काठमाडौं । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि भक्तजनका लागि खुला गरिने भएको छ। तीजका दिन पशुपतिनाथमा विशेष पूजा तथा दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको ठूलो भीड लाग्ने भएकाले भक्तजनको सहज व्यवस्थापनका लागि विशेष तयारी गरिएको कोषले जनाएको छ। मन्दिरबाहिर पाँच वटा लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि आठ वटा लाइनको व्यवस्था गरिने भएको छ।
महिला सुरक्षाकर्मीको संख्या बढाइने
तीजका दिन पशुपति क्षेत्रमा आउने भक्तजनको सुरक्षा तथा व्यवस्थापनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडौं महानगरपालिकाको नगर प्रहरी परिचालन गरिने भएको छ।
दर्शनमार्ग, मेला क्षेत्र तथा मन्दिर परिसरमा सुरक्षा पोष्ट स्थापना गरी सुरक्षा व्यवस्था मिलाइएको कोषले जनाएको छ। तीजमा महिला दर्शनार्थीको संख्या उल्लेख्य हुने भएकाले सुरक्षालाई थप प्रभावकारी बनाउन महिला सुरक्षाकर्मीको संख्या समेत बढाइने भएको छ।
विभिन्न स्थानमा पार्किङको व्यवस्था
तीजका दिन काठमाडौं उपत्यकामा सवारीसाधनको चाप बढ्ने भएकाले पशुपति क्षेत्र आसपास छुट्टाछुट्टै पार्किङस्थल तोकिएको छ।
कोषकी सदस्य संगिता कुमारी रामका अनुसार विशिष्ट व्यक्तिका सवारीसाधन पशुपति क्षेत्र विकास कोषको कार्यालय परिसरमा पार्किङ गर्ने व्यवस्था गरिएको छ।
अन्य सवारीसाधनका लागि भण्डारखाल पार्किङ, सिफल चौर, वनकाली पार्किङ, तिलगंगा र उमाकुण्डमा पार्किङको व्यवस्था मिलाइएको छ।
बहुमूल्य गरगहना नलगाउन आग्रह
पशुपति क्षेत्र विकास कोषले तीजका दिन पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनलाई बहुमूल्य गरगहना नलगाई आउन आग्रह गरेको छ।
त्यस्तै, भीडभाडका कारण बालबालिका हराउन सक्ने तथा उनीहरूको सुरक्षामा चुनौती हुन सक्ने भन्दै सकेसम्म साना बालबालिकालाई साथमा नल्याउन पनि कोषले अनुरोध गरेको छ।
तीजका दिन ठूलो संख्यामा भक्तजन पशुपतिनाथ क्षेत्रमा पुग्ने भएकाले कोषले दर्शनार्थीलाई सुरक्षा व्यवस्था र तोकिएका लाइन तथा पार्किङस्थलको पालना गरी सहयोग गर्न आग्रह गरेको छ।




.gif)





