काठमाडौं । आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले आर्थिक वर्ष २०८२।८३ मा लक्ष्यभन्दा निकै कम राजस्व संकलन गरेको छ। कार्यालयले ३ अर्ब ३९ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखे पनि २ अर्ब ३१ करोड ५९ लाख ३१ हजार रुपैयाँ मात्र संकलन गर्न सफल भएको हो। यो लक्ष्यको करिब ६८ प्रतिशत मात्र हो।
कार्यालयका अनुसार आयकरबाट ९९ करोड ८६ लाख रुपैयाँ, मूल्य अभिवृद्धि कर (भ्याट) बाट ५१ करोड ५७ लाख रुपैयाँ तथा अन्तःशुल्कबाट ८० करोड १५ लाख रुपैयाँ राजस्व संकलन भएको छ।
अघिल्लो वर्षको तुलनामा पनि घट्यो राजस्व
आर्थिक वर्ष २०८१।८२ मा कार्यालयले २ अर्ब ४१ करोड ८० लाख ५१ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो। यसअनुसार गत आर्थिक वर्षमा १० करोड २१ लाख २० हजार रुपैयाँ कम राजस्व उठेको देखिन्छ।
भौतिक पूर्वाधार क्षेत्रमा ठूलो गिरावट
मूल्य अभिवृद्धि करतर्फ सबैभन्दा ठूलो गिरावट भौतिक पूर्वाधार (ठेक्का निर्माण) क्षेत्रबाट देखिएको छ। अघिल्लो आर्थिक वर्षमा यस शीर्षकबाट ३२ करोड ९३ लाख १५ हजार रुपैयाँ संकलन भएकोमा गत वर्ष २० करोड ७१ लाख ८७ हजार रुपैयाँ मात्र उठेको छ, अर्थात् १२ करोड २१ लाख २८ हजार रुपैयाँले कमी आएको छ।
यस्तै, वस्तु उत्पादनबाट ३ करोड २१ लाख ६५ हजार रुपैयाँ, बिक्री–वितरणबाट १९ करोड ३० लाख ८७ हजार रुपैयाँ, पर्यटन, उद्योग तथा बीमाबाट १ करोड ४९ लाख ११ हजार रुपैयाँ, ढुवानी सेवाबाट ६ करोड ८२ लाख ४८ हजार रुपैयाँ र हवाई टिकट सेवाबाट १ लाख ३४ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
मदिराबाट सबैभन्दा बढी अन्तःशुल्क
अन्तःशुल्कतर्फ मदिराबाट ६५ करोड २९ लाख १८ हजार रुपैयाँ राजस्व संकलन भएको छ। यस्तै, तमाखु, बिँडी तथा चुरोटबाट २ करोड ५ लाख ९९ हजार रुपैयाँ र अन्य औद्योगिक वस्तु उत्पादनबाट १४ करोड ६० लाख ९ हजार रुपैयाँ उठेको छ। बार शीर्षकमा भने शून्य राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
धेरै शीर्षकमा शून्य राजस्व
स्वास्थ्य, शिक्षा, प्रदूषण, वैदेशिक रोजगारी, डिजिटल सेवा, वैदेशिक पर्यटन, चिठ्ठा तथा अन्य आय–लगानी शीर्षकमा गत आर्थिक वर्ष शून्य राजस्व संकलन भएको छ।
सुनचाँदीमा २ प्रतिशत करबाट १.८३ करोड
सरकारले अघिल्लो आर्थिक वर्षमा विलासिताका वस्तुमा लगाएको २ प्रतिशत कर अन्तर्गत सुनचाँदी तथा बहुमूल्य गरगहनाको कारोबारबाट १ करोड ८३ लाख ७५ हजार रुपैयाँ राजस्व उठेको छ। चालु आर्थिक वर्षदेखि भने उक्त कर हटाएर सुनचाँदीका गरगहनामा (सिपकलासहित) ०.५ प्रतिशत कर लागू गरिएको छ।
विकास निर्माण सुस्त हुँदा राजस्व प्रभावित
आन्तरिक राजस्व कार्यालय कञ्चनपुरका कर अधिकृत एवं सूचना अधिकारी विजय भुसालका अनुसार लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्नुको मुख्य कारण भौतिक पूर्वाधार निर्माण सुस्त हुनु, उत्पादन र उपभोग घट्नु तथा ठेक्कापट्टा योजनाबाट प्राप्त हुने राजस्वमा कमी आउनु हो।
उनका अनुसार जिल्लामा विकास निर्माणका गतिविधि कमजोर भएकाले अघिल्लो वर्षको तुलनामा राजस्व घटेको हो।
कार्यालयका प्रमुख कर अधिकृत हरि आचार्यले कर प्रणाली प्रभावकारी बनाउन करदाताको जिम्मेवारी पनि उत्तिकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै आय आर्जन गर्ने सबै नागरिक तथा व्यवसायीलाई कर तिर्न उत्साहपूर्वक सहभागी हुन आग्रह गरेका छन्।
यस्तै, कञ्चनपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष पिताम्बर जोशीले व्यापार–व्यवसाय सुस्ताउनु, उपभोग घट्नु र कर प्रणाली समयानुकूल नहुनु राजस्व घट्नुका प्रमुख कारण रहेको बताए। उनले आन्तरिक आय बढाउन राज्यले व्यापार प्रवर्द्धन र आर्थिक गतिविधि विस्तारमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन्।




.gif)





