काठमाडौं । बलिउड अभिनेत्री नीना गुप्ताले छोरी मसाबा गुप्तालाई एकल आमाका रूपमा हुर्काउँदाको कठिन अनुभव सार्वजनिक गरेकी छन्। उनले एकल अभिभावकत्व सहज नभएको बताउँदै आफूले अरूलाई सिंगल मदरहुड रोज्न प्रोत्साहन नगर्ने धारणा व्यक्त गरेकी छन्।
नीनाका अनुसार एकल आमाका रूपमा बच्चा हुर्काउनु शारीरिक, मानसिक र आर्थिक रूपमा चुनौतीपूर्ण हुन्छ। यस्तो अवस्थामा अभिभावकसँगै बच्चाले पनि विभिन्न कठिनाइ सामना गर्नुपर्ने भएकाले आफूले अरू महिलालाई यस्तो निर्णय लिन सुझाव नदिने उनले बताएकी हुन्।
उनले छोरी मसाबालाई उनको जन्म र बुबासँग सम्बन्धित विषयमा उमेर अनुसार विस्तारै सत्य बताउँदै आएको बताइन्। छोरीको मनमा आफ्ना बुबाप्रति नकारात्मक भावना विकास नहोस् भन्नेमा आफू सचेत रहेको नीनाको भनाइ छ।
मसाबा सानो हुँदा उनको बुबा साथमा नरहेको अवस्थाका लागि आफूले छोरीसँग पटक–पटक माफी मागेको पनि नीनाले बताएकी छन्। उनले त्यस अवस्थालाई आफ्नो गल्तीका रूपमा स्वीकार गर्दै छोरीले भने आफूलाई बुझ्ने गरेको बताइन्।
भिभियन रिचर्ड्ससँगको सम्बन्धबाट जन्मिएकी थिइन् मसाबा
नीना गुप्ता र वेस्ट इन्डिजका पूर्वक्रिकेटर भिभियन रिचर्ड्सबीचको सम्बन्धबाट मसाबा गुप्ताको जन्म भएको हो।
रिचर्ड्स त्यतिबेला विवाहित रहेकाले उनीहरूबीच विवाह हुन सकेन। त्यसपछि नीनाले छोरी मसाबालाई एक्लै हुर्काएकी थिइन्।
मसाबा अहिले फेसन डिजाइन तथा मनोरञ्जन क्षेत्रमा परिचित नामका रूपमा स्थापित भएकी छन्। आमाका रूपमा आफूले भोगेको संघर्ष र छोरी हुर्काउँदाको अनुभवबारे नीनाले यसअघि पनि विभिन्न अवसरमा आफ्ना धारणा सार्वजनिक गर्दै आएकी छन्।
यसपटक भने उनले एकल आमाका रूपमा जीवन बिताउँदा आफूले भोगेको कठिनाइलाई व्यक्तिगत अनुभवका रूपमा प्रस्तुत गर्दै सिंगल मदरहुडलाई सहज विकल्पका रूपमा नहेर्न आग्रह गरेकी छन्।
नीनाको भनाइले एकल अभिभावकत्वसँग जोडिएका सामाजिक, आर्थिक र भावनात्मक चुनौतीबारे पुनः बहस सिर्जना गरेको छ।




.gif)





