कास्की, २७ भदौ । माछापुच्छ्रे गाउँपालिकामा अवस्थित ५ हजार ५८७ मिटर उचाइको मर्दी हिमाल स्थानीय युवाले सामूहिक रूपमा सफल आरोहण गरेपछि उनीहरूलाई घाचोक–माछापुच्छ्रे–पोखरा सम्पर्क समाजले सम्मान गरेको छ।
स्थानीय युवाले मर्दी हिमाल सफलतापूर्वक आरोहण गर्नु क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण उपलब्धि भएको समाजले जनाएको छ। आरोहणले मर्दी हिमालको प्रचारप्रसारसँगै माछापुच्छ्रे क्षेत्रको पर्यटन विकास र स्थानीय आर्थिक गतिविधि विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
माछापुच्छ्रे–१ का नारायण गुरुङ, नवीन गुरुङ, रामबहादुर परियार, किसान थापामगर र अर्जुन विक, वडा नं। ३ का क्षेत्रबहादुर गुरुङ र सुदीप तामाङ तथा म्याग्दीका खिम पाइजा र गोरखाका मनुमान गुरुङले गत साउनको अन्तिम साता मर्दी हिमाल आरोहण गरेका थिए।
आरोही क्षेत्रबहादुर गुरुङले मर्दी हिमाल आरोहणका क्रममा सुरुआती चरणमा कठिनाइ भए पनि चुचुरोमा पुगेपछि छुट्टै आनन्दको अनुभूति हुने बताए। उनका अनुसार मर्दी हिमाललाई हिमाल आरोहणको प्रशिक्षण केन्द्रका रूपमा विकास गर्न सकिने पर्याप्त सम्भावना छ।
उनले एभरेष्ट, अन्नपूर्णलगायत ७ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्नुअघि मर्दीमा प्रशिक्षण लिन सके आरोहण थप सहज हुने बताए। मर्दीलाई प्रशिक्षण केन्द्रका रूपमा विकास गर्न सके पर्यटक आगमन बढाउन सकिने उनको भनाइ छ।
सम्पर्क समाजका अध्यक्ष तोयनाथ बैरागी लम्सालले स्वस्थ रूपमा सफल आरोहण गरेर फर्कनु आफैँमा महत्वपूर्ण उपलब्धि भएको बताए। मर्दी आरोहणबाट प्राप्त अनुभवले स्थानीय युवालाई आगामी दिनमा अझ अग्ला हिमाल आरोहणका लागि प्रेरणा दिने उनले बताए।
समाजका पदाधिकारी तथा कार्यक्रममा सहभागी वक्ताहरूले माछापुच्छ्रे गाउँपालिकाको काखमा रहेको मर्दी हिमाल स्थानीय युवाले सफलतापूर्वक आरोहण गर्नु गौरवको विषय भएको बताएका छन्। उनीहरूले मर्दी हिमालको पर्यटन सम्भावनालाई व्यवस्थित रूपमा विकास गर्न सके स्थानीयस्तरमा रोजगारी, पर्यटन व्यवसाय तथा आयआर्जनका अवसरसमेत बढ्न सक्ने धारणा व्यक्त गरे।




.gif)





