म्याग्दी, २६ भदौ । वैदेशिक रोजगारीबाट फर्किएका म्याग्दीका युवाले विदेशमा सिकेको सीप र कमाएको पुँजी गाउँमै लगानी गरेर भेडापालन व्यवसाय सुरु गरेका छन् । अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका मनिराम पाइजा, कमल मगर र अरुण मगरले सामूहिक रूपमा भेडापालन व्यवसाय सञ्चालन गर्दै आएका हुन् ।
दुबईमा छ वर्ष रोजगारी गरेर फर्किएका ३८ वर्षीय मनिराम पाइजाले विदेशमा आर्जन गरेको सीप, अनुभव र पुँजीलाई गाउँमै लगानी गर्ने उद्देश्यले भेडापालन सुरु गरेका छन् । उनीसँगै वैदेशिक रोजगारीबाट फर्किएका कमल र अरुण पनि व्यवसायमा जोडिएका छन् ।
तीन युवाको समूहले हाल करिब ५०० भेडा पालेको छ । व्यवसायमा रु एक करोडभन्दा बढी लगानी भइसकेको मनिरामले बताएका छन् । घान्द्रुक र मुस्ताङबाट भेडा खरिद गरी ल्याएर पाउद्धारका लेकाली खर्कमा चराउने गरिएको छ ।
बर्खायाममा भेडाको बथान समुद्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा रहेको खयरखोला क्षेत्रमा पुग्ने गर्छ । लेकाली खर्कमा पाइने हरियो तथा जडीबुटीयुक्त घाँस खाएर हुर्किएका भेडाको स्थानीय बजारमा विशेष माग हुने गरेको व्यवसायीको भनाइ छ ।
धार्मिक तथा सांस्कृतिक प्रयोजनका साथै चाडपर्वमा मासुका लागि भेडाको माग बढ्ने गरेको छ । गोठ तथा खर्कबाटै एउटा भेडा रु २० हजारदेखि रु ३५ हजारसम्म मा बिक्री हुने गरेको मनिरामले बताएका छन् । यस वर्ष जनैपूर्णिमाका अवसरमा खयरभारानी क्षेत्रमा लागेको मेलामा मात्रै बलिका लागि ५० भन्दा बढी भाले भेडा तथा बोका बिक्री भएका थिए ।
व्यवसायीहरूले भेडापालनलाई परम्परागत पेसाबाट व्यावसायिक गतिविधिमा रूपान्तरण गर्ने प्रयास गरेका छन् । “मिहिनेत गर्न सके भेडापालनबाट राम्रो आम्दानी गर्न सकिन्छ,” मनिरामले भने, “विदेशमा अरूको व्यवसायका लागि श्रम गर्नुभन्दा आफ्नै ठाउँमा लगानी गरेर काम गर्दा आत्मसन्तुष्टि पनि मिलेको छ ।”
तर, लेकाली खर्कमा घुम्ती गोठ सञ्चालन गरेर भेडापालन गर्नु चुनौतीपूर्ण रहेको उनीहरूको भनाइ छ । चितुवा र ब्वाँसोको आक्रमणबाट भेडा जोगाउनु मुख्य चुनौती बनेको छ । त्यसका लागि व्यवसायीले भोटे कुकुरसमेत पालेका छन् ।
भेडापालनसँगै युवाको समूहले खोपारा हुँदै खयरतर्फ जाने पर्यटकलाई घुम्ती गोठमै खाने तथा बस्ने सुविधा दिन थालेको छ । यसले पशुपालन व्यवसायलाई ग्रामीण पर्यटनसँग जोड्ने नयाँ सम्भावना देखाएको छ ।
पाउद्धारमा मौसम र खर्कको अवस्थाअनुसार भेडाबाख्राको बथानसहित घुम्ती गोठ बर्खामा लेकतर्फ र हिउँदमा बेँसीतर्फ सार्ने परम्परा पुस्तौँदेखि चल्दै आएको छ । युवाको सहर तथा विदेश पलायनसँगै यो परम्परा हराउँदै गइरहेका बेला वैदेशिक रोजगारीबाट फर्किएका युवाले यसलाई व्यावसायिक रूपमा निरन्तरता दिने प्रयास गरेका छन् ।
“गाउँमै बसेर पनि व्यवसाय गर्न सकिन्छ भन्ने देखाउन चाहेका छौँ,” कमल मगरले भने, “परम्परागत पेसालाई आधुनिक व्यवसायसँग जोडेर अघि बढाउने हाम्रो प्रयास हो ।”
व्यवसाय विस्तारका लागि पशु उपचार तथा प्राविधिक सेवा, घुम्ती गोठ निर्माण र रातको समयमा उज्यालोका लागि सौर्य ऊर्जाको व्यवस्थापन आवश्यक रहेको युवाहरूले बताएका छन् । स्थानीय तह तथा सम्बन्धित निकायबाट आवश्यक सहयोग प्राप्त भए भेडापालनलाई थप विस्तार गरी रोजगारी र आम्दानीको स्रोत बनाउन सकिने उनीहरूको अपेक्षा छ ।
विदेशबाट फर्किएका युवाले गाउँको वनपाखा र लेकाली खर्कमा रु एक करोडभन्दा बढी पुँजी लगानी गरेर सुरु गरेको भेडापालनले स्थानीय स्तरमा स्वरोजगार सिर्जना गर्नुका साथै परम्परागत घुम्ती गोठ प्रणालीको संरक्षण र ग्रामीण पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याएको छ ।




.gif)





