images

२०८३ आश्विन २ गते

images
images
images
  • कृषि
  • कोदोको पुनर्जागरण स्वास्थ्य, खाद्य सम्पदा र...
अर्थसमाचार संवाददाता

कोदोको पुनर्जागरण स्वास्थ्य, खाद्य सम्पदा र विश्व बजारमा नेपालको अवसर

कोदोको पुनर्जागरण स्वास्थ्य, खाद्य सम्पदा र विश्व बजारमा नेपालको अवसर

images
images
शनिवार, श्रावण १६ २०८३
शनिवार, श्रावण १६ २०८३
  • काठमाडौँ । नेपालको रैथाने अन्नमध्ये कोदो (मिलेट) अहिले पुनः चर्चामा छ। एक समय ग्रामीण भान्सा र परम्परागत परिकारमा सीमित रहेको कोदो आज विश्वव्यापी रूपमा ‘सुपरफुड’का रूपमा स्थापित हुँदै गएको छ। बढ्दो स्वास्थ्य सचेतना, ग्लुटेनरहित आहारप्रतिको आकर्षण र दिगो कृषि प्रणालीको आवश्यकताले कोदोको महत्व दिनप्रतिदिन बढिरहेको छ। विज्ञहरूका अनुसार नेपालका लागि कोदो केवल परम्परागत अन्न मात्र नभई खाद्य सुरक्षा, पोषण, पर्यटन, ग्रामीण अर्थतन्त्र र निर्यात व्यापारको नयाँ आधार बन्न सक्ने सम्भावना बोकेको बाली हो।

    images
    images

    ‘अलिदेखि थालीसम्म’ अभियानका अभियन्ता, ‘खाने कथा’ रेडियो कार्यक्रमका प्रस्तोता, ‘भान्सालय’ टेलिभिजन कार्यक्रम तथा नेपाली कलिनरी स्कुलका सञ्चालक लक्ष्मण प्रसाद भण्डारीले नेपालको रैथाने अन्नलाई विश्व बजारमा स्थापित गर्ने उपयुक्त समय आएको बताएका छन्। अर्थसमाचारका अष्ट्रेलिया संवाददाता तथा नेपालको पहिलो खाद्य शब्दकोश ‘फलाङ फुड डिक्सनरी’ का लेखक शिव न्यौपानेसँगको संवादमा उनले कोदोसहितका रैथाने बालीलाई राष्ट्रिय प्राथमिकतामा राखेर प्रवर्द्धन गर्नुपर्ने धारणा व्यक्त गरे।

    पोषणको भण्डार
    स्वास्थ्य विज्ञहरूका अनुसार कोदो अत्यन्त पोषिलो अन्न हो। चामलको तुलनामा यसमा क्याल्सियम, फाइबर, म्याग्नेसियम, जिंक र विभिन्न सूक्ष्म पोषक तत्त्व उल्लेखनीय मात्रामा पाइन्छ। यी पोषक तत्त्वले हड्डी बलियो बनाउन, पाचन प्रणालीलाई स्वस्थ राख्न, मुटुको स्वास्थ्य सुधार्न तथा रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुर्‍याउने मानिन्छ।

    images
    images

    ग्लुटेनरहित र कम ग्लाइसेमिक इन्डेक्स भएको कारण मधुमेह भएका व्यक्तिका लागि पनि कोदो उपयोगी खाद्यान्नका रूपमा लिइन्छ। पछिल्ला वर्षहरूमा स्वस्थ जीवनशैली अपनाउने उपभोक्ताहरूबीच यसको माग उल्लेखनीय रूपमा बढ्दै गएको छ।

    परम्परागत भान्साबाट अन्तर्राष्ट्रिय परिकारसम्म
    नेपालमा कोदोको प्रयोग परम्परागत रूपमा ढिँडो, रोटी, खोले, पुवा तथा स्थानीय पेय पदार्थमा हुँदै आएको छ। तर अहिले यसको प्रयोग आधुनिक परिकारमा समेत विस्तार भएको छ। तारे होटलदेखि आधुनिक रेस्टुरेन्टसम्म कोदोबाट मोमो, चाउमिन, पिज्जा बेस, पास्ता, बिस्कुट, कुकीज, केक तथा अन्य फ्युजन परिकार तयार हुन थालेका छन्।

    विश्वका विभिन्न मुलुकमा पनि कोदोको लोकप्रियता बढ्दै गएको छ। भारतमा रागीबाट इड्ली, डोसा, रोटी र लड्डू तयार गरिन्छ भने अफ्रिकामा उगाली, पोरिज र अन्य स्थानीय परिकारमा यसको प्रयोग हुन्छ। चीनमा नुडल्स र सूपमा तथा युरोप र अमेरिकामा ग्लुटेन–फ्री ब्रेड, प्यानकेक, मफिन, क्र्याकर्स, ब्रेकफास्ट सिरियल र हेल्थ स्न्याकका रूपमा कोदोले स्थान बनाउँदै गएको छ।

    राष्ट्रिय अभियान आवश्यक
    भण्डारीका अनुसार नेपाली कोदोलाई विश्व बजारमा स्थापित गर्न उत्पादन बढाउनु मात्र पर्याप्त हुँदैन। त्यसका लागि खाद्य सचेतना अभियान, पाककला प्रतियोगिता, अन्तर्राष्ट्रिय फुड फेस्टिभल, अनुसन्धान, ब्रान्डिङ, गुणस्तरीय प्रशोधन र प्रभावकारी बजार प्रवर्द्धनलाई समान प्राथमिकता दिनुपर्छ।

    उनले नेपाली खानाको अन्तर्राष्ट्रिय पहिचान निर्माण गर्ने जिम्मेवारी केवल शेफ, भान्से वा रेस्टुरेन्ट व्यवसायीको मात्र नभई खाद्य लेखक, अनुसन्धानकर्ता, सञ्चारकर्मी र नीति निर्माताहरूको पनि उत्तिकै महत्वपूर्ण रहेको बताए।

    खाद्य लेखकहरूको भूमिका
    भण्डारीले नेपालको खाद्य सम्पदाको दस्तावेजीकरणमा खाद्य लेखकहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै शिव न्यौपानेजस्ता लेखकहरूले नेपाली रैथाने खानाका साथै विश्व खाद्य संस्कृतिबारे निरन्तर अध्ययन, अनुसन्धान र लेखनमार्फत नेपाली खाद्य सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन योगदान पुर्‍याइरहेको बताए।

    उनका अनुसार यस्ता कृति र अनुसन्धानले नेपाली खाद्य संस्कृतिलाई विश्व समुदायसँग जोड्ने, पर्यटन प्रवर्द्धन गर्ने तथा नेपालको मौलिक पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न सहयोग पुर्‍याउँछन्।

    सरकार–निजी क्षेत्रको सहकार्य आवश्यक
    भण्डारीले सरकार, निजी क्षेत्र, शैक्षिक संस्था, कृषि अनुसन्धान निकाय तथा पर्यटन उद्योगबीच समन्वय गरी दीर्घकालीन रणनीति बनाउनुपर्नेमा जोड दिए। किसानदेखि शेफ, खाद्य उद्योग, अनुसन्धानकर्ता र निर्यातकर्तासम्मलाई समेट्ने नीति बनाएर उत्पादन, प्रशोधन, प्याकेजिङ, ब्रान्डिङ र अन्तर्राष्ट्रिय बजार विस्तारमा लगानी गर्नुपर्ने उनको सुझाव छ।

    उनका अनुसार यस्तो पहलले नेपाली रैथाने अन्नको व्यावसायीकरण, ग्रामीण रोजगारी सिर्जना, कृषकको आय वृद्धि र कृषि पर्यटनको विकासमा महत्वपूर्ण योगदान पुग्नेछ।

    निर्यातमुखी कृषि अर्थतन्त्रको आधार
    रातो कोदो, कालो कोदो, चिनो, कागुनोजस्ता रैथाने बालीहरूको संरक्षण, आधुनिक खेती प्रणाली, प्रशोधन उद्योगको विकास तथा प्रभावकारी बजार व्यवस्थापनमार्फत नेपालले आयात प्रतिस्थापनसँगै निर्यातमुखी कृषि अर्थतन्त्र निर्माण गर्न सक्ने सम्भावना रहेको भण्डारीको भनाइ छ।

    नेपाल सरकारले साउन १६ गतेलाई ‘राष्ट्रिय कोदो दिवस’ घोषणा गरी यसको संरक्षण र प्रवर्द्धनमा चासो देखाएको छ। विज्ञहरूका अनुसार अब दिवस मनाउने मात्र होइन, उत्पादनदेखि अन्तर्राष्ट्रिय बजारसम्म जोड्ने ठोस नीति र कार्यान्वयन आवश्यक छ।

    स्वास्थ्य, पोषण, वातावरणीय दिगोपन र आर्थिक सम्भावनाको दृष्टिले कोदो नेपालको भविष्यसँग जोडिएको महत्वपूर्ण बालीका रूपमा स्थापित हुँदै गएको छ। उचित नीति, अनुसन्धान, प्रविधि, ब्रान्डिङ र अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्न सके कोदो केवल विगतको परम्परा होइन, नेपालको खाद्य आत्मनिर्भरता, ग्रामीण समृद्धि र विश्व खाद्य बजारमा नयाँ पहिचान निर्माण गर्ने आधार बन्न सक्ने विज्ञहरूको विश्वास छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend