images

२०८३ आश्विन १ गते

images
images
images
  • कृषि
  • गुल्मीमा ३८ जातका कफीको परीक्षण, तीन...

गुल्मीमा ३८ जातका कफीको परीक्षण, तीन जात सिफारिसको अन्तिम चरणमा

गुल्मीमा ३८ जातका कफीको परीक्षण, तीन जात सिफारिसको अन्तिम चरणमा

images
images
शुक्रवार, भाद्र २६ २०८३
शुक्रवार, भाद्र २६ २०८३
  • गुल्मी, २६ भदौ । कफीखेतीका लागि अग्रणी जिल्ला गुल्मीमा ३८ जातका कफीको परीक्षण सम्पन्न गरिएको छ । जिल्लामा व्यावसायिक कफीखेती विस्तार भइरहेका बेला नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि कफी अनुसन्धान कार्यक्रमले विभिन्न जातको परीक्षण गरेको हो ।

    images
    images

    रुरुक्षेत्र गाउँपालिकास्थित कफी अनुसन्धान कार्यक्रम भण्डारीडाँडामा आर्थिक वर्ष २०८२।८३ मा ३८ जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्जन गौतमले जानकारी दिएका छन् ।

    परीक्षण गरिएका जातमध्ये ‘गुल्मी लोकल’, ‘सेलेक्सन–१०’ र ‘एलोक्याटुरा’ गरी तीन जात सिफारिसका लागि अन्तिम चरणमा पुगेका छन् । नेपालमा हालसम्म कुनै पनि कफीको जात औपचारिक रूपमा सिफारिस नभएको अवस्थामा यी तीन जातलाई सिफारिस गर्ने प्रक्रिया अघि बढाइएको गौतमले बताए ।

    images
    images

    तीनवटै जातलाई सिफारिसका लागि बीउबिजन तथा गुणस्तर नियन्त्रण केन्द्रमा प्रस्ताव पेस गरी प्राविधिक उपसमिति तथा जात उन्मोचन, दर्ता र अनुमोदन उपसमितिमा प्रस्तुत गर्ने प्रक्रिया अघि बढाइएको छ ।

    १०० रोपनीमा अनुसन्धान र बेर्ना उत्पादन

    कफी अनुसन्धान कार्यक्रमले करिब १०० रोपनी क्षेत्रफलमध्ये ६० रोपनीमा कफीका जातीय तथा अन्य परीक्षणसँगै बीउ–बेर्ना उत्पादन गर्दै आएको छ । प्राङ्गारिक प्रविधिमार्फत कफीका विभिन्न जातको परीक्षण तथा गुणस्तर अध्ययन भइरहेको कार्यालयले जनाएको छ ।

    आगामी वर्ष थप अनुसन्धानमा समावेश गर्ने गरी भारतबाट चार नयाँ जातका कफीका बिरुवा ल्याएर बेर्ना उत्पादन सुरु गरिएको गौतमले जानकारी दिए ।

    अनुसन्धान कार्यक्रमअन्तर्गत कफीको मातृबोट, हाँगा तथा बीउ छनोटदेखि बीउअनुसारको माटो, बिरुवा उत्पादन र गुणस्तरसम्मका विषयमा अध्ययन भइरहेको छ । कफीका जातीय विशेषता तथा रोगकीरा व्यवस्थापनसम्बन्धी प्रविधि विकासमा समेत अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

    १५ हजारभन्दा बढी बेर्ना उत्पादन

    कफी अनुसन्धान कार्यक्रमबाट वार्षिक १२ हजारभन्दा बढी उन्नत जातका कफीका बेर्ना उत्पादन गरी बिक्री तथा वितरण हुँदै आएको छ । चालु वर्ष १५ हजारभन्दा बढी बेर्ना उत्पादन भएको छ ।

    त्यस्तै, करिब १०५ किलोग्राम उन्नत जातका कफीका बीउ बिक्री गरिएको छ । जात खुलेको कफीको बेर्ना प्रतिगोटा रु. ३५ तथा बीउ प्रतिकिलो रु. २ हजार ५०० मा बिक्री हुँदै आएको छ ।

    कफीमा लाग्ने सिन्दुरे रोग, सेतो गवारो कीरा तथा मलखाद व्यवस्थापनसम्बन्धी अनुसन्धानबाट विभिन्न प्रविधि विकास गरिएको कार्यालयले जनाएको छ । कफी बालीमा मलखाद तथा छहारी व्यवस्थापन, रोप्ने विधि र रोगकीरा व्यवस्थापनसँगै कफीको गुणस्तर सम्बन्धी अध्ययन पनि भइरहेको छ ।

    माग बढ्यो, स्रोतसाधनको अभाव

    पछिल्लो समय गुल्मीमा उत्पादित कफीका बीउ तथा बेर्नाको माग उल्लेख्य रूपमा बढेको छ । सीमित बजेटका कारण गत आर्थिक वर्षमा ५१ किलोग्राम कफीको बीउ र १० हजार बेर्ना उत्पादन गर्ने लक्ष्य राखिएको थियो ।

    तर, यसपटक बीउतर्फ ५०० किलोग्राम र बेर्नातर्फ १८ हजारभन्दा बढीको माग आएको कार्यालयले जनाएको छ । मागअनुसार बीउ उत्पादन गर्न नसकिएको कार्यालय प्रमुख गौतमले बताए ।

    गुल्मीमा उत्पादित कफीका बिरुवा गुल्मीबाहेक अर्घाखाँची, कास्की, स्याङ्जा, लमजुङ, धादिङलगायत ४२ भन्दा बढी जिल्लाबाट माग हुने गरेको छ । माग उच्च रहे पनि आवश्यक स्रोतसाधन र दक्ष जनशक्तिको अभावमा मागअनुसार बेर्ना उत्पादन गर्न नसकिएको कार्यालयले जनाएको छ ।

    उन्नत जातका कफीका बीउ–बेर्ना उत्पादनलाई प्रभावकारी बनाउन समूह तथा सहकारीमार्फत काम गर्नुपर्ने कार्यालय प्रमुख गौतमको भनाइ छ । अनुसन्धानका लागि आवश्यक दक्ष जनशक्तिको समेत अभाव रहेको उनले बताए ।

    ३०० हेक्टरभन्दा बढीमा कफीखेती

    गुल्मीमा कृषि ज्ञान केन्द्र, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कफी विकास केन्द्र आँपचौर, कफी अनुसन्धान कार्यक्रम भण्डारीडाँडा तथा स्थानीय तहले कफीखेतीको उत्पादन र प्रवर्द्धनमा काम गर्दै आएका छन् ।

    जिल्लामा हाल करिब ३०० हेक्टरभन्दा बढी क्षेत्रफलमा कफीखेती हुँदै आएको छ । नयाँ जातको परीक्षण, उन्नत बीउ–बेर्ना उत्पादन तथा रोगकीरा व्यवस्थापनसम्बन्धी प्रविधि विकासले जिल्लाको व्यावसायिक कफीखेतीलाई थप विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend