images

२०८३ आश्विन २ गते

images
images
images
  • कृषि
  • खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, वार्षिक दुई...

खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, वार्षिक दुई लाख आम्दानी

खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, वार्षिक दुई लाख आम्दानी

images
images
शनिवार, भाद्र २० २०८३
शनिवार, भाद्र २० २०८३
  • इलाम, २० भदौ । परम्परागत अन्नबालीबाट अपेक्षित आम्दानी लिन कठिन भइरहेका बेला इलामको माङसेबुङ गाउँपालिकाका एक किसानले रुद्राक्ष खेतीलाई आम्दानीको वैकल्पिक स्रोत बनाएका छन् ।

    images
    images

    माङसेबुङ गाउँपालिका–२ काब्राबोटेका किसान पृथीमान जवेगूले १० वर्षदेखि व्यावसायिक रूपमा रुद्राक्ष खेती गर्दै आएका छन् । उनले १८ रोपनी क्षेत्रफलमा करिब ३०० वटा रुद्राक्षका बिरुवा लगाएका छन् । हाल रुद्राक्ष खेतीबाट उनले वार्षिक करिब दुई लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

    जवेगूले विसं २०७३ मा सङ्खुवासभाको कुसुवाबेँसीबाट प्रतिगोटा दुई सय रुपैयाँका दरले ३०० वटा बिरुवा खरिद गरी आफ्नै खेतीयोग्य जमिनमा रोपेका थिए । रोपेको करिब चार वर्षपछि बोटले उत्पादन दिन थालेको उनले बताए । उनका अनुसार विसं २०७७ देखि रुद्राक्षबाट नियमित रूपमा वार्षिक दुई लाख रुपैयाँ आम्दानी भइरहेको छ ।

    images
    images

    “सङ्खुवासभाबाट प्रतिगोटा दुई सय रुपैयाँका दरले ३०० वटा बिरुवा ल्याएर खेतीयोग्य बारीमा रोपेको हुँ । चार वर्षपछि उत्पादन सुरु भयो । विसं २०७७ देखि बर्सेनि दुई लाख रुपैयाँ आम्दानी भइरहेको छ,” जवेगूले भने ।

    रुद्राक्ष खेतीमा अन्य अन्नबालीको तुलनामा नियमित श्रम र लगानी कम लाग्ने भएकाले आम्दानीको ठूलो हिस्सा बचत हुने उनको अनुभव छ । सुरुमा बिरुवा खरिद, खाडल निर्माण, मल तथा सिँचाइ व्यवस्थापनमा खर्च भए पनि बोट हुर्किएपछि नियमित खर्च कम हुने उनले बताए ।

    “अन्य अन्नबालीमा हरेक वर्ष लगानी र श्रम गर्नुपर्छ । रुद्राक्ष भने एकपटक लगाएपछि लामो समयसम्म आम्दानी लिन सकिन्छ,” उनले भने ।

    बजारको समस्या छैन

    जवेगूलाई रुद्राक्ष बिक्रीका लागि बजार खोज्नुपर्ने समस्या छैन । सङ्खुवासभाका व्यापारीले बोटमै उत्पादनको मूल्य निर्धारण गरी वार्षिक दुई लाख रुपैयाँ दिने गरी ठेक्का सम्झौता गरेर रुद्राक्ष लैजाने गरेका छन् ।

    “रुद्राक्ष बिक्रीका लागि मैले केही गर्नुपर्दैन । उत्पादन भएपछि व्यापारी आफैँ आउनुहुन्छ, दाना हेर्नुहुन्छ र राम्रो दाना छनोट गर्नुहुन्छ । सम्झौताअनुसार पैसा दिएर जानुहुन्छ,” उनले भने ।

    यसअघि मकै, कोदोलगायतका परम्परागत अन्नबाली लगाउँदै आएका जवेगूले रुद्राक्षबाट कम मेहनतमा तुलनात्मक रूपमा राम्रो आम्दानी लिन सकिएको बताए । रुद्राक्षबाट प्राप्त नियमित आम्दानीले घरखर्च चलाउन सहज भएको उनको भनाइ छ ।

    “पहिले कडा मेहनत गर्दा पनि अन्नबालीबाट घरखर्च चलाउन मुस्किल पर्थ्यो । अहिले रुद्राक्षबाट बर्सेनि नियमित आम्दानी हुन थालेपछि सहज भएको छ,” उनले भने ।

    खेती विस्तार गर्ने योजना

    रुद्राक्षबाट नियमित आम्दानी हुन थालेपछि जवेगूले आगामी दिनमा खेती विस्तार गर्ने योजना बनाएका छन् । आगामी वर्ष थप जमिनमा रुद्राक्ष रोप्ने तयारीमा रहेका उनले गाउँका अन्य किसानलाई समेत रुद्राक्ष खेतीका विषयमा जानकारी दिँदै आएका छन् ।

    माङसेबुङमा व्यावसायिक रूपमा रुद्राक्ष खेती सुरु गर्ने पहिलो किसानका रूपमा जवेगूले खेती थालेपछि अन्य किसानले पनि परीक्षणका रूपमा सानो क्षेत्रफलमा रुद्राक्ष रोप्न थालेका छन् ।

    स्थानीयस्तरमा प्राविधिक सहयोग, गुणस्तरीय बिरुवाको उपलब्धता र बजार व्यवस्थापनमा ध्यान दिन सके रुद्राक्ष खेतीलाई व्यावसायिक रूपमा विस्तार गर्न सकिने जवेगूको भनाइ छ ।

    गुणस्तरीय दानाले दिन्छ उच्च मूल्य

    रुद्राक्षको गुणस्तर र दानामा देखिने प्राकृतिक धर्साका आधारमा यसको मूल्य फरक हुने गर्दछ । जवेगूका अनुसार स्पष्ट मुख देखिने, राम्रो आकार भएका तथा आकर्षक बनोटका दानाले बजारमा तुलनात्मक रूपमा बढी मूल्य पाउँछन् ।

    रुद्राक्षको दानामा देखिने प्राकृतिक धर्सा वा रेखाका आधारमा यसको ‘मुख’ निर्धारण गरिन्छ । मुखको सङ्ख्याअनुसार रुद्राक्षको मूल्य फरक हुने गर्दछ । सामान्यतया आठदेखि २९ मुखेसम्मका दानालाई ‘मुखदार’ रुद्राक्षका रूपमा लिइने व्यापारीहरू बताउँछन् । मुखको सङ्ख्या बढी भएका दाना दुर्लभ हुने भएकाले त्यस्ता रुद्राक्षको बजार मूल्य पनि उच्च हुने गर्दछ ।

    रुद्राक्षका दाना धार्मिक तथा सांस्कृतिक प्रयोजनका साथै माला, गहना र विभिन्न सामग्री बनाउन प्रयोग हुने भएकाले यसको माग स्वदेश तथा विदेशमा समेत रहेको व्यवसायीहरू बताउँछन् ।

    ५० वर्षसम्म उत्पादन

    विज्ञहरूका अनुसार रुद्राक्ष समुद्री सतहदेखि करिब एक हजार ८०० मिटर उचाइसम्म खेती गर्न सकिन्छ । मट्याइलो, पारिलो र घमाइलो जमिन रुद्राक्ष खेतीका लागि उपयुक्त मानिन्छ ।

    रुद्राक्षको बिरुवा सामान्यतः वर्षायाममा अर्थात् असारदेखि असोजसम्म रोप्न उपयुक्त मानिन्छ । बिरुवा करिब १० मिटरको दूरीमा रोप्दा राम्रो हुने बताइन्छ । तराईदेखि मध्यपहाडी क्षेत्रसम्म खेती गर्न सकिने रुद्राक्ष नगदे बालीका रूपमा लिन सकिन्छ । उत्पादन सुरु भएपछि रुद्राक्षको बोटले दशकौँसम्म फल दिने भएकाले दीर्घकालीन आम्दानीको स्रोत बन्न सक्ने किसानहरूको अनुभव छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend