काठमाडौँ। नेपाल टेलिकमले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क सञ्चार सेवालाई थप तीन दिनका लागि विस्तार गरेको छ।रसुवा र आसपासका क्षेत्रमा बाढीले पुऱ्याएको जनधनको क्षतिका कारण उत्पन्न सङ्कटलाई मध्यनजर गर्दै टेलिकमले पहिले उपलब्ध गराएको निःशुल्क सुविधालाई आगामी भदौ १२, १३ र १४ गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो।
यस सुविधा अन्तर्गत बाढी प्रभावित क्षेत्रका सेवाग्राहीले दैनिक २ जीबी डाटा र ५० वटा एसएमएस निःशुल्क प्रयोग गर्न पाउनेछन् भने भ्वाइस कल सेवा पनि पूर्ण रूपमा निःशुल्क गरिएको छ। भोटेकोशी र त्रिशूली नदीको बहाव तीव्र रूपमा बढिरहेकाले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लाका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा जान टेलिकमले एसएमएसमार्फत सचेत समेत गराउँदै आएको छ।विपद्को यस कठिन घडीमा प्रभावित नागरिकलाई आफ्ना आफन्त, उद्धार टोली र राहतकर्मीसँग सम्पर्क गर्न सहज होस् भन्ने उद्देश्यले यो सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
बाढीका कारण टेलिकमका केही भौतिक संरचनामा क्षति पुगे पनि दूरसञ्चार सेवालाई निरन्तर राख्न कम्पनीको प्राविधिक टोली मर्मतसम्भारमा अहोरात्र खटिएको प्रवक्ता डा. कमल लामिछानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।




.gif)





