काठमाडौँ, ३० असार । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका अवैतनिक राजस्व सल्लाहकारमा एफसिए भोजन अर्याल नियुक्त भएका छन्। मन्त्रीस्तरीय निर्णयअनुसार उनलाई राजस्व क्षेत्र हेर्ने जिम्मेवारीसहित अवैतनिक सल्लाहकारमा नियुक्त गरिएको हो।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. वाग्लेले अर्याललाई नियुक्तिपत्र हस्तान्तरण गर्दै सरकारले चालु आर्थिक वर्षका लागि निर्धारण गरेको १६ खर्ब रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न उनको विज्ञता, अनुभव र इमान्दार सल्लाह महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे।
नवनियुक्त सल्लाहकार अर्यालले सरकार र अर्थमन्त्रीले आफूलाई गरेको विश्वासलाई आफ्नो व्यावसायिक दक्षता, अनुभव र नतिजामुखी कार्यशैलीमार्फत सार्थक बनाउने प्रतिबद्धता जनाए।
स्याङ्जा स्थायी घर भएका एफसिए भोजन अर्याल विगत १५ वर्षदेखि लेखापरीक्षण तथा वित्तीय परामर्श क्षेत्रमा सक्रिय छन्। उनी चार्टर्ड एकाउन्टेन्ट (FCA) का रूपमा लेखापरीक्षण, कर परामर्श तथा वित्तीय व्यवस्थापनका क्षेत्रमा अनुभव हासिल गरेका व्यक्ति हुन्।




.gif)





