images

२०८३ आश्विन २ गते

images
images
images
  • कृषि
  • पर्वतमा यस वर्ष ८७ करोड मूल्य...

पर्वतमा यस वर्ष ८७ करोड मूल्य बढीको आलु उत्पादन हुने आङ्कलन

पर्वतमा यस वर्ष ८७ करोड मूल्य बढीको आलु उत्पादन हुने आङ्कलन

images
images
मंगलवार, फाल्गुण २० २०८१
मंगलवार, फाल्गुण २० २०८१
  • कुश्मा,पर्वत । पर्वतमा गत वर्षभन्दा यस वर्ष मौसम अनुकूल र पकेट क्षेत्र समेत वृद्धिका कारण आलु उत्पादनको परिमाण वृद्धि हुने देखिएको छ । आलु उत्पादनमा आत्मनिर्भर रही अन्यत्र निर्यात गर्दै आएका पर्वतका कृषकहरुले यस वर्ष ८७ करोड मूल्यभन्दा बढीको आलुको उत्पादन गर्ने कृषि ज्ञान केन्द्र पर्वतको आङ्कलन छ ।

    images
    images

    जिल्लाको एक हजार ४ सय ५० हेक्टर क्षेत्रफल जग्गामा कृषकहरुले आलु खेती गरेका छन् । प्रति हेक्टर १५ मेट्रिक टनका दरले करीव २२ हजार मेट्रिक टन आलु उत्पादन गर्ने लक्ष्य छ । सरदर प्रति केजी ४० रुपियाँका दरले कृषकले आलु विक्री गर्दछन् । गत आर्थिक वर्ष २०८०⁄०८१ मा १ हजार ३ सय ९० हेक्टर क्षेत्रफलमा आलुखेती गरेकोमा २० हजार ३ सय ३० मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र पर्वतका सूचना अधिकारी सोविता सुवेदीले बताउनुभयो । 

    कृषि ज्ञान केन्द्र पर्वतको खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रम मार्फत् जिल्लाभरका आलु पकेट क्षेत्रका कृषकहरु उत्पादनमा लाग्न प्रोत्साहित भएका छन् । ज्ञान केन्द्रले विभिन्न पकेट क्षेत्रमा गरी ६१ वटा कृषक समूहलाई आलु उत्पादनमा १ करोड ४७ लाख लगानी गरेको छ । 

    images
    images

    ज्ञान केन्द्रको लगानीमध्ये आलुको विउ खरीदमा ७० प्रतिशत, यान्त्रिकरणमा ५० प्रतिशत, सिंचाई पूर्वाधारमा ८५ प्रतिशत र बजारीकरण तथा प्याकेजिङमा ७५ प्रतिशत अनुदान दिइएको छ । कृषकले मंसिरको पहिलो हप्तातिर लगाएको हिउँदे आलु फागुनको दोस्रो हप्तातिर खन्न सुरु गर्दछन् । 

    जिल्लाको उत्तरी भेगमा पर्ने जलजला गाउँपालिकाका १६ वटा कृषक समूहले आलु उत्पादनमा अनुदान लिएका छन् । पालिकाको बनौं, लस्ती, फर्से लगायतका क्षेत्रबाट मात्रै ७ सय ५ रोपनी क्षेत्रफलमा आलु खेतीका लागि कृषकहरुले सम्झौता गरेका छन् । अनुदान पाउन कम्तिमा पनि कृषक समूहले ३० रोपनी भन्दा बढी क्षेत्रफलमा सामुहिक आलु खेती गरेको हुनुपर्छ ।

    बनौंका जिमिरे दह तरकारी उत्पादन समूहका अध्यक्ष एक बहादुर केसी आलु उत्पादनबाट खुशी भएको बताउँदै भन्नुभयो, "पोहोरको भन्दा यसपाली आलुको गेडा राम्रो उत्पादन भएको हुँदा मूल्य पनि राम्रै मिलेको छ । आलुको ५० केजी बिउँ लगाएकोमा ७ क्वीण्टल उत्पादन भएको छ । प्रति केजी ४० रुपैयाँ भन्दा बढीमा आलु विक्री गर्दा आम्दानी पनि राम्रो भएको छ ।"लामो समय दक्षिण कोरियामा वैदेशिक रोजगार गरी फर्किएर आफ्नै गाउँमा सामुहिक आलु खेती उत्पादनमा लाग्नु भएका विहादी गाउँपालिकाका ३८ वर्षे कृषक शिव कुमार क्षेत्रीले भन्नुभयो, "गाउँमा पहिलो पटक नै सामुहिक आलु खेती गरिएको हो । ४० रोपनीमा ३२ क्वीण्टल आलुको विउ लगाएको हो । ५० केजी विउ बराबर ९ क्वीण्टल आलु उत्पादन भएको छ । आलुको उत्पादन राम्रो छ ।"

    जिल्लाको मोदीगाउँ पालिका आलु उत्पादनका लागि उति नै उर्वर भूमि मानिन्छ । मोदी गाउँपालिकाको वडा ४, ५, ६, ७, ९ मा पर्ने लेसपार, क्याङ, छापा, बाजुङ लगायतमा करीव ४ सय ५० रोपनी क्षेत्रफलमा ८ वटा कृषक समूहले खायन आलुको खेती गरेका छन् । कुश्मा नगरपालिकास्थित आलु पकेट क्षेत्र मानिने पाङ, खुर्कोट, आर्थर लगायतका स्थानमा २२५ रोपनी भन्दा बढी क्षेत्रफलमा आलु उत्पादनमा सामुहिक रुपले कृषकहरु जुटेका छन् । 

    फलेवास नगरपालिकाको मुडिकुवा, शंकरपोखरी, कुर्घा, लिमिठाना, चिर्दीखो लगायत स्थानका कृषकहरुले २ सय २० रोपनी क्षेत्रफलमा सामुहिक रुपमा आलु खेती गरेका छन् । त्यसैगरी दक्षिणी भेगमा पर्ने पैयुँ गाउँपालिकाको हुवास क्षेत्र, महाशीला गाउँपालिकामा ६ वटा कृषक समूह आलु उत्पादनमा लागेका छन् । महाशीलाको होस्र्याङदी, भोक्सीङ, धुँवाकोट लगायतका स्थानहरु आलु पकेट मानिन्छन् ।  

    कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख परशुराम अधिकारीले गत वर्ष भन्दा यस वर्ष आलुको उत्पादन बढी हुने बताउँदै भन्नुभयो, "आलु खेतीमा प्रशस्तै संम्भावना भएको पर्वत जिल्लामा यस वर्ष अनुकूल मौसमसँगै आलुमा लाग्ने रोगव्याधी र किराको प्रकोप कम भएको हुँदा उत्पादन वृद्धि हुने देखिन्छ । पर्वतले आलुमा आत्मनिर्भर भई अन्यत्र निर्यात गर्दछ । भारतबाट निर्यात हुने आलुलाई समेत विस्थापित गर्दै आएको छ ।"

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend