काठमाडौं,२४ गते कार्तिक । सरकारले झण्डै २० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार ट्रेजरी बिलको बोलकबोल मार्फत सोमबार १९ अर्ब ८५ करोड ५० लाख रुपैयाँ आन्तरिक ऋण उठाउने भएको हो ।
पछिल्लो समयमा बैंकहरुमा प्रशस्त तरलता रहेकाले ट्रेजरी बिल खरिदमा पनि मागभन्दा निकै धेरै आवेदन पर्ने गरेको छ । ट्रेजरी बिल खरिदका लागि उच्च प्रतिस्पर्धा हुँदा डिस्काउन्ट रेट पनि घटेको छ । ट्रेजरी बिल खरिदमा बैंकहरुबीच उच्च प्रतिस्पर्धा हुुँदा डिस्काउन्ट रेट घट्दै गएको हो ।हाल सबै प्रकारका ट्रेजरी बिलको डिस्काउन्ट रेट २.७५ प्रतिशत भन्दा तल रहेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार ५ अर्बको नयाँ तथा १४ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको नवीकरणसहित कुल १९ अर्ब ८५ करोड ५० रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल हुने जनाएको छ । १८२ दिन अवधिको ट्रेजरी बिल मार्फत सरकारले नयाँ ऋण उठाउन लागेको हो । यस्तै १८२ दिन अवधिको ९ अर्ब ८५ करोड ५० लाख तथा ३६४ दिन अवधिको ५ अर्ब बराबरको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुने जनाएको छ ।
ट्रेजरी बिलका लागि सोमबार (कात्तिक २४ गते) दिउँसो २ बजेसम्म बोलकबोल गर्न सकिने सूचनामा उल्लेख छ । जसअनुसार मंगलबार ट्रेजरी बिल जारी (वितरण) गरिनेछ । ट्रेजरी बिलको ब्याजदर बोलकबोलमार्फत तय हुन्छ ।पछिल्लो पटकको बोलकबोलमा ९१ दिने ट्रेजरी बिलमा २.३६ प्रतिशत र १८२ दिनेमा १.६१ प्रतिशत भारित औसत ब्याजदर तय भएको छ । बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी २.४९ प्रतिशत र सबैभन्दा कम १.२२ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए ।
पछिल्लो समयमा जारी भएका ट्रेजरी बिल खरिदका लागि झण्डै ७ गुणासम्म माग परेको छ । ट्रेजरी बिलको डिस्काउन्ट रेट ३ प्रतिशतभन्दा पनि तल झरेपछि प्रतिस्पर्धा झनै बढेको देखिन्छ । अहिले बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम पर्याप्त छ । अन्य क्षेत्रमा लगानी विस्तार हुन नसक्दा बैंकहरुले सरकारी ऋणपत्रमै लगानी गरेर भए पनि आम्दानी गर्न खोजिरहेका छन्, जसले गर्दा अल्पकालीन ब्याजदरहरु समेत घट्दै गएका हुन् ।एक वर्ष वा त्यसभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र ट्रेजरी बिल हो । ट्रेजरी बिल अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमका हुन्छन् ।




.gif)





