images

२०८३ आश्विन २ गते

images
images
images

पशुपतिनाथमा तीजको रौनक, रातैदेखि दर्शनार्थीको भीड, आस्थासँगै बदलिँदो पर्वको स्वरूप

पशुपतिनाथमा तीजको रौनक, रातैदेखि दर्शनार्थीको भीड, आस्थासँगै बदलिँदो पर्वको स्वरूप

images
images
सोमवार, भाद्र २९ २०८३
सोमवार, भाद्र २९ २०८३
  • काठमाडौँ । रातको अँध्यारो हट्दै गर्दा पशुपतिनाथ मन्दिर परिसरमा तीजको रौनक बढ्दै गएको थियो। हरितालिका तीजका अवसरमा पशुपतिनाथका चारवटै ढोका बिहान ३ बजेदेखि खुला गरिएपछि रातो सारी, हरियो पोते, चुरा र मेहन्दीमा सजिएका व्रतालु महिलाको चहलपहल बढेको हो।

    images
    images

    PASUPATI TAMPLE TEEJ.jpg

    पूर्वी आकाश उज्यालिनुअघि नै आर्यघाट आसपासदेखि मन्दिर परिसर र दर्शनार्थीको लाइनसम्म महिलाको बाक्लो उपस्थिति देखिन्थ्यो। कोही पतिको दीर्घायुको कामना गर्दै भगवान् शिवको आराधनामा थिए भने कोही आमाबुबाको सुस्वास्थ्य, परिवारको सुख–शान्ति र समृद्धिको प्रार्थना गरिरहेका थिए।

    images
    images

    कतिपय महिलाका ओठमा तीजका भाका गुञ्जिरहेका थिए भने कतिपय ध्यान र भक्तिभावमा लीन थिए। यससँगै हरितालिका तीजले पशुपतिनाथ परिसरलाई फेरि एकपटक धार्मिक आस्था, प्रार्थना र नारी भावनाको साझा थलो बनाएको छ।

    TEEJ 2083.jpg
    undefined

    हिन्दू नारीहरूको प्रमुख पर्वका रूपमा मनाइने हरितालिका तीजमा व्रतालु महिलाले भगवान् शिव र माता पार्वतीको पूजा–आराधना गर्दै पारिवारिक सुख, शान्ति, समृद्धि तथा प्रियजनको दीर्घायुको कामना गर्ने धार्मिक परम्परा छ।

    परम्परा र आस्थाको निरन्तरता

    पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाका लागि पुगेकी व्रतालु मेनुका कोइरालाका लागि तीज एउटा पर्व मात्र होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको आस्था र संस्कारको निरन्तरता हो।

    PASUPATI TEEJ.jpg

    उनका लागि तीजमा व्रत बस्नु भगवान् शिव र माता पार्वतीप्रतिको श्रद्धा व्यक्त गर्नुका साथै परिवार र आफ्नो सांस्कृतिक परम्परासँग जोडिने अवसर पनि हो।

    तर समयसँगै तीज मनाउने शैलीमा आएको परिवर्तनलाई भने उनले नजिकबाट महसुस गरेकी छन्। विगतमा पूजा, व्रत, माइतीको भेटघाट र पारिवारिक आत्मीयता तीजको मुख्य पक्ष हुने गरेको स्मरण गर्दै उनले पछिल्लो समय पर्व मनाउने शैलीमा परिवर्तन आएको बताइन्।

    “हामी पार्वतीजस्तो भक्त हुन सकेनौँ होला, तर पुर्खौँ–पुर्खादेखि चलिआएको परम्परा पछ्याइरहेका छौँ,” उनले भनिन्।

    उनका अनुसार तीजका नाममा हुने कतिपय गतिविधि, देखासिकी र बदलिँदो जीवनशैलीले पर्वको मौलिक धार्मिक तथा सांस्कृतिक भावनालाई ओझेलमा पार्न थालेको छ।

    उनको बुझाइमा तीजको वास्तविक सौन्दर्य बाहिरी सजावटमा मात्र नभई व्रतको निष्ठा, पूजाप्रतिको श्रद्धा, पारिवारिक आत्मीयता तथा महिलाहरूले एकअर्कासँग सुख–दुःख बाँड्ने संस्कारमा रहेको छ।

    यसपटक दर्शन केही सहज

    तीजको दिन पशुपतिनाथमा दर्शन गर्न आउने व्रतालु महिलाको भीड उल्लेख्य भए पनि विगतको तुलनामा यसपटक दर्शन केही सहज भएको व्रतालु लिला कडायतको अनुभव छ।

    उनका अनुसार अघिल्ला वर्षमा लामो समयसम्म लाइनमा बसेर पालो कुर्नुपर्ने अवस्था रहे पनि यसपटक करिब १५ मिनेटमै मन्दिर प्रवेश गरी पूजा गर्न सकिएको थियो।

    “पहिला–पहिला त एकदम लाइन लाग्नुपथ्र्यो । यसपालि १५ मिनेटमै हामी भित्र छिरेर पूजा गरेर भ्याइसक्यौँ,” उनले भनिन्।

    पुरुष भक्तजनलाई प्रवेशमा रोक लगाइएकाले पनि यसपटक महिलाका लागि दर्शन केही सहज भएको हुनसक्ने उनको बुझाइ छ। उनका लागि तीजको व्रतको मुख्य उद्देश्य श्रीमान्को सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्नु हो।

    पशुपतिनाथ पुगेकी व्रतालु जानुका पौडेलले पनि यसपटक महिलालाई प्राथमिकता दिइएको र सुरक्षा व्यवस्था व्यवस्थित रहेको बताइन्।

    “हामी पशुपतिमा धेरै पटक आइसकेका छौँ। तर अरू बेलाभन्दा आजको सुरक्षा व्यवस्था राम्रो थियो। हरितालिका तीज भएर होला, धेरैजसो महिलालाई प्राथमिकता दिइएको थियो,” उनले भनिन्।

    पौडेल नियमित रूपमा विभिन्न पर्वमा व्रत बस्ने गर्छिन्। यसपटक भने उनको प्रार्थना श्रीमान्को दीर्घायुमा मात्र सीमित छैन। उनले बुवाआमाको दीर्घायु, परिवारको सुख–शान्ति तथा कुनै संकट नआओस् भन्ने कामना गरेकी छन्।

    बदलिँदो स्वरूप, उस्तै आस्था

    समयसँगै तीज मनाउने शैलीमा परिवर्तन आएको छ। विगतमा माइती जाने, दिदीबहिनी भेट्ने, दर खाने, गीत गाउने तथा सुख–दुःख साट्ने अवसरका रूपमा तीज बढी केन्द्रित थियो। पछिल्लो समय भने सामूहिक कार्यक्रम, सांस्कृतिक प्रस्तुति, सार्वजनिक जमघट र सामाजिक सञ्जालले पनि तीजको स्वरूपलाई प्रभावित गरेका छन्।

    तर तीजको मूल धार्मिक आस्था भने अझै कायम छ। विवाहित महिलाले पतिको दीर्घायु तथा परिवारको सुख–समृद्धिको कामना गर्ने र अविवाहित महिलाले योग्य जीवनसाथीको कामना गर्दै व्रत बस्ने परम्परा निरन्तर छ।

    भगवान् शिव र माता पार्वतीको सम्बन्ध तथा पार्वतीको तपस्या र समर्पणसँग जोडिएको तीजलाई श्रद्धा, प्रेम, त्याग र पारिवारिक मंगलकामनाको पर्वका रूपमा लिइन्छ।

    पशुपतिनाथ परिसरमा भेटिएका व्रतालु महिलाका अनुभवले पनि तीजको बाहिरी स्वरूप फेरिए पनि यसको आस्थाको धागो बलियो रहेको देखाउँछ। कसैका लागि तीज पतिको दीर्घायुको प्रार्थना हो, कसैका लागि बुवाआमाको सुस्वास्थ्यको कामना। कसैका लागि बाल्यकालको सम्झना हो भने कसैका लागि बदलिँदो जिम्मेवारीबीच आफ्नो संस्कृति र परम्परासँग जोडिरहने अवसर।

    यसरी पशुपतिनाथमा तीज मनाइरहेका महिलाको अनुहारमा देखिएको उल्लास केवल पर्वको रौनक मात्र होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक विश्वास, पारिवारिक प्रेम र सांस्कृतिक पहिचानको प्रतिबिम्बसमेत बनेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend