images

२०८३ आश्विन १ गते

images
images
images
  • अटो
  • रसुवा र तातोपानी बन्द, कोरला नाकाबाट...

रसुवा र तातोपानी बन्द, कोरला नाकाबाट बढ्यो विद्युतीय सवारीको आयात

रसुवा र तातोपानी बन्द, कोरला नाकाबाट बढ्यो विद्युतीय सवारीको आयात

images
images
आइतवार, भाद्र २८ २०८३
आइतवार, भाद्र २८ २०८३
  • काठमाडौं । भोटेकोशी बाढीका कारण रसुवा नाका बन्द हुँदा अटो व्यवसायीहरूले धमाधम मुस्ताङस्थित कोरला नाकाबाट गाडी भित्र्याउन थालेका छन् । नेपाल–चीनको मुख्य नाकाको रूपमा रहेको रसुवा भन्सार नाका भदौ १० गते आएको बाढीले ध्वस्त बनाएसँगै अटो व्यवसायीहरूले कोरला नाकाबाट गाडी भित्र्याउन थालेका हुन् ।एकातर्फ रसुवा नाका बाढीले क्षति पुगेको र अर्कोतर्फ तातोपानी नाका पनि बन्द रहेकाले अटो व्यवसायीको रोजाइमा कोरला नाका परेको हो । केही समय अगाडि मात्रै सम्पन्न नाडा र नाइमा अटो प्रदर्शनीमा बुकिङ भएका र सोभन्दा अगाडिका गाडी दशैं अगाडि नै डेलिभरी गर्नुपर्ने भएकाले व्यवसायीले सो नाकाबाट गाडी भित्र्याउन थालेका हुन् ।नेपालमा एमजी मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्सका महाप्रबन्धक निर्देशक सुनिल क्षेत्रीले कोरला नाकाबाट गाडी भित्र्याउन सुरु गरिसकेको बताए ।

    images
    images

    ‘रसुवा र तातोपानी नाका सजिलो र सस्तो थियो । तर, तातोपानी बन्द भएपछि रसुवाबाट गाडी ल्याउने गरेका थियौँ । बाढीका कारण रसुवा नाकामा पनि क्षति पुगेसँगै कोरलाबाट गाडी आउन सुरु भइसकेको छ,’ क्षेत्रीले भने, ‘हाम्रो गाडी अबको १५ दिनमा कोरला र ३० दिनभित्र काठमाडौं ल्याइपुर्‍याउने योजनाअनुरूप प्रक्रिया सुरु भइसकेको छ ।’उनले नेपाल ल्याउनका लागि कम्पनीबाट रसुवातर्फ ल्याएको गाडी फेरि लोड गरेर कोलरतर्फ लैजाने र त्यसपछि मात्रै नेपाल ल्याउनुपर्ने स्थितिका कारण केही समय लाग्ने गरेको बताए । कोरला नाकामा चार्जिङ स्टेसन नभएकाले जेनेरेटर भाडामा लैजानुपर्ने, टेक्निकल टिम, ट्रक, गाडी चालक लगायत सबै गरेर गाडी भित्र्याउने लागत पनि केही मात्रामा महँगो पर्ने उनको भनाइ छ ।नेपालका लागि हेनरी भोल्ट्स इलेक्ट्रिक सीटी कारको आधिकारिक वितरक एसक्युब इन्टरप्राइजेजका म्यानेजिङ डाइरेक्टर शम सापकोटाले पनि विकल्पका रूपमा धमाधम कोरला नाकाबाट गाडी भित्र्याइरहेको बताए ।‘बुकिङ भएका गाडीहरू सबैजसो ब्रान्डले सकेसम्म दशैं अगाडि नै डेलिभरी गर्नुपर्ने हुन्छ । अन्यथा, असहज पनि हुनसक्छ,’ सापकोटाले भने, ‘त्यही कारण हाल धेरैजसो ब्रान्डले कोरला नाकाबाट गाडी भित्र्याउन थालेका छन् ।’

    उनले यसअघि बुकिङ भएका गाडीहरू नेपाल ल्याएर डेलिभरी गर्नका लागि कोरला नाका विकल्पको रूपमा आएको र सबै ब्रान्डले सोही स्थानबाट धमाधम गाडी ल्याइरहेको बताए । केही मात्रामा लागत महँगो पर्ने भए पनि अटो व्यवसायीलाई समयमै गाडी डेलिभरी गर्नका लागि भने कठिन नहुने उनको भनाइ छ ।बाढीले नाका अवरुद्ध भएपछि गत साता नै नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले लिपमोटर बी–१० कोरला नाकाबाट भित्र्याउने काम गरिसकेको छ ।चीनबाट रसुवागढी नाका हुँदै गाडी ल्याउने मार्गमा अवरोध सिर्जना हुँदा पनि तोकिएकै समयमा गाडी उपलब्ध गराउने उद्देश्यले गाडी ल्याएको कम्पनीले जनाएको छ ।सांग्रिला मोटर्सले लिपमोटर बी–१० गाडीहरू मुस्ताङस्थित कोरला नाकाबाट नेपाल भित्र्याउन सुरु गरेको जानकारी दिँदै ग्राहकहरूलाई छिट्टै डेलिभरी गर्ने जानकारी पनि दिएको छ ।‘नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोमा लिपमोटर बी–१० ले पाएको उत्साहजनक प्रतिक्रिया तथा अत्यधिक बुकिङलाई ध्यानमा राख्दै यो निर्णय लिइएको हो,’ सांग्रिला मोटर्सले भनेको छ, ‘ग्राहकको यही उच्च मागलाई छिटोभन्दा छिटो पूरा गर्न कोरला नाकाबाट हुने ढुवानी तथा भन्सार जाँचपासको प्रक्रियालाई तीव्र बनाइएको छ ।’

    images
    images

    नेपालमा ग्रेटवाल मोटर (जीडब्लुएम)का गाडी पनि कोरला नाकाबाट नै नेपालतर्फ भित्र्याउन थालिएको छ ।नेपालका लागि जीडब्लुएमको आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालिले ‘ओरा ५’ र हालै सार्वजनिक गरिएको ‘हावाल जोलियन म्याक्स ईभी’ डेलिभरी प्रक्रियालाई निरन्तरता दिन कोरला नाकाबाट गाडी भित्र्याएको जानकारी दिएको छ ।नेपालमा ओमोडा र जेइकुको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले पनि ओमोडा र जेइकुका नयाँ गाडी मुस्ताङको कोरला नाकाबाट ल्याउन सुरु गरिसकेको जानकारी दिएको छ ।गाडीको डेलिभरी प्रक्रियालाई निरन्तरता दिनका लागि वैकल्पिक मार्ग प्रयोग गरेको कम्पनीले जनाएको छ । नाइमा मोबिलिटी एक्स्पो तथा नाडा अटो शोमा बुकिङ गरेका ग्राहकलाई चाँडै गाडी उपलब्ध गराइने कम्पनीले जनाएको छ ।यता बाढीका कारण रसुवा नाका बन्द हुँदा कोरला नाकाबाट भित्रिने मालसामान काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा लगेर जाँचपास गर्न सकिने व्यवस्था सरकारले गरिसकेको छ ।भन्सार विभागले मुस्ताङको नेचुङ भन्सार कार्यालय हुँदै पैठारी हुने वस्तुहरूलाई काठमाडौंको चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयमा जाँचपास गर्न चाहने पैठारीकर्ताका लागि सडक मार्ग तोक्दै आन्तरिक परिवहनको सुविधा दिने व्यवस्था गरेको हो ।

    भन्सार ऐन २०६२ को दफा ६४ तथा भन्सार नियमावली २०६३ को नियम ६२ को उपनियम ७ को प्रावधानबमोजिम विभागले यो व्यवस्था मिलाएको हो । यस निर्णयसँगै मुस्ताङको नाकाबाट भित्रिएका मालवाहक सवारीसाधनहरूले चोभारसम्म पुग्नका लागि निश्चित सडक मार्गहरू प्रयोग गर्नुपर्नेछ ।विभागले तोकेको पहिलो मार्गअनुसार कोरला नाकाबाट नेचुङ, जोमसोम, बेनी, कुश्मा, पोखरा, दमौली र मुग्लिङ हुँदै कुरिनटार, नौबिसे र कलङ्कीबाट चोभार पुग्न सकिनेछ ।त्यस्तै, अर्को वैकल्पिक मार्गको रूपमा मुग्लिङबाट नारायणघाट, हेटौंडा, भैँसे, नौबिसे र कलङ्की हुँदै चोभार सुक्खा बन्दरगाह पुग्ने बाटोलाई पनि तोकिएको छ ।गुडाएर ल्याइने नयाँ सवारीसाधनका हकमा भने विभागले केही थप विकल्प दिएको छ । यस्ता सवारीसाधनहरूले मुग्लिङ, नारायणघाट, हेटौँडा र भैँसे हुँदै फर्पिङको बाटो प्रयोग गरेर पनि चोभारसम्मको यात्रा तय गर्न सक्नेछन् ।अर्को निर्णय नहुँदासम्मका लागि यो आन्तरिक परिवहनको सुविधा उपलब्ध गराइएको र यसका लागि पैठारीकर्ताले भन्सार नियमावलीमा उल्लेखित सर्त, प्रक्रिया र अन्य व्यवस्थाहरू अनिवार्य रूपमा पालना गर्नुपर्नेमा विभागले जोड दिएको छ ।

    रसुवागढी र तातोपानी नाका बन्द भएपछि चीनसँगको उत्तरी कोरला नाकाबाट मालवस्तु र विद्युतीय सवारीसाधनको आयात बढेको छ । मुस्ताङ भन्सार कार्यालयका अनुसार भदौ १० गतेपछि कोरला नाकाबाट दैनिक औसत १५ भन्दा बढी विद्युतीय सवारीसाधन र १० भन्दा बढी कन्टेनर भन्सार जाँचपास हुन थालेका छन् ।भन्सार कार्यालयका अनुसार रसुवागढी नाका बन्द हुनुअघि ४० दिनमा कोरला नाकाबाट भित्रिएका मालवस्तुको पैठारीबाट ५२ करोड ८० लाख रुपैयाँ राजस्व संकलन भएको थियो । भदौ १० गतेपछि थप २६ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ ।चालु आव २०८३/८४ को साउनदेखि भदौ २० गतेसम्म मुस्ताङ भन्सारबाट ७८ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भइसकेको छ । भदौ १० गतेपछि १० दिनको अवधिमा कोरला नाकाबाट १३० वटा विद्युतीय सवारीसाधन र ८८ वटा मालवाहक कन्टेनरको भन्सार जाँचपास भएको भन्सार प्रमुख चुडालले बताए ।

    त्यसअघि ४० दिनमा १६३ वटा विद्युतीय सवारीसाधन र १३३ वटा कन्टेनरको जाँचपास भएको थियो । भन्सार कार्यालयका अनुसार भदौ १० अघिको ४० दिनमा दैनिक औसत १ करोड ३० लाख रुपैयाँ राजस्व संकलन हुँदै आएकोमा त्यसपछि दैनिक औसत २ करोड ८८ लाख रुपैयाँभन्दा बढी पुगेको छ ।गत आव २०८२/८३ मा मुस्ताङ भन्सारले ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । सो अवधिमा कोरला नाका हुँदै तीन हजार २२३ वटा विद्युतीय सवारीसाधन र एक हजार ८७३ वटा मालवाहक कन्टेनरको भन्सार जाँचपास भएको थियो ।‘अहिले हामीले केही सवारीसाधनको जाँचपास कोरलामै गरेका छौं भने केहीको चोभारबाट गरिरहेका छौं । उता जाँचपास गर्नुपर्ने सामानको ट्राफिक धेरै हुने भएकाले समयका हिसाबमा छिटो भने चोभारमै हुन्छ,’ महाप्रबन्धक क्षेत्रीले भने, ‘इन्टरनेटमा र सर्भरमा कहिलेकाहीँ समस्या आउने भएकाले पनि कोरलामा केही समय लाग्छ ।’

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend