पुगेर शिक्षा क्षेत्रमा वास्तविक र सकारात्मक परिवर्तन ल्याउन आएका हौँ,’ उनले भनेका छन्, ‘हल्लाभन्दा काम ठूलो हो, र हाम्रो काम र नियतको मूल्याङ्कन जनता स्वयंले गर्नेछन्।’

    मधेसमा आयोजित अन्तरक्रिया कार्यक्रमबाट शिक्षामन्त्री बाहिरिएको भिडियो सार्वजनिक भएपछि उत्पन्न विवादका बीच मन्त्री पोखरेलले आफ्नो धारणा सार्वजनिक गर्दै घटनाको पूर्ण सन्दर्भ बुझेर मात्र निष्कर्षमा पुग्न आग्रह गरेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend