काठमाडौँ । पछिल्लो समय शिथिल बनेको घरजग्गा व्यवसायमा हाल आएर उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति अध्ययन प्रतिवेदनले गत आर्थिक वर्षमा घरजग्गाको कुल कारोबार रकम, सङ्ख्या, राजस्व र बैंक कर्जा प्रवाहमा वृद्धि देखाएको हो ।राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ एक आर्थिक वर्षमा कुल ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ । यो अघिल्लो आर्थिक वर्ष ३ खर्ब ८६ अर्ब १५ करोड रुपैयाँको भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै दोब्बरले बढी हो ।आर्थिक वर्षको चौथो त्रैमासमा मात्रै २ खर्ब ७५ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब २७ अर्ब ६१ करोड रुपैयाँ बराबर थियो ।
कारोबार सङ्ख्या र क्षेत्रफल दुवैमा वृद्धि
राष्ट्र बैंकको तथ्याङ्क अनुसार समीक्षा वर्षमा घरजग्गा कारोबार सङ्ख्यामा ४.७४ प्रतिशतको वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या १.८४ प्रतिशतले घटेको थियो ।चौथो त्रैमासलाई मात्र हेर्दा कुल कारोबार सङ्ख्या १२.२५ प्रतिशतले बढेको छ । यसैगरी, लिखत पारित अन्तर्गतको कारोबार सङ्ख्या १२.२८ प्रतिशत र राजीनामा कारोबार सङ्ख्या २२.८८ प्रतिशतले बढेको छ । कारोबार भएको कुल क्षेत्रफलमा पनि १५.४१ प्रतिशतको सुधार आएको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा क्षेत्रफल २.९८ प्रतिशतले घटेको थियो ।
राजस्व र पुँजीगत लाभकरमा पनि वृद्धि
घरजग्गा कारोबारमा आएको सुधारसँगै सरकारी राजस्व सङ्कलनमा समेत भारी वृद्धि भएको छ ।समीक्षा अवधिमा घरजग्गा कारोबारबाट उठ्ने राजस्व ४८.२६ प्रतिशतले बढेको छ । चौथो त्रैमासमा मात्रै कुल २३ अर्ब ५० करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । जसमा रजिस्ट्रेसन दस्तुर १२ अर्ब १० करोड, लाभकर १० अर्ब र अन्य १ अर्ब ४० करोड छ ।घरजग्गाबाट उठ्ने पुँजीगत लाभकरमा ६३.२२ प्रतिशतको उच्च वृद्धि देखिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो २९.१८ प्रतिशतले बढेको थियो ।घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा (आवासीय घरजग्गा कर्जासहित) समीक्षा अवधिमा ६.१३ प्रतिशतले बढेको छ । योसँगै घरजग्गा क्षेत्रमा गएको कुल कर्जा ७ खर्ब ४१ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको चौथो त्रैमासमा यस्तो कर्जा ५.८६ प्रतिशतले बढेको थियो ।
प्रदेशगत अवस्था : बागमती अगाडि, मधेस सुस्त
बागमती प्रदेशमा घरजग्गाको राजीनामा कारोबार सङ्ख्या सबैभन्दा धेरै ६९.३८ प्रतिशतले बढेको छ । त्यस्तै, कारोबार क्षेत्रफल ५०.२४ प्रतिशत र कारोबारको कुल मूल्य १७५.३३ प्रतिशतले बढेको छ ।मधेस प्रदेशमा भने राजीनामा कारोबार ३.४४ प्रतिशत र क्षेत्रफल ६.१९ प्रतिशतले घटेको छ । यद्यपि, कारोबार मूल्य भने ३१.९८ प्रतिशतले बढेको छ ।सातवटै प्रदेशमा २.५ आनादेखि १० आना क्षेत्रफलका घडेरी÷प्लटहरूको कारोबार सबैभन्दा बढी भएको पाइएको छ । काठमाडौँ महानगरपालिकामा घरजग्गा कारोबार सङ्ख्या सबैभन्दा धेरै १५५.७४ प्रतिशतले बढेको छ । त्यसपछि ललितपुर १३६.९२ प्रतिशत, पोखरा १०८.७१ प्रतिशत, भरतपुर ६३.०४ प्रतिशत, विराटनगर ४७.५९ प्रतिशत र वीरगञ्ज २९.१९ प्रतिशत रहेका छन् । काठमाडौँ महानगरमा कारोबार भएको क्षेत्रफल २०८.२२ प्रतिशत र कुल मूल्य २१७.४० प्रतिशतले बढेको छ ।




.gif)





