images

२०८३ आश्विन २ गते

images
images
images

उदयपुरमा ९३ प्रतिशत बजेट खर्च, ६२ करोड फिर्ता

उदयपुरमा ९३ प्रतिशत बजेट खर्च, ६२ करोड फिर्ता

images
images
आइतवार, आषाढ २९ २०८२
आइतवार, आषाढ २९ २०८२
  • चालु आर्थिक वर्ष उदयपुरका संघीय सरकारमातहतका कार्यालयलाई प्राप्त कुल बजेटमध्ये ९३ प्रतिशत हिस्सा खर्च भएको छ। असार २५ राति १२:०० बजेसम्म जिल्लामा प्राप्त चालु र पुँजीगत रकममध्ये सो परिमाणको बजेट खर्च भएको हो।  कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) उदयपुरका अनुसार संघतर्फका ३२ कार्यालय र ८ स्थानीय तहमध्ये ६ तहलाई समेत गरी आर्थिक वर्ष ०८१/८२ मा खर्च गर्नेगरी सरकारले पुँजीगत र चालु दुवै शीर्षकमा गरी ८ अर्ब ९१ करोड ३७ लाख २९ हजार ७ सय ९ रुपैयाँ पठाएको थियो। प्राप्त रकममध्ये ८ अर्ब २९ करोड ४४ लाख २३ हजार ९ सय ६७ रुपैयाँ अर्थात् ९३.०५२ प्रतिशत खर्च भएको छ।  

    images
    images

    कोलेनिकाका सूचना अधिकारी कोष नियन्त्रक विकास भट्टराईका अनुसार संघतर्फ ३२ कार्यालय र ८ मध्ये ६ स्थानीय तहका लागि चालु वर्ष खर्च गर्नेगरी पुँजीगत बजेट १ अर्ब १० करोड १४ लाख ८५ हजार ८ सय ९४ रुपैयाँ प्राप्त भएको थियो। जसमा ९४ करोड १९ लाख ५४ हजार ६ सय ९४ रुपैयाँ २५ पैसा मात्र खर्च भएको छ।  पुँजीगत रकमको यो खर्च हिस्सा ८५.५१ प्रतिशत हो। बाँकी १५ करोड ९५ लाख ३१ हजार २ सय रुपैयाँ अर्थात् १४.४८ प्रतिशत हिस्सा रकम भने खर्च हुन नसकेर फिर्ता गएको कोष नियन्त्रक भट्टराईले बताए।  

    त्यसैगरी चालुतर्फ प्राप्त ७ अर्ब ८१ करोड २२ लाख ४३ हजार ८ सय १५ रुपैयाँमध्ये असारसम्म ७ अर्ब ३५ करोड २४ लाख ६९ हजार २ सय ७२ रुपैयाँ ७९ पैसा खर्च भएको छ। जुन रकम हिस्सा चालु खर्चको ९४.११ प्रतिशत हो। कुल रकमको ५.८८ प्रतिशत हिस्सा भने खर्च हुन नसकेर फिर्ता भएको छ। जसअनुसार ४५ करोड ९७ लाख ७४ हजार ५ सय ४३ रुपैयाँ फिर्ता भएको भट्टराईले बताए।  असार महिनामा मात्र चालुतर्फको बजेट ९० करोड ४७ लाख ४८ हजार ८ सय ४ रुपैयाँ २६ पैसा भुक्तानी भएको कोलेनिकाले जनाएको छ। पुँजीगततर्फ पनि असारमा मात्र ३१ करोड ५९ लाख ७ हजार १ सय २० रुपैयाँ ६९ पैसा भुक्तानी भएको कोलेनिकाले जनाएको छ।  

    images
    images

    खर्च हुन नसकेर उदयपुरबाट यस वर्ष झन्डै ६२ करोड रकम फिर्ता भएको छ। कोलेनिकाका आन्तरिक लेखापरीक्षण सहायक कृत रायमाझीका अनुसार यस वर्षको चालु र पुँजीगत दुवैतर्फ गरी ६१ करोड ९३ लाख ५ हजार ७ सय ४३ रुपैयाँ अर्थात् ६.९४ प्रतिशत बजेट फिर्ता भएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend