काठमाडौं । जल तथा मौसमजन्य विपद्को जोखिमसम्बन्धी पूर्वसूचना सर्वसाधारणसम्म प्रभावकारी रूपमा पुर्याउन नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच सम्झौता भएको छ। सम्झौताअनुसार जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई विपद्सम्बन्धी सूचना एसएमएसमार्फत पठाइनेछ।सम्झौतापत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. अर्चना श्रेष्ठले हस्ताक्षर गरेका छन्।सम्झौताअनुसार देशभरका विभिन्न जोखिमयुक्त स्थानमा रहेका नेपाल टेलिकमका सक्रिय ग्राहकलाई जल तथा मौसमजन्य प्रकोप तथा विपद्को पूर्वसूचना र आवश्यक जानकारी ‘११५५’ सर्टकोड प्रयोग गरी एसएमएसमार्फत पठाइनेछ।
यसअन्तर्गत वर्षा, हावाहुरी, चट्याङ, हिमपहिरो, हिमपात, हिमआँधी, तातो हावाको लहर (लु), शीतलहर, डढेलो, बाढी, आकस्मिक बाढी, पहिरो, हिमताल विस्फोट तथा डुबानलगायत विपद्का पूर्वसूचना प्रवाह गरिनेछ।जल तथा मौसम विज्ञान विभागले सम्भावित जोखिम क्षेत्र पहिचान गरी नेपाल टेलिकमलाई एसएमएस पोलिगन (SMS Polygon) उपलब्ध गराउनेछ। सोही आधारमा सम्बन्धित क्षेत्रमा रहेका ग्राहकलाई लक्षित गरी पूर्वसूचना पठाइने व्यवस्था गरिएको छ।
विभागले पश्चिम राप्ती, कन्काई, कोशी, बागमती, नारायणी, बबई, कर्णाली, महाकालीलगायत नदी तटीय क्षेत्र तथा अन्य सम्भावित जोखिम क्षेत्रको नक्सा, फ्ल्यास फ्लड पोलिगन तथा विपद्को प्रभाव अनुमान गर्न आवश्यक अन्य विवरण टेलिकमलाई उपलब्ध गराउनेछ।नेपाल टेलिकमले यस प्रकारको एसएमएस सेवा विगतदेखि नै निःशुल्क उपलब्ध गराउँदै आएको जनाएको छ। यसअघि ७ सय वटा सिममार्फत सेवा दिइँदै आएकोमा अब थप १ सय वटा सिमसहित ८ सय वटा डाटा सिम निःशुल्क उपलब्ध गराउने भएको छ।
नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच मौसमजन्य विपद्को पूर्वसूचना प्रवाहसम्बन्धी सहकार्य यसअघि आर्थिक वर्ष २०७३ देखि नै सञ्चालन हुँदै आएको छ।नेपाल टेलिकमको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सञ्चालन हुने यो सेवाबाट लाखौँ नागरिक लाभान्वित हुने र भविष्यमा समेत विपद् जोखिम न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।




.gif)





