भोजपुर, २७ भदौ । भोजपुरमा उत्पादित अकबरे (डल्ले) खुर्सानीले देशका प्रमुख शहरमा बजार विस्तार गर्न थालेपछि किसानको आम्दानीको स्रोतसमेत बलियो बन्दै गएको छ । सडक सञ्जाल विस्तारसँगै गाउँमै पुगेर व्यापारीले खुर्सानी खरिद गर्न थालेपछि भोजपुरको अकबरे खुर्सानी काठमाडौं, धरान, विराटनगर, झापालगायतका शहरमा पुग्न थालेको हो ।
अकबरे खुर्सानीको व्यावसायिक खेती जिल्लाका अधिकांश किसानका लागि राम्रो आम्दानीको माध्यम बनेको छ । परम्परागत खाद्यान्न बालीको तुलनामा खुर्सानी खेतीबाट बढी आम्दानी हुने भएपछि किसान व्यावसायिक उत्पादनतर्फ आकर्षित भएका छन् । हाल स्थानीय बजारमा किसानले प्रतिकेजी १५० देखि २०० रुपैयाँसम्ममा अकबरे खुर्सानी बिक्री गर्दै आएका छन् ।
पौवादुङमा गाउँपालिका–२ तिवारीभञ्ज्याङका किसान टिकाराम तिवारीका अनुसार स्थानीय सङ्कलन केन्द्रबाट मात्रै दैनिक ३०० देखि ४०० किलोसम्म अकबरे खुर्सानी बाह्य जिल्लाका बजारमा पठाइन्छ । सडक सुविधा पुगेपछि व्यापारी किसानका खेतबारी तथा सङ्कलन केन्द्रमै पुगेर खुर्सानी खरिद गर्ने गरेका छन् ।
तिवारी विगत पाँच वर्षदेखि आफैँ खुर्सानी खेती गर्नुका साथै अन्य किसानले उत्पादन गरेको खुर्सानी सङ्कलन गरी बाह्य बजारमा पठाउँदै आउनुभएको छ ।
“स्थानीयस्तरमा उत्पादन भएको खुर्सानी बाह्य जिल्लामा पठाउँदै आएको छु,” उनले भने, “तिवारीभञ्ज्याङबाट मात्र दैनिक ४०० किलोसम्म खुर्सानी शहरी क्षेत्रमा गइरहेको छ ।”
भोजपुर नगरपालिका–५ बोखिमकी किसान कमला थापाका अनुसार अहिले उत्पादित खुर्सानी बिक्री तथा बजारीकरणमा ठूलो समस्या छैन । भोजपुरको पहाडी हावापानीमा उत्पादन हुने अकबरे खुर्सानी पिरो र स्वादिलो हुने भएकाले बाह्य जिल्लाका बजारमा यसको माग उच्च रहेको उनको भनाइ छ ।
५४५ हेक्टरमा खेती
कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख मुकेशकुमार यादवका अनुसार चालु वर्ष जिल्लामा करिब ५४५ हेक्टर क्षेत्रफलमा अकबरे खुर्सानी खेती भइरहेको छ । चालु वर्षको उत्पादन अझै बिक्री भइरहेकाले कुल उत्पादनको अन्तिम तथ्याङ्क तयार भइनसकेको केन्द्रले जनाएको छ ।
गत आर्थिक वर्षमा भने भोजपुरमा ५ हजार २३२ मेट्रिकटन अकबरे खुर्सानी उत्पादन भएको थियो । उक्त उत्पादनबाट जिल्लामा करिब २३ करोड रुपैयाँ भित्रिएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।
“अकबरे खुर्सानी भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ,” केन्द्र प्रमुख यादवले भने, “धेरै किसान खुर्सानीको व्यावसायिक खेतीमा आबद्ध छन् । यहाँको खुर्सानी बाह्य जिल्लामा ठूलो परिमाणमा निर्यात हुँदै आएको छ ।”
बजार विस्तारसँगै बढ्दै व्यावसायिक खेती
भोजपुरको अकबरे खुर्सानीको बजार विस्तारसँगै किसानको व्यावसायिक खेतीप्रतिको आकर्षण पनि बढेको छ । स्थानीय तहले समेत खुर्सानी खेती प्रवर्द्धन गर्न किसानलाई विभिन्न किसिमका अनुदान तथा सहयोग उपलब्ध गराउँदै आएका छन् ।
उत्पादन क्षेत्रसम्म सडक पहुँच, सङ्कलन केन्द्रको विकास र बाह्य बजारमा बढ्दो मागले भोजपुरको अकबरे खुर्सानीलाई स्थानीय उत्पादनबाट व्यावसायिक कृषि उपजका रूपमा स्थापित गर्न सहयोग पुगेको छ ।
किसानले उत्पादन बढाउँदै जाँदा प्रशोधन, प्याकेजिङ र ब्रान्डिङमा समेत लगानी बढाउन सके अकबरे खुर्सानीबाट जिल्लामै थप मूल्य सिर्जना हुने सम्भावना देखिएको छ । यसले किसानको आम्दानी बढाउनुका साथै रोजगारी र स्थानीय अर्थतन्त्रलाई समेत थप चलायमान बनाउन सक्ने देखिन्छ ।




.gif)





