images

२०८३ आश्विन २ गते

images
images
images

किवी खेतीमा किसानको आकर्षण

किवी खेतीमा किसानको आकर्षण

images
images
बुधवार, आषाढ १८ २०८२
बुधवार, आषाढ १८ २०८२
  • म्याग्दी । म्याग्दीको बेनी नगरपालिका– ३ भकिम्लीमा एक दशकअघि परीक्षणका रुपमा गरिएको किवी खेती अहिले पकेट क्षेत्रको रुपमा विस्तार भएको छ ।२०७२ सालमा पदमबहादुर पुन, लक्षु पुन र पृथ्वीप्रसाद पुनले काठमाडौंबाट ५० बोट किवीका बिरुवा ल्याएर परीक्षणका रुपमा खेती गरेका थिए । तत्कालीन समयमा लगाएका बोटले ६ वर्षपछि फल दिन थालेपछि स्थानीय किवी खेतीमा आकर्षित भएका हुन् ।

    images
    images

    २०७४ सालमा वडा कार्यालयले ‘एक घर पाँच किवी’ का बिरुवा लगाउने अभियान सञ्चालन गरेपछि वडामा किवी खेतीको लहर चलेको थियो । किवीखेती सुरु भएको एक दशकमा वडामा करिब चार सय रोपनीमा किवी खेती विस्तार भएको छ ।भकिम्ली, चिनाखेत, डाँडाखानी, छाप, सिम, मट्केना, भुकभुके, डोले, मुसुङ गाउँमा किवीको व्यावसायिक खेती विस्तार भएको वडाध्यक्ष पदमबहादुर पुनले बताए । उनका अनुसार, भकिम्लीमा अहिले कृषकहरूले पाँच हजार बढी किवीका बिरुवा लगाएका छन् ।

    ‘किवीलाई स्थानीयले प्रमुख खेतीकै रुपमा अघि बढाएका छन्, वडा र नगरपालिकामार्फत किसानलाई किवीका बिरुवा, पोल, तार र सिँचाइमा अनुदान उपलब्ध हुँदै आएको छ, खेतीयोग्य जमिनमा खाद्यबालीको विकल्पमा किवी खेती विस्तार गर्ने अभियान नै चलेको छ’, वडाध्यक्ष पुनले भने । वडाभित्र सामूहिक र व्यक्तिगत रुपमा फर्म दर्ता गरेर किसानहरू गाउँलाई किवी गाउँको रुपमा विकास गर्ने प्रयासमा लागि परेका छन् ।भकिम्लीमा बेलढुङ्गा किसान समूहले मात्रै एक हजार दुई सय वटा किवीका बोट लगाएको छ । किवी खेतीको अगुवा किसानको रुपमा परिचित लालबहादुर पुनले तीन सय, लक्षु पुनले दुई सय ५०, लालबहादुर घर्तीले २५० बोट किवी लगाएका छन् ।

    images
    images

    गाउँका युवाहरूले परम्परागत कोदो, मकै फल्ने बारीमा समेत किवी खेती सुरु गरेका छन् । वडामा हाल ५० भन्दा बढी किसान किवी खेतीमा छन् ।किवी खेतीको लहर चलेपछि भकिम्लीमा किवी पकेट क्षेत्र विस्तार गरिएको बेनी नगरपालिकाका कृषि अधिकृत आकृति ढुङ्गानाले बताए । चालु आर्थिक वर्ष २०८१–०८२ मा नगरपालिकाबाट विनियोजन भएको १२ लाख रुपैयाँ बजेटलाई कृषकको ५० प्रतिशत लागत साझेदारीमा किवी पकेट क्षेत्र विस्तारमा परिचालन गरिएको कृषि अधिकृत ढुङ्गानाले बताए ।

    ‘विगतका वर्षमा यस क्षेत्रमा फलफूलखेती प्रवर्द्धन कार्यक्रममार्फत किवी खेती विस्तारमा नगरपालिकाले सघाएको थियो, यसवर्ष किवी पकेट क्षेत्र विस्तार कार्यक्रम नै सञ्चालन गरेका छौँ, नयाँ बगैँचा स्थापना र व्यवस्थापनमा नगरपालिका र कृषकको समेत गरी २४ लाखभन्दा बढी लगानीको काम गर्न सफल भएका छौँ, यसले सिङ्गो गाउँलाई किवीमय बनाउन सहयोग पुगेको छ’,  कृषि अधिकृत ढुङ्गानाले भने ।किवी पकेट क्षेत्र कार्यक्रममार्फत यसवर्ष दुई सय ५० वटा नयाँ बोट रोपिएको छ । किवीका बोटलाई फैलाउनका लागि सात सय दुई वटा पोलसहित तार टाङ्गिएको छ भने सिँचाइका लागि सात वटा ड्रम वितरण गर्नुका साथै सिँचाइ पाइपसमेत वितरण गरिएको छ । किवी खेती विस्तारमा वडा कार्यालय, बेनी नगरपालिकाका साथै कृषि ज्ञान केन्द्रले सहयोग गर्दै आएका छन् ।

    किवी पकेट क्षेत्र विस्तारले किसानमा किवी खेती विस्तारमा उत्साह छाएको वडा सदस्यसमेत रहेका किसान रत्न जिसीले बताए ।

    वैदेशिक रोजगारको विकल्पमा किवी खेती
    बेनी नगरपालिका– ३ भकिम्लीका युवा खिमबहादुर आले मगरले परम्परागत कोदो, मकैखेती हुँदै आएको आठ रोपनीमा किवी खेती सुरु गरेका छन् । दुई वर्षदेखि किवी खेतीमा लागेका मगरले ११० वटा बोट किवी लगाइसकेका छन् । भकिम्लीको टिम्मरेडाँडामा रहेको बारीमा किवी लगाएका मगरले आयआर्जनका लागि वैदेशिक रोजगारीमा जानुभन्दा आफ्नै गाउँमा व्यावसायिक किवी खेतीलाई रोजेको बताए ।मगरले यसवर्ष मात्रै बेनी नगरपालिकाको ५० प्रतिशत अनुदान सहयोगमा दुई सय दुई वटा पोल निर्माण गरेका छन् । किवी खेतीको विस्तार र बगैँचा व्यवस्थापनमा यसवर्ष मात्रै ६ लाख रुपैयाँ बराबरको काम गरेको उनले बताए ।

    भकिम्लीको मुसुङमा वैदेशिक रोजगारी त्यागेर किवी खेतीमा लागेका किसान लालबहादुर घर्तीले सात रोपनी क्षेत्रफलमा किवी लगाएका छन् ।‘रोजगारीको सिलसिलामा करिब १० वर्ष ओमन र साउदीमा बिताएँ, त्यहाँ बस्दा पनि घर खर्च चलाउनबाहेक थप आर्थिक उन्नति गर्न सकिएन, त्यसपछि स्वदेश फर्किएर किवी खेतीमा लागेको हुँ’, घर्तीले भने ।२०७५ सालमा वडा कार्यालयले किवीखेतीसम्बन्धी तालिम र अभिमुखीकरण सञ्चालन गरेपछि यहाँका धेरैजसो युवाहरु किवीको व्यावसायिक खेतीमा आबद्ध भएका छन् ।

    घर्तीको किवी फर्मबाट उत्पादनसमेत सुरु भइसकेको छ । गतवर्ष मात्रै ८० हजार रुपैयाँको किबी बिक्री गरेका उनले १७ रोपनीमा किवी खेती विस्तार, बगैँचा स्थापना र व्यवस्थापनमा नगरपालिकाबाट पाएको सहयोगले आफूलाई उत्साहित बनाएको जानकारी दिए ।

    उचित बजार व्यवस्थापनको चुनौती
    अनुकूल हावापानी र उचित खेतीयोग्य जमिनका कारण भकिम्लीमा किवी खेती विस्तार हुन थालेसँगै उचित बजार व्यवस्थापनको चुनौती देखिएको छ ।गाउँमा उत्पादन भएको किवी स्थानीय बजारमा खपत हुनसक्ने अवस्था नभएपछि बागलुङ, पोखरा, काठमाडौंलगायतका बजारमा पठाउन थालिएको छ ।कात्तिकदेखि पुससम्ममा किवीको बजारीकरण गरिन्छ । गत वर्ष यहाँका कृषकहरूले प्रतिकिलो एक सय ८० रुपैयाँमा किवी बिक्री गरेका थिए । सुरुवातका वर्षमा प्रतिकिलो दुई सय ५० रुपैयाँसम्म मूल्य पाएका किसानले उत्पादन गरेको किवीको उत्पादन बढेसँगै उचित बजारको अभाव देखिन थालेको मुसुङका किसान लालबहादुर घर्तीले बताए ।

    किवी पकेट क्षेत्रका रुपमा विकास भइरहेको भकिम्लीमा बेनी नगरपालिकाले नयाँ बिरुवा विस्तार, पोल बनाउने र तार तान्ने तथा बगैँचा व्यवस्थापन र फलको गुणस्तर कायम गराउन अनुदान, तालिम र परामर्श सेवा उपलब्ध गराएको बेनी नगरपालिकाका उपमेयर ज्योति लामिछानेको भनाइ छ ।उनका अनुसार भकिम्लीको सिममा किवी भण्डारणका लागि गण्डकी प्रदेश सरकार, बेनी नगरपालिका र स्थानीयको लागत साझेदारीमा चिस्यान घर बनाउन सुरु गरिएको छ । नगरपालिकाले किसानलाई किवीबाट जुस बनाउने तालिम प्रदान गर्ने जनाएको छ ।

    किवी समुद्री सतहदेखि एक हजार पाँच सय मिटरको उचाइदेखि दुई हजार पाँच सय मिटरको उचाइसम्म खेती गरिन्छ ।अमिलो र गुलियो स्वाद पाइने किवीलाई खेती गर्न प्रतिआठ वटा पोथी बिरुवा बराबर एक भाले बिरुवा लगाउनुपर्छ । लहरा भएर फैलिने किवी एक रोपनीमा १५ वटासम्म बिरुवा लगाउन सकिन्छ । (रासस)

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend