काभ्रे १८ चैत । बिपी राजमार्ग अन्तर्गत भकुण्डे–नेपालथोक खण्डमा आज साँझदेखि अनिश्चितकालीन रूपमा यातायात सञ्चालन रोकिएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार आज साँझ ७ बजेदेखि उक्त क्षेत्रमा परेको भारी वर्षाका कारण रोशी खोला मा पानीको बहाव उच्च भएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै यातायात बन्द गरिएको हो।
प्रहरी नायब उपरीक्षक रविन विष्ट का अनुसार काभ्रेको दक्षिणी क्षेत्र पनौती, नमोबुद्ध, कटुञ्जे, मङ्गलटार तथा काभ्रेभञ्ज्याङलगायतका स्थानमा निरन्तर भारी वर्षा भइरहेकाले बाढीको जोखिम बढेको छ।
हाल सवारीसाधनहरूलाई धुलिखेलस्थित काभ्रेभञ्ज्याङ र सिन्धुलीको नेपालथोक क्षेत्रमा ‘होल्ड’ गरेर राखिएको छ। छिमेकी सिन्धुली जिल्ला सँग समन्वय गरेर यातायात व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले सर्वसाधारणलाई राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न तथा अर्को सूचना जारी नभएसम्म उक्त खण्डमा यात्रा नगर्न आग्रह गरेको छ।
यसअघि गत शुक्रबार साँझ परेको वर्षापछि रोशी खोलामा आएको बाढीले राजमार्ग करिब ३६ घण्टा अवरुद्ध बनाएको थियो। पछि आइतबार बिहानदेखि दुईतर्फी रूपमा सञ्चालनमा ल्याइएको थियो।




.gif)





