काठमाडौं । ‘जे भाइरल हुन्छ, त्यही बढी बिक्छ।’ सामाजिक सञ्जालमा कस्मेटिक सामग्रीको बढ्दो प्रचार र प्रयोगले नेपालको सौन्दर्य बजारमा नयाँ ट्रेन्ड देखिएको छ। यसको प्रभाव आयातको तथ्यांकमा पनि देखिन्छ।भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालले १३ अर्ब ४ लाख रुपैयाँ बराबरका कस्मेटिक सामग्री आयात गरेको छ। अघिल्लो आर्थिक वर्षमा ११ अर्ब २५ करोड रुपैयाँ बराबरका यस्ता सामग्री आयात भएको थियो। अर्थात् एक वर्षमै कस्मेटिक सामग्रीको आयात करिब दुई अर्ब रुपैयाँले बढेको छ।नेपालमा आयात हुने कस्मेटिक सामग्रीको सूची पनि लामै छ। परफ्युम, लिपस्टिक, फेस क्रिम, बडी लोसन, स्याम्पु, हेयर कलर, हेयर आयलदेखि विभिन्न मेकअप सामग्रीसम्म विदेशी उत्पादनमा नेपाली उपभोक्ताको निर्भरता देखिन्छ।
तथ्यांकअनुसार सबैभन्दा ठूलो रकम ‘अन्य मेकअप सामग्री’को आयातमा खर्च भएको छ। यो शीर्षकमा मात्रै ४ अर्ब ९८ करोड २४ लाख रुपैयाँ बराबरका सामग्री नेपाल भित्रिएका छन्।त्यस्तै, फेस क्रिममा १ अर्ब ९५ करोड ९८ लाख रुपैयाँ, स्याम्पुमा १ अर्ब २६ करोड ६६ लाख रुपैयाँ, हेयर ड्राई/कलरमा १ अर्ब ९ करोड ९९ लाख रुपैयाँ र बडी लोसनमा ८२ करोड ७० लाख रुपैयाँभन्दा बढी खर्च भएको छ।हेयर आयलमा मात्रै ७० करोड ६४ लाख रुपैयाँ र लिपस्टिकमा ७९ करोड ४७ लाख रुपैयाँ बराबरको आयात भएको विभागको तथ्यांक छ। पाउडर, आँखाको मेकअप, नेल पोलिस, हेयर कलर, कन्डिसनरलगायतका सामग्रीमा पनि करोडौँ रुपैयाँ बाहिरिएको छ।
सामाजिक सञ्जालले फेरिदियो खरिदको शैली
कस्मेटिक सामग्रीको बजार विस्तारमा सामाजिक सञ्जालले समेत महत्वपूर्ण भूमिका खेलेको व्यवसायीहरूको अनुभव छ। विशेषगरी टिकटक, फेसबुकलगायतका माध्यममा भाइरल हुने सामग्रीले उपभोक्ताको रोजाइ र खरिद गर्ने शैली नै प्रभावित गर्न थालेको उनीहरू बताउँछन्।काठमाडौंको न्युरोडमा कस्मेटिक सामग्रीको होलसेल व्यापार गर्दै आएका सुरज श्रेष्ठका अनुसार अहिले ग्राहकहरू पसलमा आएर आफूलाई आवश्यक सामग्री मात्र खोज्दैनन्, सामाजिक सञ्जालमा देखेका ब्रान्ड र उत्पादनको नामै लिएर आउने गरेका छन्।‘अहिले टिकटक, फेसबुकमा कस्मेटिक सामानको प्रचार भइरहेको छ। भिडियो हेरेर पनि कस्मेटिक सामान खोज्दै आउने गरेका छन्,’ श्रेष्ठ भन्छन्, ‘जे भाइरल हुन्छ, त्यही बढी बिक्छ। त्यसले गर्दा पनि कस्मेटिक सामग्रीको माग र आयात बढेको देखिन्छ।’
उनका अनुसार व्यक्तिगत प्रयोगसँगै ब्युटीपार्लर र सैलुनमा कस्मेटिक सामग्रीको माग बढेको छ। नेपालमा स्वदेशी कस्मेटिक उत्पादन सीमित भएकाले उपभोक्ताको रोजाइ अझै विदेशी ब्रान्डतर्फ केन्द्रित छ।नेपालले कस्मेटिक सामग्री लेबनान, पाकिस्तान, टर्की, उज्बेकिस्तान, जर्मनी र भारतलगायतका मुलुकबाट आयात गर्दै आएको छ।कस्मेटिकको बढ्दो प्रयोगले बजारमा व्यवसायिक अवसर सिर्जना गरे पनि यसको अर्को पाटो भने ठूलो रकम विदेशिनु हो। एक वर्षमै १३ अर्ब रुपैयाँभन्दा बढी कस्मेटिक सामग्री आयात हुनु नेपाली उपभोक्ताको बदलिँदो जीवनशैलीसँगै स्वदेशी उत्पादनको सम्भावना र चुनौतीतर्फ पनि संकेत गर्छ।सामाजिक सञ्जालले माग सिर्जना गरिरहेको अवस्थामा नेपालमा गुणस्तरीय कस्मेटिक उत्पादन र ब्रान्ड विकास गर्न सक्ने हो भने अहिले विदेशिने ठूलो रकमको केही हिस्सा स्वदेशमै रोक्न सकिने सम्भावना देखिन्छ।




.gif)





