images

२०८३ आश्विन २ गते

images
images
images

नर्भिकको व्यवसाय विस्तार योजना : सिटी हस्पिटलदेखि क्यान्सर संस्थानसम्म

नर्भिकको व्यवसाय विस्तार योजना : सिटी हस्पिटलदेखि क्यान्सर संस्थानसम्म

images
images
आइतवार, भाद्र २८ २०८३
आइतवार, भाद्र २८ २०८३
  • काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेजले व्यवसाय विस्तारको सम्बन्धमा महत्त्वपूर्ण कार्ययोजना अघि सार्दै छैटौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।छैटौं साधारणसभामा नर्भिकले व्यवसाय विस्तारका सम्बन्धमा महत्त्वपूर्ण योजनाहरू अघि सारेको हो ।हस्पिटल सञ्चालक समितिका अध्यक्ष राजेन्द्र बहादुर सिंहले आर्थिक वर्ष २०८३/८४ को कार्ययोजना प्रस्तुत गर्दै नर्भिकको व्यवसाय विस्तारका महत्त्वपूर्ण योजनाहरू प्रस्तुत गरे ।कार्ययोजनाअनुसार नर्भिकले अस्पतालको निर्माणाधीन भवनको निर्माण कार्यलाई आगामी आर्थिक वर्षभित्रमा सम्पन्न गरी नयाँ भवनबाट स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।

    images
    images

    यस्तै नर्भिक फार्मेसिया प्रा.लि. हाल काठमाडौं उपत्यकाभित्र १५ शाखा सञ्चालनमा रहेकोमा चालु आर्थिक वर्षमा काठमाडौं उपत्यकाभित्र १८, उपत्यका बाहिर १५ शाखा विस्तार तथा फ्रान्चाइज मोडलमा ६ गरी जम्मा ५४ शाखा विस्तार गर्ने लक्ष्य रहेको छ । आगामी २ वर्षभित्र १०० वटा शाखा विस्तार गर्ने लक्ष्य राखिएको छ ।स्वास्थ्य सेवाको पहुँचलाई काठमाडौं उपत्यकाका अन्य क्षेत्रहरूमा समेत विस्तार गर्ने उद्देश्यले नर्भिक सिटी हस्पिटलको परियोजना पनि ल्याइएको छ । नर्भिक सिटी हस्पिटल लिमिटेडको परियोजनालाई आगामी आर्थिक वर्षको महत्त्वपूर्ण योजनाका रूपमा अघि बढाएको छ । उक्त सिटी अस्पताल ५० शय्याको हुनेछ । सिटी हस्पिटलमा ओपीडी, आकस्मिक सेवा, क्रिटिकल केयर, आइपिडी, अप्रेसन थिएटर लगायतका सेवा सञ्चालन गर्ने योजना रहेको छ । सिटी अस्पतालमा प्याथोलोजी, युएसजी, इको, इन्डोस्कोपिक, ल्याप्रोस्कोपी सर्जरी, एक्सरे लगायतका डाइग्नोस्टिक तथा उपचार सेवाहरू उपलब्ध गराउने योजना रहेको छ ।

    यस्तै नर्भिक एकीकृत क्यान्सर संस्थान स्थापना गरी अत्याधुनिक तथा एकीकृत क्यान्सर उपचार सेवा उपलब्ध गराउने उद्देश्य लिइएको छ । संस्थान स्थापनाका लागि कम्पनी स्थापना गरिएको जनाइएको छ । चालु आर्थिक वर्षमा यसको योजनालाई कार्यान्वयन गर्ने प्रक्रिया अगाडि बढाउन नेतृत्व सल्लाहकारका रूपमा संस्थापक अध्यक्ष तथा रणनीतिक सल्लाहकार बसन्त कुमार चौधरी रहेका छन् । उक्त परियोजनाको अनुमानित कुल लागत करिब ३ अर्ब रूपैयाँ रहने छ भने दीर्घकालीन रूपमा उच्चस्तरीय क्यान्सर उपचार सेवा नेपालमै उपलब्ध गराउने उद्देश्य रहेको छ ।यस्तै स्वास्थ्य सेवाको पहुँचलाई सेवाग्राहीको घर–घरसम्म पुर्‍याउने उद्देश्यले नर्भिक एट होम स्थापना तथा सञ्चालनको योजनालाई आगामी आर्थिक वर्षको महत्त्वपूर्ण योजनाका रूपमा अघि बढाइएको छ । उक्त सेवा प्रथम चरणमा होम हेल्थ केयर र जेरियाट्रिक सर्भिसबाट सुरु गरिनेछ ।नर्भिकको सेवाप्रवाहलाई थप प्रभावकारी, एकीकृत तथा प्रविधिमैत्री बनाउन डिजिटल प्रणालीको सुदृढीकरणलाई विशेष प्राथमिकता दिइएको छ । अस्पतालको मुख्य प्राथमिकता गुणस्तरीय स्वास्थ्य सेवा विस्तार, सेवा क्षमता वृद्धि, पूर्वाधार विकास, आधुनिक प्रविधिको प्रयोग तथा संस्थागत विस्तारमा केन्द्रित रहने जनाइएको छ ।

    images
    images

    नर्भिकले आफ्नो व्यावसायिक भूमिकासँगै सामाजिक उत्तरदायित्वलाई समेत निरन्तर प्राथमिकता दिँदै आएको जनाएको छ । आगामी दिनमा पनि निःशुल्क तथा सहुलियतपूर्ण स्वास्थ्य शिविर, जनचेतनामूलक कार्यक्रम तथा विपन्न वर्गका लागि आवश्यक स्वास्थ्य सेवाका कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ ।साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट लाभांश वापत २० प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ । २० प्रतिशत बोनस सेयर वितरण पश्चात् कायम हुने चुक्ता पुँजीको २० प्रतिशत बराबरको सेयर बुक बिल्डिङ प्रक्रियाबाट सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तथा उक्त प्रक्रियाका लागि संस्थागत लगानीकर्ताहरूलाई वितरण गरिने विवरणपत्र स्वीकृति गर्ने लगायत काम कारबाहीको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित भएको छ । यसैगरी २२.१०५ प्रतिशत नगद लाभांश समेत पारित गरिएको छ ।साधारणसभालाई सम्बोधन गर्दै नर्भिकका संरक्षक तथा रणनीतिक सल्लाहकार बसन्त कुमार चौधरीले देशमा घटिरहेका विषम परिस्थितिका बाबजुद पनि संस्थाले आर्थिक सूचकांक दिन सफल भएको बताए । उनले स्वास्थ्य सेवाका विभिन्न क्षेत्रमा नर्भिकले लगानी बढाउँदै लैजाने जानकारी दिए ।

    यस्तै सञ्चालक मेधा चौधरीले नर्भिकलाई केवल एउटा अस्पतालका रूपमा मात्र नभई आधुनिक, प्रविधिमैत्री, विशेषज्ञतामा आधारित तथा दिगो स्वास्थ्य संस्था र स्वास्थ्य सेवाको विश्वसनीय केन्द्रका रूपमा विकास गर्ने बताइन् ।हस्पिटलका सीईओ अजय कुमार मिश्रले नर्भिकले सञ्चालन गर्ने नर्भिक सिटी हस्पिटलको सेवा नर्भिकभन्दा सुलभ र स्थानीय सर्वसाधारणलाई उपभोगयोग्य बनाइने जानकारी दिए । उनले रसुवा बाढीको कोषमा नर्भिक हस्पिटलको तर्फबाट एक करोड रुपैयाँ सहयोग गरिएको पनि जानकारी दिए ।हस्पिटलको वार्षिक प्रतिवेदनअनुसार नर्भिकले २०८२/८३ मा ओपिडीतर्फ एक लाख ७९ हजार, आइपिडीतर्फ ९ हजार र आकस्मिकतर्फ ६ हजार बिरामीलाई उपचार सेवा प्रदान गरेको छ । यस्तै ४१ हजार सेवाग्राहीलाई अस्ट्रेलिया, युके, जापान, न्युजिल्यान्ड तथा पपुवा न्युगिनियाका लागि इमिग्रेसन हेल्थ स्क्रिनिङ सेवा प्रदान गरेको छ ।आर्थिक वर्ष २०८२/८३ मा अस्पतालको कुल आम्दानी फार्मेसीबाहेक रु. २ अर्ब ८३ करोड, कुल खर्च रु. २ अर्ब ३६ करोड तथा खुद नाफा रु. ४७ करोडभन्दा माथि रहेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै फार्मेसीसहित कुल आम्दानी रु. ३ अर्ब ४७ करोड, कुल खर्च रु. २ अर्ब ९९ करोड तथा खुद नाफा रु. ४७ करोड ८५ लाखभन्दा माथि रहेको जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend