काठमाडौँ । भदौ १० गते आएको बाढीपहिरोका कारण रसुवा, धादिङ, नुवाकोट र चितवनमा प्रभावित नेपाल टेलिकमका १५२ वटा साइटमध्ये ६० वटा अझै सञ्चालनमा आउन बाँकी रहेका छन् ।नेपाल टेलिकमले प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा सुचारु गर्न आवश्यक मर्मतसम्भार तथा प्राविधिक कामलाई तीव्रता दिएको जनाएको छ । प्रभावितमध्ये चितवनका ५ मध्ये ३, धादिङका ३६ मध्ये १३, नुवाकोटका ७९ मध्ये ३१ र रसुवाका ३२ मध्ये १३ साइट सञ्चालनमा आउन बाँकी रहेको टेलिकमले जनाएको छ ।
रसुवाका विभिन्न क्षेत्रमा सेवा सञ्चालन गर्न न्यौपानेचौर तथा राम्चे रिपिटर साइटमा हेलिकोप्टरमार्फत जेनेरेटर, ब्याट्रीलगायत उपकरण पठाइएको छ । त्यसबाट न्यौपानेचौर तथा राम्चे आसपासका केस्पाङ (काउले), ठुलेगाउँ, तादी, फिकुरी, कालिकास्थान, ग्राङ, डाँडागाउँ, मैलुङ, पाङसाङ डाँडा, लाङटाङ र क्याङ्जिनलगायत क्षेत्रमा सेवा सुचारु गरिएको टेलिकमले जनाएको छ ।धुन्चेमा सेवा सञ्चालनका लागि जेनेरेटर, इन्धन तथा कर्मचारी परिचालन गरिएको छ । यस्तै, नुवाकोटको मदनपुर, बट्टार र विदुर बसपार्क तथा धादिङको बैरेनी र ठमेल डाँडामा जेनेरेटर, इन्धनसहित कर्मचारी परिचालन गरी सेवा सुचारु गर्ने काम भइरहेको छ ।
टेलिकमका अनुसार प्रभावित क्षेत्रका प्राथमिकताप्राप्त साइटलाई अनवरत सञ्चालनमा ल्याउन जेनेरेटर, इन्धन तथा कर्मचारी परिचालन गरिएको छ । सञ्चालनमा रहेका अन्य बीटीएसमा समेत कभरेज र क्षमता विकास तथा अप्टिमाइजेसनको काम भइरहेको छ ।बाढी पहिरोका कारण दूरसञ्चार सेवामा परेको असरलाई ध्यानमा राख्दै नागरिकको सञ्चार आवश्यकता सहज बनाउन सेवा निरन्तरता, पूर्वसूचना तथा सचेतना र आवश्यक प्राविधिक कार्यलाई उच्च प्राथमिकतामा राखिएको नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले बताएका छन् ।टेलिकमले बाँकी प्रभावित साइटसमेत सञ्चालनमा ल्याउन आवश्यक काम भइरहेको जनाएको छ ।




.gif)





