म्याग्दी, २६ भदौ । जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र उपयोग तथा वृक्षारोपणबापत ठूलो रकम राजस्व बुझाएपछि डिभिजन वन कार्यालय म्याग्दीको आम्दानी चार गुणाभन्दा बढीले वृद्धि भएको छ ।
डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८१।८२ मा रु. १ करोड १६ लाख ३५ हजार २८ राजस्व सङ्कलन गरेकोमा आर्थिक वर्ष २०८२।८३ मा रु. ५ करोड ३६ लाख ५३ हजार १३६ राजस्व सङ्कलन गरेको हो ।
कार्यालयका डिभिजनल वन अधिकृत बसन्तकेशव अधिकारीका अनुसार ६५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनाले सरकारी वन क्षेत्र उपयोग तथा वृक्षारोपणबापत मात्रै रु। ५ करोड २९ लाख ४० हजार ३४१ राजस्व बुझाएको छ ।
यस्तै, डाँडाखेत–राहुघाट १३२ केभी प्रसारण लाइन आयोजनाले रु. १ लाख ९४ हजार ८८१ तथा राहुघाट जलविद्युत् आयोजनाले वन क्षेत्र उपयोगबापत रु. ५ लाख १७ हजार ९१३ राजस्व बुझाएको कार्यालयले जनाएको छ ।
सङ्कलित राजस्वमध्ये रु। २ करोड ३३ लाख ३३ हजार ३१० सङ्घीय सरकारको वन विकास कोषमा दाखिला भएको छ । त्यस्तै, रु. ४५ लाख ४४ हजार ७५ मूल्य अभिवृद्धि कर (भ्याट)बापत जम्मा गरिएको छ भने रु. २ करोड ९४ लाख २१ हजार ३२० प्रदेश सरकारको कोषमा दाखिला भएको छ ।
जडीबुटी तथा वन पैदावारबाट पनि राजस्व
डिभिजन वन कार्यालयका अनुसार गत आर्थिक वर्षमा विभिन्न प्रजातिका ३ हजार ६ सय किलोग्राम जडीबुटी, निगालोका ३० हजार टुसा, खुरुका ५ हजार वटा, निजी आवादीको १ लाख ३५ हजार ५४० घनफिट काठ तथा १३ दशमलव ९३ चट्टा दाउरा बिक्री भएको छ ।
यसैगरी, भिरमह १ हजार १०० किलोग्राम, नागबेली पाउडर ५२० किलोग्राम, रातो च्याउ ८० किलोग्राम, लालीगुराँसको फूल ११ किलोग्राम र धुपीको पात ८ किलोग्राम निकासीका लागि अनुमति दिइएको कार्यालयले जनाएको छ ।
वन क्षेत्रको उपयोगसँगै जलविद्युत् तथा प्रसारण लाइन आयोजनाबाट प्राप्त राजस्व र वन पैदावारको बिक्री तथा निकासीबाट प्राप्त आम्दानीले कार्यालयको कुल राजस्वमा उल्लेख्य वृद्धि भएको हो ।




.gif)





