काठमाडौँ । नेपाल, स्याङ्जा जिल्लाका गल्याङ बजार नजिकैको फलाङ गाउँमा १९९८ साल वैशाख २४ गते जन्मेका ८६ वर्षीय समाजसेवी टेकनाथ न्यौपाने नेपाली समाजसेवा, संस्कृत शिक्षाको परम्परा र स्थानीय विकासको प्रतीकका रूपमा परिचित छन्।

श्री बलभद्र न्यौपाने र श्रीमती देउरुपा न्यौपानेका छोरा टेकनाथ न्यौपाने बाल्यकाल देखि नै संस्कृत अध्ययन र सामाजिक योगदान प्रति समर्पित थिए। ब्राह्मण परिवारमा जन्मिएका उहाँका बुबा बलभद्र न्यौपाने पोखराको प्रसिद्ध गुरुकुलमा संस्कृत, ज्योतिष र कौमदी अध्ययन गर्ने कुशल विद्यार्थी थिए। यही शैक्षिक परम्परालाई निरन्तरता दिँदै टेकनाथ न्यौपानेले वेद, चण्डी, मादोदी भासोती र ज्योतिष शास्त्रको अध्ययन गर्नुभयो।
सोती प्रणालीबारे मौखिक इतिहास, टेकनाथ न्यौपानेका अनुसार, सोती प्रथाको कथा उहाँका हजुरबुबा बालानन्द न्यौपानेबाट मौखिक रूपमा हस्तान्तरण भएको हो। बालानन्दकी आमा वामा न्यौपानेले आफ्ना पति जगन्नाथ न्यौपानेको मृत्युपछि चितामा आत्मदाह गरेकी थिइन्। त्यसपश्चात् एक वर्षको उमेरमै बालानन्द टुहुरा भएर ‘हेक्लाङ’ गाउँस्थित मामाको घरमा हुर्किएका थिए।
शिक्षा र विकासमा अग्रणी भूमिका, २०२१ सालमा टेकनाथ न्यौपानेले गल्याङ बजारमा स्वरसोती प्रावि (हाल भानुभक्त विद्यालय) स्थापना गरे। सरकारी सहयोग अपर्याप्त हुँदा उहाँले वस्तु विनिमय प्रणाली सुरु गर्नुभयो, जसअन्तर्गत स्थानीय बासिन्दाले मकै, गहुँ, कोदो र धान दान गरेर शिक्षकको पारिश्रमिकका लागि कोष जुटाउँथे। कहिलेकाहीँ शिक्षकहरूले यही उत्पादन नै ज्यालाको रूपमा प्राप्त गर्थे।
२०३७ सालमा उहाँले आँधीखोला पार गर्न झोलुङ्गे पुल निर्माणका लागि यातायात मन्त्रालयबाट स्वीकृति प्राप्त गर्नुभयो। यसअघि उहाँ सिद्धार्थ राजमार्ग निर्माणको उपविभागमा सुपरिवेक्षकको रूपमा कार्यरत हुनुहुन्थ्यो। ती समयमा नेपालमा पञ्चायत व्यवस्था हुँदा यी कार्यहरू सम्पन्न गर्नु साहसिक र चुनौतीपूर्ण थियो।
अन्तर्राष्ट्रिय अनुभव र पारिवारिक गौरव, लगभग २५ वर्षअघि अमेरिका र ८ वर्षअघि अष्ट्रेलिया भ्रमण गरेका टेकनाथ न्यौपानेले विकसित राष्ट्रहरूको सामाजिक संरचना र विकास नीतिबारे गहिरो ज्ञान हासिल गर्नुभएको छ।
उहाँको जीवनमा विशेष खुशीको क्षण भनेको उहाँका नाति शिव न्यौपानेले अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री स्कट मोरिसनबाट प्रशंसा पत्र प्राप्त गरेको खबर सुन्नु हो। शिवले ‘Multicultural Food Dictionary’ लेखेर अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा योगदान दिएका थिए र विश्वस्तरमा नेपालको पहिलो खाद्य शब्दकोश संयोजन गर्ने लेखक बनेका थिए। यस उपलब्धिले टेकनाथ न्यौपानेको पारिवारिक तथा सामुदायिक प्रतिष्ठा झन् उच्च बनाएको छ।
समाजसेवाको विरासत, टेकनाथ न्यौपानेको जीवन नेपालका ग्रामीण समाजसेवीहरूका लागि प्रेरणाको स्रोत हो। शिक्षाको प्रसार, सांस्कृतिक मूल्यहरूको संरक्षण र स्थानीय विकासमा उहाँको योगदान अमूल्य छ।




.gif)





