काठमाडौँ । असोज १२, गत भदौ २३ र २४ गते जेनजी पुस्ताले आयोजना गरेको आन्दोलनका कारण मुलुकभर क्षतिग्रस्त भएका भौतिक संरचनाका लागि हालसम्म रु २३ अर्ब ३९ करोड २७ लाख बराबरको बीमा दाबी परेको छ।
नेपाल बीमा प्राधिकरणका अनुसार बीमा दाबीको संख्या दिनप्रतिदिन बढिरहेको छ। हालसम्म २,९८८ वटा बीमा दाबीका आवेदन परेकोमा सबैभन्दा धेरै सम्पत्ति बीमा (५९४) र मोटर बीमा (२,२०९) रहेका छन्। यस्तै, इञ्जिनियरिङ तथा ठेक्का जोखिम बीमा १४४, परिवहन बीमा ११ र अन्य बीमामा ३० वटा आवेदन परेका छन्।
प्रदेशगत विवरण अनुसार बागमती प्रदेशमा सर्वाधिक १,६०८ वटा दाबी दर्ता भएका छन्। त्यसपछि कोशी (३७७), मधेश (३२३), लुम्बिनी (२५४), गण्डकी (२१९), सुदूरपश्चिम (१८२) र कर्णाली (२५) मा बीमा दाबी परेका छन्।
प्राधिकरणले दिएको जानकारी अनुसार, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा मात्र रु ५ अर्ब ४५ करोड ९३ लाख बराबरको बीमा दाबी परेको छ। अन्य प्रमुख बीमा दाबीहरूमा दि ओरियन्टल इन्स्योरेन्स (५ अर्ब २३ करोड), आइजिआई प्रुडेन्सियल (२ अर्ब ७९ करोड), शिखर इन्स्योरेन्स (२ अर्ब ३९ करोड) र सगरमाथा लुम्बिनी इन्स्योरेन्स (१ अर्ब ५७ करोड) रहेका छन्।
हालसम्म १४ वटा निर्जीवन बीमा कम्पनी र ४ माइक्रो इन्स्योरेन्स कम्पनीहरूमा दाबी परेका छन्। भौतिक क्षति अझै खुलेको हुनाले दाबीको संख्या र रकम बढ्ने अनुमान गरिएको छ।




.gif)





