images

२०८३ आश्विन २ गते

images
images
images

वर्षा हुन थालेपछि रोपाइँ तीव्र

वर्षा हुन थालेपछि रोपाइँ तीव्र

images
images
बिहिवार, आषाढ ३२ २०८३
बिहिवार, आषाढ ३२ २०८३
  • मध्यविन्दु (नवलपरासी), ३२ असार । नवलपरासी बर्दघाट सुस्तापूर्वमा यस वर्ष हालसम्म ८० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । जिल्लामा धानखेती हुने कूल १८ हजार ५०० हेक्टर क्षेत्रफलमध्ये करिब १४ हजार ८०० हेक्टरमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र नवलपुरका कृषि अर्थविज्ञ सञ्जय ढकालले जानकारी दिए ।

    images
    images

    उनका अनुसार लगातार वर्षा हुन थालेपछि तराई क्षेत्रका अधिकांश स्थानमा रोपाइँ तीव्र बनेको छ भने पहाडी भूभागका केही क्षेत्रमा अझै रोपाइँ जारी छ । गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका तथा हुप्सेकोट गाउँपालिकाका अधिकांश क्षेत्रमा रोपाइँ अन्तिम चरणमा पुगेको छ भने विनयी त्रिवेणी, बुलिङटार र बौदीकाली गाउँपालिकाका केही स्थानमा अझै रोपाइँ भइरहेको उनले बताए ।

    “मनसुन सुरुआतमा केही कमजोर रहे पनि पछिल्ला दिनमा पर्याप्त वर्षा भएपछि किसानले धमाधम रोपाइँ गरिरहेका छन्,” उनले भने, “मौसम अनुकूल रहे आगामी केही दिनमै अधिकांश क्षेत्रमा रोपाइँ सम्पन्न हुने अपेक्षा गरेका छौँ ।”

    images
    images

    कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको कूल ६१ हजार ३०० हेक्टर खेतीयोग्य जमिनमध्ये करिब ५५ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा पुगेको छ भने बाँकी ४५ प्रतिशत क्षेत्र अझै आकाशे पानीमै निर्भर छ । सिँचाइ सुविधा नपुगेका क्षेत्रका किसान वर्षाको भरमा रोपाइँ गर्नुपर्ने भएकाले रोपाइँको गति मौसमसँग प्रत्यक्ष रूपमा जोडिएको छ ।

    जिल्लामा मनसुली, सावित्री, अनदी, झिनुवा तथा विभिन्न हाइब्रिड जातका धानखेती हुँदै आएको छ । जिल्लामा धानको औसत उत्पादकत्व प्रतिहेक्टर करिब तीन टन रहेको अर्थविज्ञ ढकालले बताए ।

    गत आर्थिक वर्ष २०८२।८३ मा जिल्लामा करिब १८ हजार ६०० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । यस वर्ष धानखेती हुने क्षेत्रफल १८ हजार ५०० हेक्टर कायम गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि प्राविधिकका अनुसार आगामी केही दिन मौसम अनुकूल रहे यस वर्ष पनि लक्ष्यअनुसार सम्पूर्ण क्षेत्रमा रोपाइँ सम्पन्न हुने अपेक्षा गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend