काठमाडौँ । असोज २९, नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)ले कर्जाको साँवा र ब्याज भुक्तानीको समय सीमा थप गर्न आग्रह गर्दै नेपाल राष्ट्र बैंक समक्ष पहल गरेको छ।
महासंघका कार्यबाहक अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा बुधबार राष्ट्र बैंकमा पुगेको महासंघ प्रतिनिधिमण्डलले कार्यबाहक गभर्नर डा.निलम ढुङ्गाना तिम्सिना समक्ष ऋणी व्यवसायी तथा उद्योगीहरूलाई दिइने समयसीमा थपको माग गरेको हो।
महासंघले चालु आर्थिक वर्षको पहिलो त्रैमास (असोज मसान्त) भित्र कर्जाको साँवा र ब्याज बुझाउने समय नजिकिँदै गर्दा देशका विभिन्न भागहरूमा भएका आन्दोलन, विरोध प्रदर्शन, तोडफोडका घटना, साथै अविरल वर्षा, बाढी र पहिरोका कारण उद्योग व्यवसायहरू प्रभावित भएका जनाउँदै ऋणीहरूले किस्ता समयमा तिर्न कठिनाइ भएको उल्लेख गरेको छ।
देशमा विषम परिस्थिति सिर्जना हुनुका साथै नेपालीहरूको महान चाड दशैंको अवसरमा लामो सार्वजनिक बिदा परेकाले ऋणीहरूलाई समयमै किस्ता बुझाउन समस्या भएको छ, कार्यबाहक अध्यक्ष श्रेष्ठले बताए।
उनले समस्यामा परेका उद्योग तथा व्यवसायीहरूलाई राहत दिन समयसीमा थप आवश्यक रहेकोमा जोड दिए।
राष्ट्र बैंकको उक्त भेटघाटमा डेपुटी गभर्नर बमबहादुर मिश्र, महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य, हेमराज ढकाल र कोषाध्यक्ष भरतराज आचार्य समेत सहभागी थिए।




.gif)





