काठमाडाैं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीको वित्तीय अवस्थाले व्यापार विस्तारतर्फ आक्रामक रणनीति अपनाइरहेको संकेत गरेको छ।वित्तीय विवरणअनुसार कम्पनीले समीक्षाधीन अवधिसम्म १८ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५६.९७ प्रतिशतले घटेको छ। गत वर्ष कम्पनीको नाफा ४३ लाख ८३ हजार रुपैयाँ थियो।
यद्यपि, व्यवसाय भित्र्याउने गतिमा कम्पनीले उल्लेखनीय फड्को मारेको छ। समीक्षाधीन अवधिसम्म कम्पनीले कुल ५ करोड ५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४१२३.३१ प्रतिशतको चमत्कारीक वृद्धि हो।कम्पनीले यस अवधिमा १ करोड ७३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यो रकम मात्र ६ लाख ३१ हजार रुपैयाँ थियो।
कम्पनीको वित्तीय कोषमा उल्लेखनीय वृद्धि भएको देखिन्छ। बीमा कोष १०१.९७ प्रतिशतले बढ्दै १२ करोड ५५ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ५ करोड ९४ लाख ४२ हजार रुपैयाँ थियो। स्पेसल रिजर्भमा ३१ लाख ७ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धिसहित अघि बढेको छ। महाविपत्ति कोष ३ लाख १० हजार रुपैयाँ पुगेको छ, रिटेन्ड अर्निङ १० लाख ५५ हजार रुपैयाँ रहेको छ।
हालैको वित्तीय विवरण हेर्दा कम्पनीले बीमा बजारमा आफ्नो उपस्थिति बलियो बनाउने रणनीति अवलम्बन गरिरहेको स्पष्ट देखिन्छ। नाफामा केही गिरावट आए पनि बीमाशुल्क आर्जनको उच्च वृद्धिले कम्पनीको दीर्घकालीन वृद्धि सम्भावनालाई बल प्रदान गरेको छ।बजारमा प्रतिस्पर्धा तीव्र भइरहेका बेला स्टार माइक्रो इन्स्योरेन्सले आक्रामक व्यावसायिक रणनीति अपनाउँदै आफ्नो ग्राहक आधार विस्तार गरिरहेको छ। यदि कम्पनीले यो लय कायम राख्न सक्यो भने, भविष्यमा यो बीमा क्षेत्रको एक प्रभावशाली खेलाडी बन्ने सम्भावना देखिन्छ।




.gif)





