काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा कुल बजेटको ५८.५५ प्रतिशत वित्तीय प्रगति गरेको छ । महानगरका केन्द्रीय विभागको औसत खर्च ३८.३४ प्रतिशत रहे पनि ३२ वटै वडाको औसत खर्च ६३.९१ प्रतिशत पुगेको छ ।महानगरको योजना अनुगमन तथा मूल्याङ्कन एकाइले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गरिएको हो ।महानगरले चालु आर्थिक वर्षका लागि २५ अर्ब २६ करोड २६ लाख ३१ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यसमध्ये १४ अर्ब ७९ करोड २० लाख ५२ हजार रुपैयाँ खर्च भएको छ ।
कुल खर्चमध्ये चालुतर्फ ७ अर्ब १२ करोड ७८ लाख रुपैयाँ अर्थात् ७३.७१ प्रतिशत र पुँजीगततर्फ ७ अर्ब ६२ करोड ३२ लाख रुपैयाँ अर्थात् ४९.०८ प्रतिशत खर्च भएको योजना अनुगमन तथा मूल्याङ्कन एकाइ प्रमुख सुमित्रा लामिछाने सुवेदीले जानकारी दिइन् । अघिल्लो आर्थिक वर्षमा ५०.२९ प्रतिशत खर्च भएकोमा यस वर्ष करिब ८ प्रतिशतले वृद्धि भएको उनले बताइन् ।कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगरको प्रगति विगतको तुलनामा उच्च भए पनि आगामी दिनमा अझ प्रभावकारी काम गर्नुपर्ने बताइन् । उनले महानगरका कार्यक्रमलाई नागरिकसँग प्रत्यक्ष जोड्नुपर्नेमा जोड दिँदै खरिद प्रक्रिया असोजभित्रै सक्न निर्देशन दिइन् ।नागरिकलाई कागजपत्र र भाषण होइन, फिल्डमा देखिने काम चाहिएको छ,’ डंगोलले भनिन्, ‘अब काममा गियर चेञ्ज गरेर जनताले महसुस गर्ने काम गर्नुपर्छ ।’
उनले पहुँचयुक्त पूर्वाधार र वातावरणमैत्री विकासलाई प्राथमिकता दिनुपर्ने बताउँदै जिम्मेवारीअनुसार नतिजा दिन सक्ने जनशक्ति व्यवस्थापनमा जोड दिइन् ।प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले महानगरको वित्तीय प्रगति राम्रो भए पनि राजधानी सहरका लागि यो पर्याप्त नभएको बताए । उनले अन्य स्थानीय तहले समेत सिकाइ लिन सक्ने गरी महानगरले कामको नमुना प्रस्तुत गर्नुपर्ने धारणा राखे ।उनले नागरिकले फेसलेस, पेपरलेस र क्यासलेस शासन प्रणाली चाहेको भन्दै अनलाइन सेवाको संस्थागत विकास र विस्तारमा सामूहिक प्रयास आवश्यक रहेको बताए ।महानगरको आन्तरिक राजस्व संकलनमा पनि सुधार देखिएको छ । चालु आर्थिक वर्षमा १० अर्ब १२ करोड ६४ लाख रुपैयाँ आन्तरिक राजस्व संकलनको लक्ष्य राखिएकोमा ६ अर्ब ८६ करोड ३८ लाख रुपैयाँ अर्थात् ६७.७८ प्रतिशत लक्ष्य हासिल भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ९० करोड रुपैयाँ बढी हो ।
प्रमुख राजस्व शीर्षकमध्ये सम्पत्ति करमा ७०.१२ प्रतिशत, बहाल करमा ६३.२२ प्रतिशत, नक्सापास दस्तुरमा ७८.६४ प्रतिशत र सिफारिस दस्तुरमा ८२.२३ प्रतिशत प्रगति भएको छ ।अनुदान र राजस्व बाँडफाँडसहित महानगरको कुल आम्दानी १२ अर्ब ४ करो ८५ लाख रुपैयाँ पुगेको छ ।क्षेत्रगत रूपमा पूर्वाधार विकासमा ११ अर्ब ४१ करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा ५९.९५ प्रतिशत वित्तीय प्रगति भएको छ । भौतिक प्रगति भने ९१ प्रतिशत पुगेको छ ।सामाजिक विकासतर्फ ६ अर्ब २० करोड रुपैयाँ बजेटमध्ये ५५.८ प्रतिशत खर्च भएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा सबैभन्दा बढी ९०.८८ प्रतिशत वित्तीय प्रगति भएको छ ।आर्थिक विकासतर्फ ६९ करोड ४९ लाख रुपैयाँ बजेट रहेकोमा ३०.९४ प्रतिशत र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ३ अर्ब ४३ करोड रुपैयाँ बजेट विनियोजन भएकामा ३१.४३ प्रतिशत वित्तीय प्रगति भएको छ ।




.gif)





