इलाम, २० भदौ । परम्परागत अन्नबालीबाट अपेक्षित आम्दानी लिन कठिन भइरहेका बेला इलामको माङसेबुङ गाउँपालिकाका एक किसानले रुद्राक्ष खेतीलाई आम्दानीको वैकल्पिक स्रोत बनाएका छन् ।
माङसेबुङ गाउँपालिका–२ काब्राबोटेका किसान पृथीमान जवेगूले १० वर्षदेखि व्यावसायिक रूपमा रुद्राक्ष खेती गर्दै आएका छन् । उनले १८ रोपनी क्षेत्रफलमा करिब ३०० वटा रुद्राक्षका बिरुवा लगाएका छन् । हाल रुद्राक्ष खेतीबाट उनले वार्षिक करिब दुई लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् ।
जवेगूले विसं २०७३ मा सङ्खुवासभाको कुसुवाबेँसीबाट प्रतिगोटा दुई सय रुपैयाँका दरले ३०० वटा बिरुवा खरिद गरी आफ्नै खेतीयोग्य जमिनमा रोपेका थिए । रोपेको करिब चार वर्षपछि बोटले उत्पादन दिन थालेको उनले बताए । उनका अनुसार विसं २०७७ देखि रुद्राक्षबाट नियमित रूपमा वार्षिक दुई लाख रुपैयाँ आम्दानी भइरहेको छ ।
“सङ्खुवासभाबाट प्रतिगोटा दुई सय रुपैयाँका दरले ३०० वटा बिरुवा ल्याएर खेतीयोग्य बारीमा रोपेको हुँ । चार वर्षपछि उत्पादन सुरु भयो । विसं २०७७ देखि बर्सेनि दुई लाख रुपैयाँ आम्दानी भइरहेको छ,” जवेगूले भने ।
रुद्राक्ष खेतीमा अन्य अन्नबालीको तुलनामा नियमित श्रम र लगानी कम लाग्ने भएकाले आम्दानीको ठूलो हिस्सा बचत हुने उनको अनुभव छ । सुरुमा बिरुवा खरिद, खाडल निर्माण, मल तथा सिँचाइ व्यवस्थापनमा खर्च भए पनि बोट हुर्किएपछि नियमित खर्च कम हुने उनले बताए ।
“अन्य अन्नबालीमा हरेक वर्ष लगानी र श्रम गर्नुपर्छ । रुद्राक्ष भने एकपटक लगाएपछि लामो समयसम्म आम्दानी लिन सकिन्छ,” उनले भने ।
बजारको समस्या छैन
जवेगूलाई रुद्राक्ष बिक्रीका लागि बजार खोज्नुपर्ने समस्या छैन । सङ्खुवासभाका व्यापारीले बोटमै उत्पादनको मूल्य निर्धारण गरी वार्षिक दुई लाख रुपैयाँ दिने गरी ठेक्का सम्झौता गरेर रुद्राक्ष लैजाने गरेका छन् ।
“रुद्राक्ष बिक्रीका लागि मैले केही गर्नुपर्दैन । उत्पादन भएपछि व्यापारी आफैँ आउनुहुन्छ, दाना हेर्नुहुन्छ र राम्रो दाना छनोट गर्नुहुन्छ । सम्झौताअनुसार पैसा दिएर जानुहुन्छ,” उनले भने ।
यसअघि मकै, कोदोलगायतका परम्परागत अन्नबाली लगाउँदै आएका जवेगूले रुद्राक्षबाट कम मेहनतमा तुलनात्मक रूपमा राम्रो आम्दानी लिन सकिएको बताए । रुद्राक्षबाट प्राप्त नियमित आम्दानीले घरखर्च चलाउन सहज भएको उनको भनाइ छ ।
“पहिले कडा मेहनत गर्दा पनि अन्नबालीबाट घरखर्च चलाउन मुस्किल पर्थ्यो । अहिले रुद्राक्षबाट बर्सेनि नियमित आम्दानी हुन थालेपछि सहज भएको छ,” उनले भने ।
खेती विस्तार गर्ने योजना
रुद्राक्षबाट नियमित आम्दानी हुन थालेपछि जवेगूले आगामी दिनमा खेती विस्तार गर्ने योजना बनाएका छन् । आगामी वर्ष थप जमिनमा रुद्राक्ष रोप्ने तयारीमा रहेका उनले गाउँका अन्य किसानलाई समेत रुद्राक्ष खेतीका विषयमा जानकारी दिँदै आएका छन् ।
माङसेबुङमा व्यावसायिक रूपमा रुद्राक्ष खेती सुरु गर्ने पहिलो किसानका रूपमा जवेगूले खेती थालेपछि अन्य किसानले पनि परीक्षणका रूपमा सानो क्षेत्रफलमा रुद्राक्ष रोप्न थालेका छन् ।
स्थानीयस्तरमा प्राविधिक सहयोग, गुणस्तरीय बिरुवाको उपलब्धता र बजार व्यवस्थापनमा ध्यान दिन सके रुद्राक्ष खेतीलाई व्यावसायिक रूपमा विस्तार गर्न सकिने जवेगूको भनाइ छ ।
गुणस्तरीय दानाले दिन्छ उच्च मूल्य
रुद्राक्षको गुणस्तर र दानामा देखिने प्राकृतिक धर्साका आधारमा यसको मूल्य फरक हुने गर्दछ । जवेगूका अनुसार स्पष्ट मुख देखिने, राम्रो आकार भएका तथा आकर्षक बनोटका दानाले बजारमा तुलनात्मक रूपमा बढी मूल्य पाउँछन् ।
रुद्राक्षको दानामा देखिने प्राकृतिक धर्सा वा रेखाका आधारमा यसको ‘मुख’ निर्धारण गरिन्छ । मुखको सङ्ख्याअनुसार रुद्राक्षको मूल्य फरक हुने गर्दछ । सामान्यतया आठदेखि २९ मुखेसम्मका दानालाई ‘मुखदार’ रुद्राक्षका रूपमा लिइने व्यापारीहरू बताउँछन् । मुखको सङ्ख्या बढी भएका दाना दुर्लभ हुने भएकाले त्यस्ता रुद्राक्षको बजार मूल्य पनि उच्च हुने गर्दछ ।
रुद्राक्षका दाना धार्मिक तथा सांस्कृतिक प्रयोजनका साथै माला, गहना र विभिन्न सामग्री बनाउन प्रयोग हुने भएकाले यसको माग स्वदेश तथा विदेशमा समेत रहेको व्यवसायीहरू बताउँछन् ।
५० वर्षसम्म उत्पादन
विज्ञहरूका अनुसार रुद्राक्ष समुद्री सतहदेखि करिब एक हजार ८०० मिटर उचाइसम्म खेती गर्न सकिन्छ । मट्याइलो, पारिलो र घमाइलो जमिन रुद्राक्ष खेतीका लागि उपयुक्त मानिन्छ ।
रुद्राक्षको बिरुवा सामान्यतः वर्षायाममा अर्थात् असारदेखि असोजसम्म रोप्न उपयुक्त मानिन्छ । बिरुवा करिब १० मिटरको दूरीमा रोप्दा राम्रो हुने बताइन्छ । तराईदेखि मध्यपहाडी क्षेत्रसम्म खेती गर्न सकिने रुद्राक्ष नगदे बालीका रूपमा लिन सकिन्छ । उत्पादन सुरु भएपछि रुद्राक्षको बोटले दशकौँसम्म फल दिने भएकाले दीर्घकालीन आम्दानीको स्रोत बन्न सक्ने किसानहरूको अनुभव छ ।




.gif)





