images

२०८३ आश्विन २ गते

images
images
images
  • प्रविधि
  • हुलाक बन्दै सरकारी कुरियर, नागरिकको घरमै...

हुलाक बन्दै सरकारी कुरियर, नागरिकको घरमै पुग्दै महत्वपूर्ण कागजात

हुलाक बन्दै सरकारी कुरियर, नागरिकको घरमै पुग्दै महत्वपूर्ण कागजात

images
images
बिहिवार, श्रावण २८ २०८३
बिहिवार, श्रावण २८ २०८३
  • काठमाडौं, २८ साउन । हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री तथा नागरिकमैत्री बनाउँदै ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने सरकारको अभियानले गति लिएको छ। सरकारी कागजात तथा सामग्री ढुवानीसँगै राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्रलगायत सेवा नागरिकको घरदैलोमै पुर्‍याउने व्यवस्था विस्तार हुँदै गएको हो।

    images
    images

    हुलाक सेवा विभागका अनुसार हालसम्म हुम्लाबाहेक देशका सबै जिल्लामा सरकारी कागजात घरमै पुर्‍याउने व्यवस्था कार्यान्वयनमा आएको छ। हुम्लामा पनि सेवा सञ्चालनको अन्तिम तयारी भइरहेको विभागकी महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले जानकारी दिनुभएको छ।

    विभागका अनुसार २०८३ साउन २७ गतेसम्म ७६ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा २ लाख ४७ हजार ४३ थान राहदानी हुलाकमार्फत् ढुवानी गरिएको छ। तीमध्ये ८ हजार ६६९ थान राहदानी सेवाग्राहीको घरदैलोमै पुर्‍याइएको छ।

    images
    images

    त्यसैगरी, यातायात व्यवस्था विभागबाट प्राप्त १० लाख ३८ हजार ८०८ थान सवारी चालक अनुमतिपत्र सातै प्रदेशका यातायात कार्यालयमा हुलाकमार्फत् पुर्‍याइएको छ। तीमध्ये १ हजार ९९ थान लाइसेन्स सेवाग्राहीको घरमै वितरण गरिएको विभागले जनाएको छ।

    सवारी चालक अनुमतिपत्र घरदैलोमै पुर्‍याउने उद्देश्यले कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र हुलाक निर्देशनालय, सुर्खेतबीच समझदारी भई सेवा सुरु भइसकेको छ। सुदूरपश्चिममा पनि यस्तै सेवा विस्तार गर्ने तयारी भइरहेको छ।

    शैक्षिक प्रमाणपत्रदेखि स्वास्थ्य सामग्रीसम्म

    हुलाक सेवाको प्रयोग शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा समेत विस्तार भएको छ। नेपाल खुला विश्वविद्यालयसँग गत असार ८ गते भएको सम्झौतापछि शैक्षिक प्रमाणपत्र घरदैलोमै पुर्‍याउने सेवा सुरु भएको छ। त्रिभुवन विश्वविद्यालयसँग पनि यस्तै सम्झौता गर्ने विषयमा छलफल भइरहेको विभागले जनाएको छ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा १७ वटा अस्पतालका १ हजार ४८० प्रयोगशाला नमूना हुलाकमार्फत् ढुवानी गरिएको छ। स्वास्थ्य, शिक्षा तथा सूचना केन्द्रसँगको सम्झौताअनुसार ४४ हजार १८४ थान सामग्री पनि हुलाकमार्फत् ढुवानी गरिएको छ।

    त्यस्तै, स्वास्थ्य बीमा बोर्डसँगको सहकार्यमा २८ भन्दा बढी जिल्लाका स्वास्थ्य बीमा कार्यालयमा १३० बोरा स्वास्थ्य सामग्री पुर्‍याइएको विभागले जनाएको छ।

    भूमि व्यवस्था तथा अभिलेख विभागसँग साउन ८ गते भएको सम्झौतापछि जग्गाधनी पुर्जा तथा अन्य सरकारी कागजातसमेत हुलाकमार्फत् ढुवानी तथा वितरण गर्ने व्यवस्था मिलाइएको छ। नेपाल टेलिकमका सिमकार्डबाहेक अन्य सामग्रीको ढुवानीमा समेत हुलाक सेवा प्रयोग भइरहेको छ।

    ‘स्मार्ट हुलाक’मा रूपान्तरणको तयारी

    हुलाक सेवालाई परम्परागत चिठीपत्र आदानप्रदानमा सीमित नराखी आधुनिक सार्वजनिक सेवा प्रणालीका रूपमा विकास गर्न देशभरका हुलाक कार्यालयलाई क्रमशः ‘स्मार्ट हुलाक’ मा रूपान्तरण गर्ने अभियान अघि बढाइएको छ।

    यसका लागि आवश्यक मापदण्ड स्वीकृत गरी ५० वटा हुलाक कार्यालयलाई सूचना प्रविधिमा आधारित आधुनिक हुलाकका रूपमा विकास गर्न छनोट गरिएको छ। सेवा छिटो, सहज र कम खर्चिलो बनाउन डाँक मार्गको पुनरावलोकन गरी गत जेठ ३१ गते स्वीकृत गरिएको छ भने हुलाक सङ्केत प्रणालीलाई सात अङ्कीय बनाइएको छ।

    हुलाक सेवाको आन्तरिक निगरानी प्रणालीलाई थप व्यवस्थित गरी राहदानी विभागसँग प्रत्यक्ष जोड्ने विषयमा सम्बन्धित सरकारी निकायबीच छलफल तथा अध्ययनसमेत भइरहेको विभागले जनाएको छ।

    अन्तर्राष्ट्रिय हुलाक सेवा पनि सुधार हुँदै

    वैदेशिक हुलाक सेवालाई सहज बनाउन वैदेशिक हुलाक भन्सार कार्यालय तथा राष्ट्रिय वाणिज्य बैंकका सेवा बिदाका दिनसमेत सञ्चालन हुने व्यवस्था मिलाइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक हुलाक सामग्रीको ढुवानीलाई छरितो बनाउन द्रुत चेकजाँच सेवा लागू गरिएको छ।

    हुलाक सामग्रीको हवाई ढुवानीका लागि यतिलगायत विभिन्न वायुसेवा कम्पनीसँग सम्झौता गरिएको छ। थप अन्तर्राष्ट्रिय गन्तव्य विस्तारका लागि कतारको राष्ट्रिय वायुसेवासँग सहकार्यबारे पनि छलफल भइरहेको विभागले जनाएको छ।

    अन्तर्राष्ट्रिय हुलाक सङ्घको सन् २०२५ को निर्देशिकाअनुसार पत्र तथा पार्सलसम्बन्धी विवरण अद्यावधिक गर्ने पहिलो चरणको काम पूरा भइसकेको र दोस्रो चरणको काम सुरु भएको छ।

    पूर्वाधार र ठेगाना प्रणाली सुधार आवश्यक

    महानिर्देशक पङ्गेनीका अनुसार हुलाक सेवाको प्रभावकारिता बढाउन देशको ठेगाना प्रणालीलाई व्यवस्थित गर्नु आवश्यक छ। बसाइँसराइ गर्दा नागरिकले आफ्नो नयाँ ठेगानाबारे हुलाकलाई जानकारी गराउने व्यवस्था भए सरकारी कागजात तथा सामग्री सम्बन्धित व्यक्तिसम्म पुर्‍याउन सहज हुने उहाँको भनाइ छ।

    सेवा विस्तारसँगै आवश्यक सवारीसाधन, कम्प्युटर तथा सूचना प्रविधिका उपकरणको अभावसमेत देखिएको विभागले जनाएको छ। यस्ता पूर्वाधार तथा स्रोतसाधनको उचित व्यवस्थापन गर्न सके हुलाक सेवालाई थप प्रभावकारी बनाउन सकिने विभागको विश्वास छ।

    गैरकर राजस्व वृद्धि तथा सेवा विस्तारका लागि सुरक्षण मुद्रण केन्द्रसँगको सहकार्यमा ३४ लाख ७४ हजार थान हुलाक टिकट छपाइ गरिएको छ। थप टिकट छपाइका लागि समेत प्रक्रिया अघि बढाइएको छ।

    सरकारले हुलाक सेवालाई नागरिकको घरदैलोमा सरकारी सेवा पुर्‍याउने भरपर्दो माध्यमका रूपमा विकास गर्ने लक्ष्य लिएको छ। राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र, स्वास्थ्य सामग्री तथा अन्य सरकारी कागजातको ढुवानी विस्तार हुँदै जाँदा परम्परागत हुलाक सेवा क्रमशः आधुनिक सरकारी कुरियर सेवामा रूपान्तरण हुँदै गएको विभागले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend