images

२०८३ आश्विन २ गते

images
images
images

तीतो करेलाखेतीमा उज्यालो भविष्य खोज्दै महिलाहरू

तीतो करेलाखेतीमा उज्यालो भविष्य खोज्दै महिलाहरू

images
images
सोमवार, श्रावण ४ २०८३
सोमवार, श्रावण ४ २०८३
  • जनकपुरधाम । एक समय घरधन्दामा सीमित महोत्तरीको सम्सी गाउँपालिका–७ सम्सीका महिलाहरू आजभोलि करेलाको हरियालीसँगै आफ्नो जीवनको उज्यालो भविष्य कोर्दै छन्।सामूहिक प्रयास, निरन्तर मेहनत र व्यावसायिक सोचले सम्सीका महिलाहरुलाई आत्मनिर्भर मात्र बनाएको छैन, गाउँमै सम्मानित कृषक–उद्यमीका रूपमा समेत स्थापित गरेको छ । सम्सी गाउँपालिकाका विभिन्न वडामा महिलाहरूले समूह बनाएर व्यावसायिक रुपमा करेलाखेती सुरु गरेका छन्।केही वर्षअघिसम्म परम्परागत खेतीमा सीमित उनीहरू अहिले आधुनिक प्रविधि अपनाएर करेलाको उत्पादन गर्दै स्थानीय बजारसँगै जनकपुर, जलेश्वर, गौशाला, बर्दिबास र छिमेकी जिल्लासम्म बिक्री गर्न थालेका छन्।

    images
    images

    बिहान सबेरै खेतमा पुगेर लहराको स्याहार, सिँचाइ, मल व्यवस्थापन र टिपाइमा व्यस्त देखिने महिलाहरूको अनुहारमा थकानभन्दा बढी आत्मविश्वास झल्किन्छ । सम्सी गाउँपालिका–७ निवासी शैलीदेवी यादवका अनुसार करेलाखेतीबाट हुने नियमित आम्दानीले परिवारको दैनिक खर्च धान्न, छोराछोरीको पढाइ खर्च जुटाउन र बचत गर्न समेत सहज भएको छ।“पहिला घरबाहिर काम गर्ने अवसर कम थियो, अहिले आफ्नै गाउँमा खेती गरेर आम्दानी गर्न सकेका छौँ”, शैलीदेवी भनिन्, “परिवारको निर्णयमा पनि हाम्रो भूमिका बढेको छ ।” अघिल्लो वर्ष दुई कट्टामा लगाएको करेलाखेतीबाट राम्रो आम्दानी भएपछि यस वर्ष चार कट्ठा लगाएको उनको भनाइ छ।‘‘सुरुमा केही काम नगरी घरमा त्यतिकै समय बिताउँदै थिए”, सम्सी गाउँपालिका ७ कै रिमाकुमारी बैठाले भनिन्‘‘ तर अहिले समुह मार्फत करेला खेतीबारे जानकारी पाएपछि व्यवसायिक रुपमा करेला खेती गर्दै आएकी छु”, धानको सिजनमा धान बाली लगाउँछु र बाँकी जग्गामा करेलाखेती लगाएर आम्दानी गर्दै आएको उनी बताउँछिन्।

    उर्वर भूमि, सिँचाइको सुविधा र बजारसँगको सहज पहुँचका कारण सम्सीमा करेलाखेती विस्तार हुँदै गएको कृषि प्राविधिक महेश यादव बताउँछन् । उचित समयमा बीउ रोप्ने, बाँस र तारको सहायताले लहरा व्यवस्थापन गर्ने तथा जैविक मलको प्रयोग बढाउँदा उत्पादन र गुणस्तर दुवैमा सुधार आएको उनकाे भनाइ छ।महिलाहरूले उत्पादन गरेको करेला स्थानीय व्यापारीले खेतबाटै खरिद गर्ने गरेका छन्। बजार मूल्य अनुकूल हुँदा एक सिजनमै उल्लेख्य आम्दानी हुने भएकाले अन्य महिलाहरू पनि यसतर्फ आकर्षित हुन थालेका छन्। केहीले करेलासँगै काँक्रो, लौका, घिरौँला र अन्य मौसमी तरकारीको समेत मिश्रित खेती गर्दै जोखिम घटाउने प्रयास गरिरहेका छन्।करेला खेतीले आर्थिक लाभ मात्र दिएको छैन, महिलाहरूमा नेतृत्व क्षमता र आत्मविश्वास पनि बढाएको छ । सम्सी गाउँपालिका–७ वीभाकुमारी यादवको नेतृत्वमा गठन भएको ‘देवकी करेला बाली उत्पादक कृषक समूह’ अहिले महिलालाई आर्धिक उपार्जन तथा आत्मनिर्भर बन्ने केन्द्र बनेको छ । समूहमा आबद्ध २५ जना महिलाले घरायसी कामपछि बाँकी समयलाई करेलाखेतीमा लगाउन थालेका छन् ।समूहमा आबद्ध भएर महिलाहरूले बचत गर्ने, अनुभव आदानप्रदान गर्ने, नयाँ प्रविधि सिक्ने र बजार खोज्ने काम सामूहिक रूपमा गर्दै आएका छन् । यसले सामाजिक रूपमा पनि महिलाको भूमिका थप सशक्त बन्दै गएको स्थानीय अगुवा सुरेश ठाकुरले बताए।

    images
    images

    सरकारी तथा विकास साझेदार संस्थाले पनि व्यावसायिक तरकारीखेतीलाई प्राथमिकतामा राख्दै किसानलाई तालिम, प्राविधिक सहयोग, सिँचाइ पूर्वाधार र कृषि सामग्रीमा अनुदान उपलब्ध गराउने कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।विश्व बैंक र विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रमको आर्थिक सहयोगमा नेपाल सरकारको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फ्यानसेप नेपाल) आयोजना कलष्टर एकाइ धनुषाद्वारा सञ्चालित परियोजनाअन्तर्गत महिलालाई करेलाखेतीबारे आवश्यक ज्ञान सीपसँगै उन्नत बीउबिजन, औषधिलगायतका प्राविधि ज्ञान तथा अनुदान दिएपछि महिलाहरु व्यावसायिक रुपमा करेलाखेतीमा जुटेका हुन्।यस्ता कार्यक्रमले महिलालाई व्यवसाय विस्तार गर्न सहज बनाएको छ । परियोजनामार्फत अनुदानसँगै आधुनिक प्रविधि र व्यवस्थापनबारे जानकारी पाएपछि उत्पादनमा गुणस्तरीय सुधार आएको समूहका महिला कृषकहरू बताउँछन्।खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फ्यानसेप नेपाल) आयोजना कलष्टर एकाइ धनुषाका प्रशासन प्रमुख शिवनाथ शर्माका अनुसार परियोजनाअन्तर्गत करेलाखेतीका लागि सो महिला समूहमा २५ जना सदस्यलाई खेतीबारे पाठशालामार्फत ज्ञान सीप दिनुका साथै बीउबिजन, सिँचाइका लागि पानी तान्ने मोटरलगायतका सामग्री खरिदमा अनुदान उपलब्ध गराइएको छ।

    जलवायु सहनशीलता अभिवृद्धि गर्ने, कृषि उत्पादकत्व बढाउने तथा लक्षित साना कृषक समुदायको पोषण अभ्यासमा सुधार ल्याउने उद्देश्यले धनुषाको बटेश्वर र जनकनन्दनी गाउँपालिकामा तथा महोत्तरीको सम्सी र सोनमा गाउँपालिकामा उक्त परियोजना सञ्चालनमा छन्।परियोजनाअन्तर्गत दुई जिल्लाका चार पालिकामा ५५३ वटा समूह सक्रिय रहेको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फ्यानसेप नेपाल) आयोजना कलष्टर एकाइ धनुषाले जनाएको छ । एकाइका कार्यालय प्रमुख रविलाल शर्माका अनुसार सक्रिय रहेका ४०० समूहलाई साना अनुदान, पूरक अनुदान, प्रवर्द्धन कार्यक्रम अनुदान र घरबारी पोषण बगैँचा योजनामार्फत समूहको कामको मूल्याङ्कन गरी अनुदान सिधै किसानहरुको खातामा पठाउँदै आएको छ । सीमान्तकृत, साना किसान, गर्भवतीलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको प्रमुख शर्माको कथन छ।तरकारीखेतीमा महिलाको सक्रिय सहभागिताले ग्रामीण अर्थतन्त्रलाई गतिशील बनाइरहेको कृषिविज्ञ तथा परियोजनाका कृषि अधिकृत शिवचन्द्र झा बताउँछन् । उत्पादनसँगै प्रशोधन, प्याकेजिङ र बजारीकरणमा ध्यान दिनसके करेलाखेती अझ बढी आम्दानीको स्रोत बन्न सक्ने उनको सुझाव छ।बीउ, मल, विषादीको मूल्यवृद्धि, बजार मूल्यमा हुने उतारचढाव, बालीमा लाग्ने रोग–कीरा तथा पर्याप्त शीतभण्डारणको अभावलाई मुख्य चुनौतीका रूपमा रहेको महिला किसानहरु बताउँछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend