काठमाडौं । आगामी १९ चैतदेखि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातिको समयमा बन्द नहुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौलाकाअनुसार हाल ट्याक्सी वे विस्तारका क्रममा गरिएको विमानस्थल बन्द गरिए पनि अबको समर सिजनदेखि विमानस्थल सञ्चालन विगतमा जस्तै विहान ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुने भएको हो ।
विमानस्थलमा हाल भइरहेको काम सम्पन्न हुँदै गइरहेको छ भने विमानस्थल बन्द नै गरेर गर्नुपर्ने काम भने यही मार्च महिनाभित्रै सकिने भएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार विमानस्थलको सेन्ट्रल लाइनबाट ७५ मिटर भित्रको काम गर्न उडान बन्द भएको हो ।विमानस्थलमा भइरहको सबै काम पूरा हुन एक डेढ वर्ष लाग्ने भए पनि धावनमार्ग बन्द गरेर गर्नुपर्ने काम भने ४० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको निरौला बताउँछन् । उनले भने ‘नोटाम पिरियडमा गर्नुपर्ने काम सबै यही मार्च महिनाभित्र सम्पन्न गर्ने र विमानस्थल सञ्चालनको समय बढाइने भएको छ ।’
२३ कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुँदै आएकोमा गत १९ माघदेखि भने उडान समय बढेको छ भने विमानस्थल बन्द हुने समय थप दुई घण्टा घटेको छ । १९ माघको शनिवारदेखि विमानस्थल १६ घण्टा सञ्चालनमा आएको छ । १९ चैतदेखि भने पूरै मर्मतको कारण विमानस्थलको सञ्चालन समय नघट्ने भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा भइरहेको निर्माणको कार्यमा प्रगति भएसँगै उडान समय बढ्ने र विमानस्थल बन्द हुने समय घटेसँगै नयाँ वायुसेवा आउने, उडानमै रहेका वायुसेवाले रिसेड्युल गर्ने तथा थप उडान गर्ने पनि निरोलाको भनाइ छ । अहिले १९ माघपछि नै विमानस्थलको उडान समय थप भएसँगै भारतीय वायुसेवा स्पाइस जेट र एयर इयर इण्डिया एक्सप्रेसले पुनः उडान गर्न लागेको हुन् ।विमानस्थलको उडान समय घटेसँगै नेपालमा उडान नभएको यी वायुसेवाको पुनः उडान गर्न चाहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको भनाइ छ ।
विमानस्थलका महाप्रवन्धक निरौलाका अनुसार उडान समय बढ्ने भएसँगै आन्तरिक र विदेशी वायुसेवाको उडान समय पनि बढ्ने भएको छ । यसका लागि आन्तरिक र वाह्य उडानका वायुसेवाले पनि रिसेडेयुल गरेर उडान थप गर्ने इच्छा देखाएको निरौलाले बताए ।अन्तर्राष्ट्रिय एप्रोन, समानान्तर ट्याक्सी, ह्यांगर निर्माणलगायतका पूर्वाधार निर्माणका लागि धावनमार्ग नै बन्द गर्नुपरेको थियो । यो विमानस्थभित्र उडान बन्द गरेर मर्मत गर्नुपर्ने काम चैतसम्मको लागि मात्रै भएको पनि उल्लेख छ ।विमानस्थलभित्र तीन वटा फरक–फरक आयोजनाको काम अघि बढाएको थियो । विमानस्थलभित्र सञ्चालित तीन वटै आयोजनाको ४० प्रतिशत भौतिक कार्य भएको दाबी विमानस्थल कार्यालयको भनाइ छ ।
विमानस्थलको यात्रु क्षमता बढाउन र अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको पूर्वाधार विस्तारको काम भइरहेको छ । सोही काम अन्तर्गत हालको मर्मत भएको पनि विमानस्थल कार्यालयले जानकारी दिएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले गत २३ कात्तिकबाट विमानस्थलको उडान घटाउँदा आन्तरिक वायुसेवाको कम्तिमा ३० प्रतिशत उडान कतौती भएका थिए । ती कटौती भएका उडान पुन रिसेड्युल हुने भएकाे विमानस्थल कार्यालयको भनाइ छ ।
त्रिभुवन विमानस्थल बन्द हुँदा प्राधिकरणले आन्तरिक वायुसेवालाई काठमाडौं बाहिर बेस गर्न र उडान तालिका नै घटाउन लगाएको छ । अन्तर्राष्ट्रिय उडानका वायुसेवालाई पनि भैरहवा वा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल विकल्पको रुपमा दिइएको थियो । तर, पोखरामा कुनै पनि वायुसेवाले जाने इच्छा नगरेका कारण भैहरवा विमानस्थलकै चाप बढेको पनि निरौलाले बताए ।




.gif)





