काठमाडौँ । मंसिर १८, चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकरभिट्टाबाट झण्डै रु ६ अर्ब २ करोड ७६ लाख ४५ हजार बराबरको पेट्रोलियम पदार्थ आयात गरिएको मेची भन्सार कार्यालयले जनाएको छ। पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ र मट्टितेल गरी पाँच प्रकारका इन्धन आयात भएको हो।
भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१।८२ को सोही अवधिको तुलनामा पेट्रोलियम आयात रु ११ करोड ९२ लाख ५४ हजार (२.०१%) ले बढेको छ।
आयात वृद्धिसँगै राजस्व सङ्कलन पनि उल्लेख्य रूपमा बढेको छ। चालु आवको पहिलो चार महिनामा पेट्रोलियम पदार्थबाट रु २ अर्ब ९६ करोड ८१ लाख ४५ हजार राजस्व संकलन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा २.९०% (रु ८ करोड ४१ लाख २२ हजार) ले धेरै हो।
इन्धन आयातको विवरण (पहिलो चौमासिक २०८२।८३)
पेट्रोलः ३५,१५६ किलोलिटर मूल्य रु ३ अर्ब १० करोड ५४ लाख
डिजेलः १८,४०८ किलोलिटर मूल्य रु १ अर्ब ७४ करोड ६८ लाख
एलपी ग्यासः ८,५५७ मेट्रिक टन मूल्य रु ८२ करोड ६३ लाख
एटिएफ (उड्डयन इन्धन)ः २,९०८ किलोलिटर मूल्य रु २६ करोड ३३ लाख
मट्टितेलः ५०८ किलोलिटर मूल्य रु ४ करोड ६१ लाख
मेची भन्सार कार्यालयले जनाएको छ कि पछिल्लो समय सीमावर्ती नाकाबाट पेट्रोलियम पदार्थको कारोबार स्थिर रूपमा वृद्धि भइरहेको छ।




.gif)





