काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता ७६० जना नेपाली अमेरिकाबाट निष्कासनमा परेका छन् ।नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार २०२५ जनवरी २० पछि डिपोर्ट भएकामध्ये ३७ जना महिला छन् ।पछिल्लो आठ आर्थिक वर्षमा अमेरिकाबाट कुल ९८६ जना नेपाली निष्कासनमा परेको तथ्यांक छ ।
ब्यूरोका प्रवक्ता एसपी राजन लिम्बुका अनुसार डिपोर्ट भएर फर्किएका नेपालीमध्ये केहीले अमेरिका पठाउने गिरोहविरुद्ध उजुरी दिएका छन् ।हालसम्म त्यस्ता गिरोहविरुद्ध ९ वटा जाहेरी दर्ता भई अनुसन्धान भइरहेको छ ।डिपोर्ट हुनेमा भिजिट भिसामा अमेरिका पुगेर लुकेका तथा अवैध बाटोबाट प्रवेश गरेका नेपालीको संख्या उल्लेख्य रहेको प्रहरीले जनाएको छ ।अमेरिकाले कतिपय नेपालीलाई चार्टर्ड विमानमार्फत नेपाल फर्काउँदै आएको छ भने केही नियमित उडानबाट पनि फर्किएका छन् ।
ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिपछि नेपालीको डिपोर्टेसन क्रम तीव्र बनेको देखिएको छ ।पछिल्लो समय एकैपटक ७५ जनासम्म नेपाली नेपाल फर्काइएको ब्यूरोको तथ्यांकमा उल्लेख छ ।





.gif)





