काठमाडौँ, ३० साउन । बैतडीको सुर्नया गाउँपालिका–७ मालम बगरका प्रेमबहादुर विष्टले व्यावसायिक मौरीपालनबाट वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्दै सफल उद्यमीका रूपमा आफूलाई स्थापित गरेका छन्। विगत २५ वर्षदेखि व्यावसायिक मौरीपालनमा आबद्ध विष्टले हाल ५० वटा घारबाट वार्षिक दुई क्विन्टलभन्दा बढी मह उत्पादन गर्दै आएका छन्।
घरको भित्तामा घार राख्ने ठाउँ अभाव भएपछि उहाँले सडक किनार तथा भिरपाखामा समेत स्थानीय काठबाट निर्मित घार राखेर मौरीपालन गर्दै आएका छन्। उनले उत्पादन गरेको मह स्थानीय बजारका साथै जिल्लाबाहिर समेत उच्च मागका साथ बिक्री हुने गरेको बताएका छन्।
“लामो समयदेखिको अनुभवले व्यवसायलाई यहाँसम्म ल्याएको छु। बजारमा महको माग उच्च छ, त्यसैले व्यवसाय विस्तारमा कुनै समस्या छैन,” विष्टले भनेका छन्।
हाल उनले प्रतिकिलो करिब १ हजार ५०० रुपैयाँका दरले मह बिक्री गर्दै आएका छन्। वर्षमा दुई पटक—चैत–वैशाख र कात्तिक–मङ्सिरमा—मह निकाल्ने विष्टले मौरीपालनबाट वार्षिक अढाइदेखि तीन लाख रुपैयाँसम्म खुद आम्दानी गर्ने गरेको जानकारी दिएका छन्।
वैदेशिक रोजगारीप्रतिको आकर्षण बढिरहेका बेला विष्ट भने स्वदेशमै मौरीपालनसँगै बाख्रापालन व्यवसाय सञ्चालन गरी स्वरोजगार बनेका छन्।। उनको सफलताले स्थानीय स्तरमै व्यवसाय गरेर आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण समेत प्रस्तुत गरेको छ।
तर राम्रो आम्दानीसँगै आधुनिक प्रविधिको अभाव तथा प्राकृतिक चुनौती भने उनका लागि समस्या बनेका छन्। परम्परागत काठका घार प्रयोग गर्दा जङ्गली जनावर ‘मलसाप्रो’को आक्रमण तथा वर्षायामको चिसोबाट मौरी जोगाउन कठिन हुने गरेको उनले बताएका छन्।
त्यसैगरी, पछिल्लो समय कृषि क्षेत्रमा प्रयोग हुने विषादी मौरीपालनका लागि अर्को ठूलो चुनौती बनेको छ। “तरकारी खेतीमा प्रयोग गरिने विषादीका कारण फूल खोज्न जाने मौरी मर्ने गरेका छन्, जसले उत्पादनमा समेत असर पर्ने जोखिम छ,” उनले बताएका छन्।
आधुनिक घार तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध भएमा मौरीपालन व्यवसायलाई अझ विस्तार गर्ने योजना विष्टको छ। स्थानीय स्रोतसाधनको उपयोग गर्दै लामो समयदेखि व्यवसायमा निरन्तरता दिएका विष्टको सफलतालाई बैतडीका अन्य युवाका लागि समेत स्वरोजगार र उद्यमशीलताको प्रेरणाका रूपमा हेरिएको छ।




.gif)





