काठमाडौं । नेपाल टेलिकमले हराएको वा बिग्रिएको भौतिक तथा ई–सिम (eSIM) पुनः प्राप्त गर्न अनलाइन आवेदनको व्यवस्था सुरु गरेको छ।
टेलिकमका अनुसार सेवाग्राहीले esim.ntc.net.np मा गई आवश्यक विवरण भरेर नयाँ सिमका लागि आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रिया पूरा गरेपछि ग्राहक स्वयं वा आफ्नो प्रतिनिधिमार्फत सम्बन्धित काउन्टरबाट सिम प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।
नयाँ सिमका लागि लाग्ने ५० रुपैयाँ शुल्क काउन्टरमै बुझाउनुपर्नेछ। ग्राहक स्वयं उपस्थित हुन नसकेमा आवेदन फाराममै प्रतिनिधिको नाम उल्लेख गर्नुपर्नेछ भने प्रतिनिधिले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा पेश गर्नुपर्ने टेलिकमले जनाएको छ।
टेलिकमले यस व्यवस्थाबाट हराएको वा बिग्रिएको सिम पुनः प्राप्त गर्ने प्रक्रिया थप सहज र छिटो हुने विश्वास व्यक्त गरेको छ।




.gif)





