काठमाडौँ । रामेश्वरप्रसाद खनाल नेतृत्वको अर्थ मन्त्रालयमा बैंक तथा वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखहरूसँग भेटघाट तथा छलफल भएको छ।
अर्थ मन्त्रालयमा सोमबार भएको उक्त भेटघाटमा विश्वनाथ पौडेल (गभर्नर, नेपाल राष्ट्र बैंक), चन्द्रकला पौडेल (अध्यक्ष, नेपाल बिमा प्राधिकरण) तथा सन्तोषनारायण श्रेष्ठ (अध्यक्ष, नेपाल धितोपत्र बोर्ड) को सहभागिता रहेको थियो।
भेटघाटका क्रममा अर्थमन्त्री खनालले आफ्नो कार्यकालमा समष्टिगत आर्थिक स्थायित्व कायम गर्न, लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न, पुँजीबजारलाई पारदर्शी र लगानीमैत्री बनाउन तथा आर्थिक सुशासन प्रवर्द्धन गर्न नियामक निकायहरूले खेलेको भूमिकाप्रति धन्यवाद व्यक्त गर्नुभएको अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेय ले जानकारी दिए।
त्यस अवसरमा नियामक निकायका प्रमुखहरूले पनि अर्थ मन्त्रालय सँगको सहकार्य फलदायी भएको उल्लेख गर्दै नेपालको बैंक तथा वित्तीय क्षेत्र सुदृढ बनाउन, वित्तीय अनुशासन कायम गर्न तथा समग्र आर्थिक प्रणालीलाई व्यवस्थित बनाउन मन्त्रालयले अवलम्बन गरेका नीति तथा मार्गनिर्देशन प्रति आभार व्यक्त गरेका थिए।
भेटघाटका क्रममा बैंक तथा वित्तीय क्षेत्रको स्थायित्व, लगानी अभिवृद्धि, वित्तीय प्रणालीको पारदर्शिता तथा पुँजीबजारको विकासका विषयमा समेत विचार आदान–प्रदान भएको जनाइएको छ।




.gif)





