काठमाडौँः धनुषा,लामो समयदेखि वर्षाको पर्खाइमा रहेका धनुषाका किसानलाई शुक्रबार बेलुका देखिको वर्षाले राहत मिलेको छ। समयमै पानी नपर्दा रोपिएको धान सुक्न थालेको र खेतमा धाँजा फाट्ने अवस्था आएको बेला वर्षा भएपछि किसानको अनुहारमा मुस्कान फर्किएको छ।
क्षीरेश्वरनाथ नगरपालिका–४, हरैयाका किसान दिपो यादव भन्छन्, रोपाइँको बेला पानी नहुँदा ठूलो समस्या थियो, अहिले पानी परेपछि केही राहत महसुस भएको छ।
धनुषा जिल्लामा कुल ४८ हजार ७६० हेक्टर जमिन धानखेतीका लागि उपयुक्त भए पनि पछिल्लो समय ४२ हजार हेक्टरमा मात्र धान रोपिने गरेको छ। कृषिज्ञान केन्द्र धनुषाका प्रमुख डा. रामचन्द्र यादवका अनुसार जिल्लाका ६५ प्रतिशत खेतमा आकाशे पानीको भरमा धानखेती हुँदै आएको छ। वर्षा भएकोले अब रोपाइँको अवस्था सुधारिनेछ, उनले बताए।
जिल्ला समन्वय समिति धनुषाका पूर्वसभापति तथा ६५ वर्षीय अनुभवी किसान रामदेव यादवले धानखेती महँगो बन्दै गएको र मौसमसमेत असहयोगी हुँदै गएको गुनासो गरे। धान उत्पादनको लागत त बढेको छ, तर बजार मूल्य लागतअनुसार नपाइने हुँदा किसान मर्कामा परेका छन्, उनले भने।
कृषि जनगणना २०७८ अनुसार धनुषामा करिब सात लाख जनसङ्ख्या मध्ये ७० प्रतिशत किसान धानखेतीमा संलग्न छन्। यद्यपि पछिल्लो दशकमा जिल्लामा धानखेती विस्तारै घट्दो क्रममा रहेको देखिन्छ।
जिल्लाका १८ स्थानीय तहमध्ये गणेशमान चारनाथ, मिथिला र क्षीरेश्वरनाथ नगरपालिका तथा बटेश्वर गाउँपालिका बाहेक अन्य १४ पालिकामा किसानले व्यावसायिक रूपमा धानखेती गर्दै आएका छन्।




.gif)





