काठमाडौं। नेपाल टेलिकमले बाढी प्रभावित जिल्लाहरूमा मोबाइल बीटीएस साइट सुचारु गरी प्रभावित सबै स्थानमा पूर्ण रूपमा नेटवर्क पहुँच कायम गरेको छ ।गत भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरुमा नेपाल टेलिकमका टावरहरुबाट प्रदान गरिएको मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो।नेपाल टेलिकमका प्राविधिकहरू निरन्तर बाढी प्रभावित क्षेत्र तथा विपद् प्रतिकार्य कक्ष मार्फत सेवा पुनः सुचारु कार्यमा खटिए पश्चात साइट सुचारु भएका हुन्।सो कार्यका लागि बाढीले सडक तथा विद्युत अवरुद्ध भएका स्थानहरुमा सुरक्षा निकायको समन्वयमा हेलिकप्टर मार्फत प्राविधकहरु सहित सामान, उपकरण, जेनेरेटर तथा इन्धन ढुवानी गराई सेवा सुचारु गरिएको थियो ।
मिति २०८३।०५।१४ गते नेपाल–चीन सिमाना नजिक रहेको कम्पनीको रसुवा बोर्डर मोबाइल साइट सञ्चालनमा आएसँगै वाढी प्रभावित क्षेत्रमा सञ्चालित राहत र उद्धार कार्य सञ्चालन भएका सबै स्थानहरुमा सञ्चार सेवाको पहुँच पुगेको थियो ।बाढीका कारण नेपाल टेलिकमका रसुवा, नुवाकोट र धादिङ जिल्लाका १२० साइटमार्फत सञ्चालित सेवा मध्ये ८३ साइटमार्फत सञ्चालित सेवाहरू अवरुद्ध भएका थिए भने तीनवटा साइटहरु टिमुरे, चिलिमे खोला र त्रिशूली ३‘बी’ साइट पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए ।मोबाइल सेवाको थप प्रभावकारिताको लागि उक्त क्षतिग्रस्त साइटहरूलाई प्राथमिकतामा राखी पुनःनिर्माण गरी सञ्चालनमा ल्याइने टेलिकमले जनाएको छ । भदौ १० गते बाढी आएको जानकारी प्राप्त भएलगत्तै नेपाल टेलिकमका प्राविधिकहरू साइट सुचारु कार्यका लागि निरन्तर रुपमा खटिएका थिए । भदौ ११ गते रसुवाका न्यौपानेचौर तथा राम्चे रिपिटर साइटमा हेलिकप्टरबाट जेनेरेटर, इन्धन तथा ब्याट्री लगायतका उपकरणहरु पठाई सेवा सुचारु गरिएको थियो ।




.gif)



