नेपालगन्ज, २५ साउन । नेपालगन्जमा बजार अनुगमनका क्रममा ग्यास सिलिन्डर लुकाएर राखेको आरोपमा एक किराना पसललाई रु ५० हजार जरिवाना गरिएको छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा खटिएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम रु ५० हजार जरिवाना गरेको हो ।
अनुगमनका क्रममा पसलमा लुकाएर राखिएका १३ वटा खाना पकाउने ग्यास सिलिन्डर फेला परेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । बजारमा ग्यासको अभाव तथा आपूर्तिमा अनियमितताको गुनासो बढिरहेका बेला पसलले सिलिन्डर लुकाएर राखेको पाइएको हो ।
अनुगमन टोलीले पसलबाट अखाद्य सामग्रीसमेत फेला पारेको जनाएको छ । उपभोक्तालाई आवश्यक पर्ने अत्यावश्यक वस्तु कृत्रिम अभाव सिर्जना हुने गरी लुकाउने वा अनियमितता गर्ने कार्य नियन्त्रण गर्न स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्रता दिएको हो ।
पछिल्लो समय नेपालगन्जमा खाना पकाउने ग्यासलगायत दैनिक उपभोग्य सामग्रीको अभाव, कालोबजारी तथा आपूर्तिमा अनियमितताको गुनासो बढेपछि प्रशासनले बजार अनुगमनलाई प्राथमिकता दिएको छ ।
स्थानीय प्रशासनले उपभोक्ताको अधिकार संरक्षण तथा बजारमा अत्यावश्यक वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।




.gif)





