मस्कट–तेहरान, २९ भदौ । इरान र खाडी राष्ट्रका प्रतिनिधिबीच ओमानको सलालाहमा सोमबार हुने भनिएको क्षेत्रीय बैठक स्थगित भएको छ । ओमानका विदेशमन्त्री सैयद बद्र बिन हमद अल बुसाइदीले आइतबार सामाजिक सञ्जालमार्फत बैठक स्थगित गरिएको जानकारी दिएका छन्।
उनले क्षेत्रीय सहमतिलाई प्राथमिकता दिँदै सोमबार सलालाहमा आयोजना गर्ने तयारी गरिएको बैठक स्थगित गरिएको बताएका छन्। ओमानले क्षेत्रीय स्थायित्व र दीर्घकालीन सहकार्यलाई सहयोग पु¥याउने संवादलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरेको छ । इरानको विदेश मन्त्रालयअन्तर्गत फारसको खाडीसम्बन्धी महानिर्देशक मोहम्मद अली बाकले पनि बैठक स्थगित भएको पुष्टि गरेका छन्।
उनले इरानको सरकारी समाचार संस्था इरना दिएको अन्तर्वार्तामा केही क्षेत्रीय राष्ट्रको आग्रहपछि बैठक अर्को मितिका लागि सारिएको जानकारी दिएका छन्। उनका अनुसार बैठक स्थगित गर्ने निर्णय इरान र ओमानबीचको संयुक्त सहमतिमा गरिएको हो ।
उनले बैठक आयोजना गर्न उपयुक्त समय तय गर्ने विषयमा ओमानसँग इरानले निरन्तर परामर्श गरिरहेको बताएका छन्। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले शुक्रबार खाडी क्षेत्रका राष्ट्रका विदेशमन्त्रीहरू सोमबार ओमानमा भेला हुने कार्यक्रम रहेको जानकारी दिएका छन्। बैठकमा क्षेत्रीय विषयमा विचार आदानप्रदान गर्ने तयारी गरिएको थियो ।
बैठकमा विशेषगरी होर्मुज जलडमरूमध्यमा सुरक्षित समुद्री मार्ग निर्धारण गर्ने विषयमा इरान र ओमानबीच भइरहेको छलफलका बारेमा समेत विचारविमर्श गर्ने तयारी थियो । प्रवक्ता बघाईले शनिबार अल जजिरासँग कुरा गर्दै बैठकमा खाडी राष्ट्रका साथै इरान र इराकका विदेशमन्त्रीहरूको सहभागिता रहने अपेक्षा गरिएको बताएका छन्।
बैठक स्थगित भए पनि क्षेत्रीय स्थायित्व, संवाद र सहकार्यका लागि आवश्यक कूटनीतिक प्रयासलाई निरन्तरता दिने तयारी रहेको बताइएको छ ।




.gif)





