लमजुङ । असोज १७, लगातारको वर्षा र थप भारी वर्षाको सम्भावना रहेकाले बेंसीसहर चामे सडक खण्डमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ। मनाङ जिल्ला प्रशासन कार्यालयले शुक्रबार देखि लागू हुने गरी यो निर्णय लिएको हो।
प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार यात्रुको सुरक्षा सुनिश्चित गर्न रातको समयमा सवारी आवागमनमा पूर्ण प्रतिबन्ध लगाइएको हो। “सडक जोखिमपूर्ण अवस्थामा रहेकाले सुरक्षालाई प्राथमिकतामा राख्दै राति सवारी सञ्चालन नगर्न आग्रह गरिएको छ,” उनले भने।
जिल्ला सुरक्षा समितिको निर्णय अनुसारः
मनाङ सिमानाबाट बेंसीसहरतर्फ सवारी साधन बेलुकी ६ः३० बजे भित्र छुटिसक्नुपर्नेछ।
लमजुङबाट मनाङतर्फ जाने सवारीको अन्तिम समय ७ः०० बजे तोकिएको छ।
मनाङ ङिस्याङ गाउँपालिका–४, हुम्डे बाट चामेसम्मको लागि अन्तिम सवारी ६ः३० बजे छुट्नेछ।
चामे गाउँपालिका–३, कोतो बाट बेंसीसहरतर्फ अपरान्ह ४ः३० बजे सम्म सवारी छुटिसक्नु पर्नेछ।
नासों गाउँपालिका–१, तालडाँडा चौकी बाट बेंसीसहरतर्फ अन्तिम सवारी ६ः३० बजे हुनेछ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, जगत हुँदै तालडाँडा प्रवेश गर्ने अन्तिम समय पनि ७ः०० बजे निर्धारण गरिएको छ।
प्रशासनले अत्यावश्यक बाहेकका कुनै पनि सवारी साधनले राति यात्रा नगर्न विशेष आग्रह गरेको छ।




.gif)





