काठमाडौं । लामो समयदेखि रोकिएको नेपाल विद्युत् प्राधिकरणको विद्युत् पोल भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा आएको छ । यससँगै इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले विद्युत् पोल भाडा बक्यौता भुक्तानी प्रक्रिया सुरु गरेको छ ।नेपाल विद्युत् प्राधिकरणअन्तर्गत वितरण तथा ग्राहक सेवा निर्देशनालयको बागमती प्रदेश डिभिजनल कार्यालयमार्फत वर्ल्डलिंकले आर्थिक वर्ष २०८२/८३ को स्वःघोषणाका आधारमा निर्धारण गरिएको पोल भाडा रकममध्ये कर कट्टीपछिको रकम भुक्तानी प्रक्रिया अघि बढाएको हो ।कम्पनीका अनुसार आर्थिक वर्ष २०८१/८२ को हकमा नेपाल विद्युत् प्राधिकरणसँग संयुक्त रूपमा गरिएको पोल तथा डीबी बक्सको प्रमाणीकरणका आधारमा हिसाब मिलान गरिएको छ । यसक्रममा यसअघि भएको दोहोरो भुक्तानीसमेत समायोजन गरी बाँकी रकम भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।
यसैबीच, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राज्यको पूर्वाधार प्रयोग गर्ने सबै सेवा प्रदायकले कानुनअनुसार तिर्नुपर्ने शुल्क समयमै भुक्तानी गर्नु दायित्व भएको बताए ।उनले वर्ल्डलिंकबाट सुरु भएको भुक्तानी प्रक्रियालाई सकारात्मक सुरुआतको रूपमा लिँदै अन्य सेवा प्रदायकहरूले पनि कानुनबमोजिम आफ्नो दायित्व पूरा गर्ने विश्वास व्यक्त गरे ।मन्त्री श्रेष्ठले सरकार विधिको शासन र कानुनको निष्पक्ष कार्यान्वयनमा प्रतिबद्ध रहेको उल्लेख गर्दै कार्यान्वयनका क्रममा देखिने व्यावहारिक समस्या कानुनको सीमाभित्र रहेर समाधान गरिने बताए ।कानुन कार्यान्वयनलाई अनावश्यक रूपमा राजनीतिक रंग दिने वा भ्रम सिर्जना गर्ने प्रयासप्रति सचेत रहन आग्रह गर्दै उनले सबैका लागि समान रूपमा कानुन कार्यान्वयन हुने सरकारको नीति रहेको स्पष्ट पारे ।




.gif)





